सरकारमा सहभागी हुने फोरमको औपचारिक निर्णय
काठमाडौं, २२ फागुन । संघीय समाजवादी फोरम नेपालले नयाँ सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ।
आज बिहान बसेको पदाधिकारी बैठकले सरकारका प्रतिनिधिसहितको कार्यदलले तयार पारेको संविधान संशोधनको ड्राफ्टमा सहमति जनाउँदै सरकारमा सहभागी हुने निर्णय गरेको हो। फोरम उपाध्यक्ष युवराज कार्कीले केपी ओली नेतृत्वको नयाँ सरकार संविधान संशोधनमा तयार देखिएपछि सरकारमा सहभागी हुने औपचारिक निर्णय गरिएको बताए।
‘संशोधनमा गम्भीर असहमति जनाउँदै आएको एमाले अन्तिम समयमा आएर संविधान संशोधन गर्न तयार भएको छ,’ उनले भने, ‘सरकारमा सहभागी हुने विषयभन्दा पनि संविधान संशोधन गर्न सरकार तयार देखिनुलाई हामीले महत्वपूर्ण उपलब्धिको रुपमा लिएका छौं।’
यसअघि संविधान संशोधनको ड्राफ्ट तयार गर्न एमाले र फोरमले अनौपचारिक कार्यदल बनाएका थिए। कार्यदलले मधेस आन्दोलनले उठाएका माग आपसी समझदारीका आधारमा संविधान संशोधनमार्फत गर्ने ब्यहोराको ड्राफ्ट तयार गरेको थियो।
फोरमको पदाधिकारी बैठकले समेत पारित गरेको संविधान संशोधनको ड्राफ्टलाई आजै हस्ताक्षर गर्ने तयारी छ। फोरमका एक नेताका अनुसार संविधान संशोधनमा सरकार तयार हुने र नयाँ सरकारमा फोरम सहभागी हुने विषयमा आज औपचारिक हस्ताक्षर हुनेछ।
फोरम सरकारमा सहभागी हुने निश्चित भए पनि मन्त्रालयको भागबण्डाको विषयमा अझै कुरा मिलिसकेको छैन। सरकारले परराष्ट्रसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय लिएर नयाँ सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ। फोरमले परराष्ट्रसहित एक विकासे मन्त्रालयको माग गरको छ। फोरमले संघीय मामिला मन्त्रलायको सट्टा सहरी विकास र खानेपानी मन्त्रालय दिन सरकारसँग आग्रह गर्दै आएको छ।
प्रकाशित मितिः २२ फाल्गुन २०७४, मंगलवार १४:३१
साझा बिसौनी ।