सहयोग जुटाएर प्रदेशस्तरीय प्रतियोगिता
आज उद्घाटन हुँदै, आयोजकलाइ खर्च जुटाउनै मुस्किल
सुर्खेत, १८ फागुन ।
सुर्खेतमा आज (शनिवार) देखि कर्णाली प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन हुँदैछ । सुर्खेत क्रिकेट संघको आयोजनामा टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
संघले सहयोग जुटाएर प्रतियोगिता गर्न लागेको हो । क्रिकेट खेलप्रति खेलाडीहरूको आकर्षण बढेपनि राज्यले पर्याप्त लगानी नगरेका कारण संघले दाता खोजेर रकम संकलन गर्दै प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरेको संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए । उनले प्रतियोगिता सञ्चालनका लागि विभिन्न व्यक्तिहरूबाट आर्थिक संकलन भइरहेको जनाए । ‘हाम्रो अनुरोधपछि कतिपयले पाँच हजार त कतिपयले १० हजार रूपैयाँ पनि सहयोग गर्नुभएको छ’ अध्यक्ष केसीले भने, ‘संघसँग कुनै बजेट नै छैन तर यसैगरी सहयोग संकलन गरेर प्रतियोगिता आयोजना गरेका हौं ।’
प्रतियोगिता आजदेखि सञ्चालन हुँदैछ । तर संघले प्रतियोगिता सम्पन्न गर्नका लागि चाहिने सबै खर्च भने जोहो गरिसकेको छैन । ‘अहिले पनि हाम्रा साथीहरू सहयोगको खोजीमा हिँडिरहनुभएको छ’ शुक्रवार केसीले भने, ‘प्रतियोगिता सम्पन्न हुँदासम्म खर्च जुटाउनैपर्नेछ ।’ उनले प्रतियोगिता सम्पन्न गर्न ६ देखि ७ लाख रूपैयाँसम्म खर्च लाग्ने जनाए ।
सुर्खेतमा क्रिकेटका लागि आवश्यक मैदान छैन । वीरेन्द्रनगरको कालिंचौकस्थित खुला चौरलाई तत्कालका लागि केही मर्मत गरेर प्रतियोगिता सञ्चालन गरिदैंन । उक्त मैदान मर्मतदेखि सहभागी ६ जिल्लाका खेलाडी, अफिसियलको खान र बस्नको व्यस्था, बाहिरबाट ल्याइएका अम्पायर, स्कोररदेखि म्याट लगायत पूर्वाधारमा पनि रकम खर्च हुने हुनाले बजेट अपुग भएको केसीले बताए । ‘हामीसँग बजेट नै छैन, तर सहयोग जुटाउने आँट गरेरै प्रतियोगिता आयोजना गरेका हौं’ उनले भने ।
सरकारले केही गरेन भनेर सबै बस्ने हो भने क्रिकेटको विकास नै हुन नसक्ने भएकाले आँट गरेरै आफूहरूले प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरेको अध्यक्ष केसीको भनाइ छ । उनले सरकारी तहबाट पनि सहयोग भएमा यस्ता गतिविधि गर्न सहज हुने विश्वास व्यक्त गरे । वीरेन्द्रनगर नगरपालिकाले केही बजेट सहयोग गर्ने आश्वासन दिए पनि प्राप्त भइनसकेको उनले जनाए ।
पहिलो पटक आयोजना गर्न लागिको प्रदेशस्तरीय प्रतियोगितामा यो प्रदेशका ६ जिल्लाले सहभागिता जनाउँदैछन् । आयोजक सुर्खेतसहित, सल्यान, जाजरकोट, रुकुम पश्चिम, दैलेख र जुम्लाले सहभागिता जनाएको केसीले जानकारी दिए । कालुञ्चौक मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज(शनिवार) बिहान १० बजे सुर्खेत र सल्यानबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
साझा बिसौनी ।