बीस वटा कम्पनीलाई कारबाही गर्न सिफारिस

साझा बिसौनी संवाददाता
दैलेख, २१ जेठ ।
तोकिएको समयमा काम नसक्ने दैलेखका २० ठेकेदार कम्पनीको विवरण गृह मन्त्रालय पठाइएको छ । सम्झौता भएको मितिमा काम नसक्ने कम्पनीको विस्तृत विवरण सोमवार गृह मन्त्रालय पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए ।
‘हामीले सम्झौता अनुसार काम नगर्ने २० ठेकेदार कम्पनी, उनीहरूले पाएको काम, काम सुरु गरिएको मिति, सम्पन्न गर्नुपर्ने मिति लगायतको विवरण गृह मन्त्रालय पठाएका छौं’, उनले भने । न्यौपानेका अनुसार २ वटा ठेक्कामा धेरै नै ढिलाइ भएको छ । ‘२ वटा ठेक्कामा धेरै नै ढिलाइ भएको भेटियो अन्य १८ वटा निर्माण कम्पनीले म्याद थप गरेर काम सञ्चालन गरिरहेका छन्, थपिएको समयभित्रै काम सक्न म आफैँले फोनमार्फत् ठेकेदार कम्पनीलाई निर्देशन दिएको छु’, उनले भने ।
नौमूलेमा रहेको स्वास्थ्य संस्था निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले २०६७ सालमा जिम्मा लिएर हालसम्म पनि निर्माण कार्य सम्पन्न गर्न सकेको छैन । आफैले उक्त कम्पनीलाई फोन सम्पर्क गरेर समयमै काम थाल्नुपर्ने अथवा पक्राउको प्रक्रिया सुरु गर्ने चेतावनी दिएपछि ठेकेदार कम्पनीले असारसम्मको समय माग गरेको न्यौपानेले जानकारी दिए । राकमकर्णाली र अछाम जोड्ने पुल निर्माणमा पनि समस्या देखिएको छ । पुलको नयाँ डिजाइन गर्नुपर्ने अवस्था आएकाले काम रोकिएको छ । ठेकेदार कम्पनीले पुलको डिजाइन नै परिवर्तन गर्नुपर्ने जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय दैलेखले गरेको सर्वेक्षण अनुसार ठेक्का बेच्ने
प्रवृत्तिका कारण पनि निर्माणमा ढिलाइ भइरहेको छ । ‘ठेकेदार कम्पनी पिक्यूका आधारमा ठूलो कम्पनी हुने र ठूलो कम्पनीको आधारमा पुनः अर्को कम्पनीलाई मुनाफा जोडेर कामको जिम्मेवारी दिने, जिम्मेवारी पाएकोले पनि पुनः अर्कोलाई जिम्मा दिने प्रवृत्ति धेरै भएकाले दैलेखका विभिन्न भौतिक पूर्वाधारका कामहरू समयमै सम्पन्न हुन सकेका छैनन्’, प्रमुख जिल्ला अधिकारी न्यौपानेले
भने । उनका अनुसार कमिशन बचाउँदै ठेक्का बिक्री गर्ने प्रचलनले गर्दा धेरै पिक्यू भएका ठेकेदारसँग मिलेर कामको जिम्मा लिएका अन्य साना ठेकेदार कम्पनीको बदमासीले पनि निर्माण कार्यमा समस्या उत्पन्न भएको छ ।

प्रकाशित मितिः   २२ जेष्ठ २०७५, मंगलवार १५:१५