प्रदेश ६ को नाम र राजधानी आज टुंगो लाग्दै
सुर्खेत, ६ फागुन । प्रदेश नं. ६ को नाम र राजधानीबारे आज टुंगो लाग्ने भएको छ । आज दिउँसो एक बजे बस्ने प्रदेश सभाको चौथो बैठकमा नाम र राजधानीबारे छलफल गर्ने कार्यसूचि छ ।
प्रदेशसभाको वैठकअघि सबै दलसँग छलफल गरी नाम र राजधानीबारे सहमति जुटेपछि आजको वैठकमा प्रस्ताव लैजान लागिएको संसद सचिवालयले जानकारी दिएको छ । प्रदेश नम्बर ६ मा प्रतिनिधित्व गर्ने चारवटै राजनीतिक दलले प्रदेशको नाम र राजधानीबारे सहमति जनाएकाले उक्त प्रस्ताव आजै सर्वसम्मत रुपमा पारित हुने संसद सचिवालयको विस्वास छ ।
संसद वैठकमा प्रदेशको नाम ‘कर्णाली’ राख्ने सम्बन्धि र राजधानी ‘सुर्खेत’ बनाउने सम्बन्धि प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूचि छ ।
संसद सचिवालयका अनुसार नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले प्रदेश नम्बर ६ को नाम कर्णाली राख्ने सम्बन्धी प्रस्ताव पेश गर्नेछन् । उक्त प्रस्तावमाथि कांग्रेसका सांसद दिनबन्धु श्रेष्ठ, माओवादीकी सीता नेपाली र राप्रपाको सोसीला शाहीले समर्थन गर्ने छन् ।
यस्तै सुर्खेतलाई राजधानी बनाउने सम्बन्धी प्रस्ताव भने नेपाली कांग्रेसको संसदीय दलका नेता जीवनबहादुर शाहीले पेश गर्ने तय भएको छ । उक्त प्रस्तावमा एमालेका गुलावजंग शाह, माओवादीका गणेशप्रसाद सिंह र राप्रपाकी सोसीला शाहीले समर्थन गर्नेछन् ।
प्रकाशित मितिः १२ फाल्गुन २०७४, शनिबार १२:४६
साझा बिसौनी ।