विद्यार्थीहरू आमरण अनशनमा

साझा बिसौनी संवाददाता
सुर्खेत, २० असार ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्तर्गत इन्जिनियरिङ्ग संकायमा अध्ययनरत विद्यार्थीहरूले आमरण अनशन थालेका छन् । इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाउनुपर्ने लगायतका माग राख्दै असार ५ गतेदेखि आन्दोलनरत विद्यार्थीले बुधवारदेखि अनशन थालेका हुन् । मागप्रति विश्वविद्यालय अनुदार रहेको भन्दै रिले अनशन थालेका विद्यार्थीले वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय महाविद्यालयको परिसरमा बुधवारदेखि आमरण अनशन सुरु गरेका हुन् ।
इन्जिनियरिङ्ग संकायलाई स्वायत्त गराइनुपर्ने, १० प्रतिशत विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, सम्पूर्ण विषयगत शिक्षकहरूको उचित व्यवस्था गरिनुपर्ने र पुस्तकालयमा पर्याप्त पुस्तकहरूको व्यवस्था गरिनुपर्ने लगायतका माग विद्यार्थीले राखेका छन् ।
विश्वविद्यालयले लामो समयसम्म पनि रिले अनशन बस्दा वार्ताका लागि कुनै पहल नगरेपछि आमरण अनशन बस्नुपरेको विद्यार्थीहरूले बताए ।
इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरू रोशन बस्नेत, मिलन बिसी र रतनकुमार शर्मा आमरण अनशनमा बसेका छन् । उनीहरूले १५ दिनदेखि शान्तिपूर्ण आन्दोलन गर्दा पनि विश्वविद्यालयका पदाधिकारीहरूले बेवास्ता गरेको भन्दै अनशन बसेको संघर्ष समितिका सदस्यसमेत रहेका बस्नेतले जानकारी दिए ।
उनले आफ्ना मागहरू पूरा नभएसम्म अनशनलाई जारी राख्ने बताएका छन् । विश्वविद्यालय पदाधिकारीले वार्ता आव्हान गर्नुपर्ने अडान राखेका विद्यार्थीले बिहीवार (आज) देखि सम्पूर्ण सवारीसाधन बन्द गर्ने घोषणा गरेका छन् ।
यता विश्वविद्यालयले भने आन्दोलनलाई छाडेर वार्तामा आउन आव्हान गरे पनि अटेरी गरेको आरोप लगाएको छ । वार्ताका लागि विश्वविद्यालयले पटक–पटक आग्रह गर्दा समेत मागप्रति विद्यार्थी लचक नहुँदा सहमति जुट्न नसकेको मध्यपश्चिमाञ्चल विश्व–विद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले बताए ।

प्रकाशित मितिः   २१ असार २०७५, बिहीबार १७:०५