समानताको मुख्य आधार : व्यक्तिको स्वतन्त्रता र खुशीको सम्मान

महिला र पुरुषबीचको फरक जैविकताबाहेक अरु केही पनि होइन भन्ने मैले सोच्न थालेको धेरै भयो तर आजसम्म पनि यही कुरालाई स्वीकार गर्ने त के सुन्ने चेष्टा पनि नगर्ने हविगत सहनु र भोग्नु परिरहेको छ । यो कुरा गरिरहँदा मैले अनुमानमा होइन हरेक दिन समाचारहरूमा आएका विषय र कथाका आधारमा भन्नुपरेको हो । हरेक परियोजना र योजनाका प्रतिवेदन र समिक्षामा सुन्नु परेका कुरा हुन । हरेकले भाषणमा बोल्ने गरेका कुरा हुन् । साथीभाइ र आफन्तका जमघटमा छलफल भएका विषय हन् । विद्वान र ठूलो शैक्षिक योग्यताको प्रमाण पत्र हातमा लिएर घमण्ड गर्नेहरूले फैलाउँदै गरेका कुरा हुन् । पत्रकारिताको नाममा आधारभूत व्यक्तिगत जीवनको सम्मान र स्वतन्त्रताका मान्यतालाई साक्षर नै नभएर लेखिएका समाचारहरूका कथा हुन् । यिनै आधारमा हाम्रो बुझाइ र चेतनाको अवस्थाले सिर्जना गरेका कथा हुन यी भन्ने मेरो निश्कर्ष हो ।


आफूले सोचे जस्तो भएन भनेर व्यक्तिगत र क्षणिक सनकका भरमा कसैले मारिनुपर्ने, कसैले जलाइनुपर्ने, कसैले तुहाइनुपर्ने, कसैले जबरजस्ती बाँधिनुपर्ने, कसैले अपहरित हुनुपर्ने, कसैले अलपत्र पारिनुपर्ने, कसैले धम्की सहनुपर्र्ने दिनदिनै भइरहने घटना हुन् । यी घटना आज अरुकै जस्तो लागे पनि भोली आफ्नै जीवनमा, आफ्नै घरमा या त आफ्नै परिवारमा पर्दा सहन नसकिने कथा हुन् । अमूल्य रूपमा पाएको एकबारको जुनी सबैलाई हाँसी खुशीले रमाएर जिउने चाहना र रहरलाई सदा–सदाका लागि छिनेर लिइएका र लिइरहने हालतका कथा हुन् ।
यसरी हेर्दा बजारमा र सतहमा फैलिने असंवेदनशील हल्लाका शीर्षक र तिनको चिरफार
१. जति समानता भने पनि आखिर छोरा त चाहिन्छ
खासमा छोरा–छोरी सबैले जन्माउनैपर्ने बाध्यकारी नियम होइन, आदर्श हाइन, सिद्धान्त पनि होइन । व्यक्तिले आफ्नो ईच्छाले बच्चा जन्माउने या नजन्माउने कुरा निर्धारण गर्छ । यो उसको निजी जीवनको मामला हो । अझ अर्को लाजमर्दो कुरा छोरी सकभर नजन्मिएको ठीक, छोरा जसरी पनि चाहिन्छ भन्ने मान्यता राख्नु शिक्षित भनिन रुचाउनेहरूको नाङ्गो यथार्थ हो । छोरा या छोरी हामीले पढेको, सुनेको, सुनाइएको, बुझाइएको आधारमा बनाएको धारणा हो र यो बाहेक अरु केही पनि होइन । प्राकृतिक रूपमा सिर्जना भएको सुन्दर उपहारलाई सहर्ष स्वीकार गर्दा कहीं कतै पनि कसैलाई पनि कुनै किसिमको कमजोरी हुँदैन बरु यो महानता हो । वंश हामीले निर्माण गरेको एक धारणा हो यो सधैं एकै रूपमा सत्य हुँदैन ।
२. जति गरे पनि महिला पुरुष समान हुनै सक्दैनन्

यो पनि एक खाले पाखण्ड विद्या हो । मैले पहिलेदेखि नै मान्दै आएको छु कि मानिस जन्मका हिसाबले केबल मानिस हुन् र आधारभूत रूपमा सबै समान हुन् । शारीरिक र जैविक विभिन्नता स्वभाविक र स्वीकार्य विषय हो तर शारीरिक विभिन्नताका आधारमा मानिसलाई खण्डीकरण गरेर फरक व्यवहार गर्नु नै गलत हो । हामीले जे मान्दै र ठान्दै मानिस–मानिस बीचमा जुन विभेदीकरण गरेर आफ्नो धारणा बनाएका छौं, त्यो क्षणिक, आफूलाई शक्तिशाली बनाउनका लागि रचिएको हो र यो समयसँगै निश्चितै रूपमा बदलिएर जान्छ । व्यक्तिगत सक्षमता र शारीरिक सक्षमता पनि तुलना गर्न सकिने विषय नै होइन र कुनै पनि एक महिला शारीरिक शक्ति र सामथ्र्यका हिसाबले कुनै पनि एक पुरुष भन्दा कम्ती हुँदैन ।
३. विवाह विना बाँच्नै नसक्ने अथवा विवाह विनाको जीवन नै हुँदैन भन्ने सोच

विवाह भन्ने कुरा जे जसरी सुरुवात र संस्थागत गरिए पनि आधारभूत रूपमा विवाह विना पनि हरेक मानिस बाँच्न सक्दछ । विवाह विना पनि धेरै मानिसहरूको जीवन चलेको छ र चल्दै जाने छ । विवाह विना हामी बाँच्नै सक्दैनौं र विवाह विनाको जीवनको कल्पना गर्न सकिदैंन भन्ने पाखण्ड पनि सत्य होइन ।
४. श्रीमान–श्रीमती एक अर्काको भौतिक अथवा आर्थिक सम्पत्तिको रूपमा लिने चलन
श्रीमान–श्रीमती एक अर्काको व्यक्तिगत सहयात्री र मित्र हुन सक्दछन् तर कहिल्यै पनि घर, जग्गा जमिन, सुन, पित्तल तामा, वा लुगालत्ता जस्तो व्यक्तिगत सम्पत्ती होइनन् जो दर्ता गरिएको स्थिर र उसैको अधिपत्य सहनु बाध्य पारियोस् । श्रीमान्–श्रीमती त एक आपसमा सहकार्य र सहयात्रा गर्ने समझदारी अथवा सम्झौतामा एक ठाउँमा उपस्थित समान अस्तित्वका दुई फरक मानिस हुन् र यो एउटा औपचारिक र अनौपचारिक सम्झौतामा आधारित हुन्छ । सम्झौताको मान्य सिद्धान्त भनेको सम्झौताका कुनै एक पक्षलाई चित्त नबुझेमा उक्त सम्झौता जुनसुकै बखत भङ्ग हुन सक्दछ र यसो भनिरहँदा आवश्यक कानुनी दायित्वलाई भने कदापि भुल्न मिल्दैन । कसैले कसैसँग विवाह गर्दैमा जीवन भर जस्तो सुकै समयमा, बाध्यतामा र असमानता वा असमझदारीमा सँगै बस्नुपर्ने, भनेको मान्नुपर्ने होइन । विवाह हुँदैमा चित्त नबुझ्दा नबुझ्दै पनि सँगै बसिरहनु या कोही कसैको श्रीमान् श्रीमती भइरहनु जरुरी हुँदैन ।
५. सम्बन्ध विच्छेदले समाज बिग्रियो !
यस्तो भन्नेहरूको सोच र चेतनाको अभाव हो भन्ने मलाई लाग्छ । सम्बन्ध जबसम्म हितकर छ तबसम्म कायम रहनुपर्दछ र जुनबेला त्यस सम्बन्धको औचित्य सकिन्छ त्यसबेला राजी खुशीले सम्बन्ध तोड्न पाउनु हरेक व्यक्तिको आफ्नो व्यक्तिगत जीवनको हक हो । कसैले गलत मान्दैमा कसैले आफ्नो खाउँखाउँ लाउँलाउँको जीवन बली चढाउन मिल्दैन । जब व्यक्ति चेतनशील हुन्छ तब आफ्नो आत्मसम्मान र स्वभाभिमानसहित बाँच्न संघर्ष गर्दछ र त्यसबलेला आवश्यक नभएको सम्बन्ध तोडिनुलाई गलत होइन बरु सम्मान दिनुपर्ने हुन्छ ।
६. सम्पत्तिको लफडा
सम्पत्तिको लफडा अहिलेको जल्दो बल्दो समसामयिक समस्या हो । यसको वास्तविक मान्यता भनेको आफ्नो कमाइमा आफू बाँच्ने हो । जब हामी अरुको कमाइमा भर परेर जीवन समर्पण गर्दछौं तबसम्म सम्पत्ति पनि एक प्रकार को शक्ति हो र यसले कमजोर पक्षलाई हालीमुहाली गर्ने चेष्टा गरिरहन्छ र व्यक्तिगत जीवनको असुरक्षा रहिरहन्छ । तसर्थ कसैको पनि सम्पत्तिमा भर परेर जीवन काट्ने प्रयास गर्नु नै असमानतालाई आफ्नो जीवनमा आमन्त्रण गर्नु हो । तसर्थ हरेक १८ वर्ष माथिका व्यक्तिले स्वनिर्भरताको बाटो पहिचान गरी अघि बढ्नु सुरक्षित र श्रेयस्कर हुन्छ । यसो भनिरहँदा अहिले श्रीमान्को सम्पत्तिमा श्रीमतीको र बाबाआमाको सम्पत्तिमा छोराछारीको सम्पत्ति पाउने हकलाई ढुकेर बस्नु हुँदैन भन्ने कुरा सम्झिनु पर्दछ । किन भने ढिलो चाँडो श्रीमान्को अंश श्रीमतीले पाउने र बाबाआमाको सम्पत्ति पाउने व्यवस्था हटेर जान्छ र आफ्नो कमाइको सम्पत्ति मात्र माग दाबी गर्न पाउने अवस्था आउने नै छ ।
समाधान कसरी ?
यी यावत मान्यताहरुमा जबसम्म हामीले हाम्रो सोचाइमा परिवर्तन गर्दैनौं तबसम्म कुनै पनि समानताको आधार बन्न सक्दैन । समानता भनेको मानिस आफैमा जैविक रूपले भिन्न हुनु स्वभाविक हो र ऊ आफ्नै खाले स्वभाव र स्वतन्त्रतामा बाँच्न पाउनु जन्मसिद्ध हक हो । कोही कसैको केही नाता वा सम्बन्ध पर्दैमा वा कोही कसैलाई साह्रै मन पर्दैमा कसैको व्यक्तिगत चाहना पूरा गर्ने जीवन बाँचिदिनुपर्ने मान्यता र सोच जरैबाट उखेलेर फ्याकेपछि यहाँ अर्को असमानताको जन्म हुने छैन । यदि हामी आफूले चाहेको जीवन अरुलाई बाँच्न बाध्य पार्ने खेलमा अझै पनि लाग्ने हो भने यो भन्दा खतरनाक अर्को असमानता झेल्न पनि तयार हुनुपर्दछ, जुन निकै घातक र प्रत्युद्पादक हुने कुरामा दुईमत छैन ।
अन्तमा पुनः मानिस जन्मका हिसाबले समान अस्तित्वको हो । जैविक र शारीरिक भिन्नता स्वभाविक र स्वीकार योग्य छ । त्यसमा आफ्नो स्वार्थ लादेर आफ्नै जीवनमा अनेकौं झन्झटको फल नफलाऔं । आफू पनि स्वतन्त्र र खुशीले बाँचौं र अरुको स्वतन्त्रता र खुशीमा पनि हस्तक्षेप नगरौं, समानता आफै आउनेछ ।

प्रकाशित मितिः   २४ फाल्गुन २०७४, बिहीबार १९:२७