संसद भवन मर्मत गर्न टेण्डरको तयारी
सुर्खेत, ३० फागुन ।
कर्णाली प्रदेशसभाको पाँच वटा बैठक सम्पन्न भइसक्दा समेत संसद भवनले भने पूर्णता पाउन सकेको छैन । अस्थायी संसद भवनको रूपमा प्रयोग गरिएको क्षेत्रीय सिँचाइ डिभिजन कार्यालयबाट नै संसदको काम कारबाही सञ्चालन हुँदै आएको छ ।
गत माघ २१ गते बसेको पहिलो बैठक यता प्रदेशसभाका विभिन्न पाँच वटा वैठक सम्पन्न भइसकेका छन् । मुख्यमन्त्री, सभामुख लगायत प्रदेशका पदाधिकारी निर्वाचित गर्नेदेखि प्रदेशको नाम र राजधानीको टुङ्गो लगाउने जस्ता महŒवपूर्ण निर्णय अस्थायी संसद भवनबाट नै भए । स्थायी संसद भवनको लागि प्रयोग गर्ने भनिएको शैक्षिक तालिम केन्द्रको भवन भने अझै अधुरै छ ।
मर्मत र सुधार लगायतका काममा ढिलाइ हुँदा संसद भवन सञ्चालनमा आउन नसकेको हो । सुरुवातमा प्रदेशसभाका सांसदहरूको सपथ ग्रहण कार्यक्रम नै शैक्षिक तालिम केन्द्रमा आयोजना गर्ने गरी तयारी गरिएको थियो । तर उक्त सपथ ग्रहण कार्यक्रम अन्तिममा आएर जिल्ला समन्वय समितिको सभाहलमा राखियो । त्यसपछि पहिलो संसद बैठक शैक्षिक तालिम केन्द्रमा नै राख्ने गरी तयारी थालिए पनि त्यसले पूर्णता पाउन सकेन । अन्ततः संसद वैठकका लागि आवश्यक तयारी नपुगेको भन्दै सिँचाइ डिभिजन कार्यालयलाई अस्थायी संसद भवनको रूपमा प्रयोगमा ल्याइएको छ ।
टेण्डर आव्हान हुँदै सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतले भर्खरै मात्र उक्त भवन मर्मत सुधारका लागि टेण्डर आव्हान गर्ने तयारी गरेको छ । अबको एक साताभित्रै टेण्डरको प्रक्रिया पूरा गरेर भवन निर्माण तथा मर्मत–सुधारको काम अघि बढ्ने कार्यालयका इन्जिनियर झंकबहादुर थापाले जानकारी दिए ।
संसद भवनका लागि आवश्यक सबै काम सम्पन्न गर्ने गरी एक करोड बराबरको टेण्डर आव्हान गर्ने तयारी भइरहेको उनले जनाए । ‘पर्खाल मर्मतदेखि विजुली, कुर्ची, टेलव लगायत सबै काम एकपटक गर्ने गरी टेण्डर आव्हान हुँदैछ’ थापाले भने, ‘जतिसक्दो छिटो सम्पन्न गर्ने गरी काम गर्दैछौं ।’ उक्त बजेटबाटै संसद भवनको मर्मत र सजावटको काम सम्पन्न हुने जनाइएको छ । अन्य पूर्वाधारका साथै ‘इको साउण्ड’ व्यवस्थापनका लागि समय लाग्ने कार्यालयले जनाएको छ ।
शैक्षिक तालिम केन्द्रको एउटै कम्पाउण्डभित्र धेरै भवन छन् । त्यसैले पनि यसलाई संसद भवनका लागि उपयुक्त मानिएको छ । संसदीय दलका कार्यालय र सचिवालयका लागि पनि आवश्यक पर्ने थप भवनहरू हुनुका साथै सुरक्षाको हिसाबले पनि तालिम केन्द्रलाई नै उपयुक्त भएको बताइएको छ ।
साझा बिसौनी संवाददाता ।