प्रदेशस्तरीय क्रिकेट : सुर्खेत अपराजित हुँदै फाइनलमा

सुर्खेत, २४ फागुन । कर्णाली प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगितामा सुर्खेत फाइनल प्रवेश गरेको छ। लिगचरणका सबै पाँच वटै खेलमा विजयी हुँदै सुर्खेतले फाइनलमा स्थान सुरक्षित गरेको हो। सुर्खेत प्रतियोगिताका एक मात्र अपराजित टिम हो।

बिहीबार सुर्खेतले रुकुमलाई २९ रनले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको सुर्खेतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५७ रन बनायो। सुर्खेतका लागि रविन्द्रजंग शाहीले सर्वाधिक ८२ रन बनाए भने निश्चल रावलले २८ रन बनाए । बलिंगतर्फ रुकुमका विवश गिरी र विजय विष्टले २/२ विकेट लिए।

एक सय ५८ रनको लक्ष्य पछ्याएको रुकुमले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर एक सय २८ रन मात्र बनाउन सक्यो। उसका लागि खुसीराम विकले २८ र कमलराज पुनले २६ रन बनाए । बलिंगतर्फ सुर्खेतका टेक सलामीले तीन र रविन्द्रजंग शाहीले २ विकेट लिए । उक्त खेलमा सुर्खेतका रविन्दजंग शाही म्यान अफ दि म्याच बने।

त्यसअघि बिहीबार विहान भएको खेलमा जाजरकोटले दैलेखलाई ५ विकेटले पराजित गर्यो । पहिले ब्याटिङ गरेको दैलेखले १८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर एक सय ६ रन जोड्यो । एक सय ७ रनको विजय लक्ष्य पछ्याएको जाजरकोटले १४ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । उसका लागि सुमन गुरुंगले ३० र सन्दिप शाहीले १७ रनको योगदान दिए । १७ रन बनाउनुका साथै २ विकेट लिएका जाजरकोटका सन्दिप शाही उक्त खेलको म्यान अफ दि म्याच बने ।

बिहीबार नै भएको तेस्रो खेलमा सल्यानले जुम्लालाई ५ विकेटले पराजित गरेको छ । जुम्लाले दिएको एक सय ५ रनको लक्ष्य सल्यानले ५ विकेटको क्षतिमा पुरा गरेको हो । सल्यानका चद्र बिसीले सर्वाधिक ४३ रन बनाए । बिसी उक्त खेलको म्यान अफ दि म्याच घोषित भए।

प्रतियोगिता अन्तर्गत भोली शुक्रवार जाजरकोट र रुकुम तथा दैलेख र जुम्लाबीच खेल हुने आयोजक सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए।

प्रकाशित मितिः   २४ फाल्गुन २०७४, बिहीबार १९:२१