गरिबी र अभावमुक्त प्रदेश बनाउने अठोट

साझा बिसौनी संवाददाता
सुर्खेत, २१ माघ ।
‘हाम्रो प्रदेश रोग र भोकले ग्रस्त छ, कर्णालीमा उपचार नपाएर मृत्यु अंगाल्नुपर्ने बाध्यता छ । सधैं दुःखका कथा मात्र सुनायौं, अभावमा छट्पटिएर अरुसँग गुनासो गर्दै हाम्रो समय वित्यो ।’ प्रदेश सभाको पहिलो बैठकमा सांसद महेन्द्रबहादुर शाहीले भने, ‘अब अरुलाई गाली गरेर कर्णालीको मुहार बदल्न सकिन्न, दुखका गित गायर समृद्धिसम्म पुग्न सम्भव पनि छैन ।’


माओवादी केन्द्रका सांसद शाहीले आन्दोलनको बलमा स्थापना भएको यो प्रदेश गरिबी र अभावले जेलिएकाले थप चुनौती रहेको बताए । उनले भने, ‘संसदमा हामी ४० जना छौं, अब यहाँको रोग र भोकविरुद्ध एकजुट भएर लडौं । हामीसँग प्रशस्त प्राकृतिक स्रोत छ, यसको सही प्रयोग गर्नसकेमा कर्णालीलाई चाँडै अभावबाट मुक्त गर्न सफल हुनेछौं ।’ विकासको डोजर कुदाउँदै हातमा औजार लिएर समृद्ध प्रदेश निर्माणमा सामूहिक रूपमा अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए । रोग र भोकविरुद्ध सामूहिक रूपमा नलडेसम्म कर्णालीको काँचुली फेर्न नसकिने उनको भनाइ छ ।
बैठकमा कांग्रेस सांसद जीवनबहादुर शाहीले भने, ‘कर्णालीलाई आजसम्म केन्द्रले सधैं हेला ग¥यो, अवसर नदिँदा हामीले गरिबी र अभावसँगै जेलिनुपर्ने बाध्यता आइलाग्यो । अब हामीले आफ्नो भाग्यरेखा आफै कोर्ने अवसर पाएका छौं, यो अवसरलाई सदुपयोग गरेर कर्णालीको काँचुली फेरौं ।’ आन्दोलनको बलबाट स्थापना भएको र देशको सबैभन्दा कान्छो प्रदेश भएकाले पनि नमुना प्रदेश बनाउन आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ छ । ‘संसदमा हामी प्रतिपक्ष भएका छौं, तर यो प्रदेशको अभाव र गरिबीविरुद्ध सरकारसँग मिलेर लड्न तयार छौं’ उनले भने, ‘कर्णालीको भोकमरी अन्त्य हाम्रो प्राथमिकता हुनेछ, बिरामीले उपचार पाउने व्यवस्था ल्याउन प्रतिबद्ध छौं ।’ यहाँको जलस्रोत, पर्यटन र जडिबुटीको सदुपयोग गरेर देशकै नमुना प्रदेश बनाउन सकिने उनको भनाइ थियो । संसद बैठकमा एमालेको तर्फबाट बोल्दै
सांसद यामलाल कँडेलले नागरिकले भोकै मर्न नपर्ने प्रदेश निर्माणमा आफूहरू केन्द्रित हुने बताए । उनले भने, ‘कर्णालीमा बिरामीले उपचार पाउन सकेका छैनन्, पहाडि जिल्लामा नागरिकले पेटभरी खान नपाएर ज्यान गुमाउनुपर्ने अवस्था छ । रोग र भोकले हाम्रो प्रदेश थला परेको छ, अब हामी हातेमालो गरेर विकास र समृद्धिको यात्रामा अगाडी बढौं ।’ नागरिकलाई अभाव र गरिबीबाट मुक्त नगरेसम्म समृद्ध प्रदेशको सपना पूरा नहुने उनको भनाइ छ । देशका अन्य प्रदेशसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्था रहेको भन्दै उनले यहाँको स्रोत र साधन परिचालन र सदुपयोगका लागि अब सामूहिक रूपमा लाग्नुपर्ने अवसर आएको बताए ।
बैठकपछि प्रतिक्रिया दिँदै यहाँका सांसदहरूले मिलेर मात्र समृद्धिको यात्रा सफल हुने बताएका छन् । कर्णालीको मुहार बदल्नेगरी प्रदेशसभाले काम गर्ने उनीहरूको दाबी छ । हालसम्म यो प्रदेश गरिबी र अभावले थलिएको भए पनि अब स्रोत र साधनको परिचालन गर्नुपर्नेमा उनीहरूले जोड दिए । पहिलो बैठकमा सहभागी हुन पाउँदा सांसदहरू उत्साहित देखिन्थे । करिब ४५ मिनेट सञ्चालन भएको बैठकपछि सांसदहरूले आफसमा सामूहिक तस्वीरहरू खिचेर खुशी साटासाटसमेत गरेका थिए ।

सभामुख चयन माघ २९ गते
प्रदेश नम्बर ६ को प्रदेश सभाले माघ २९ सभामुख पाउने भएको छ । आइतवार वीरेन्द्रनगरमा सम्पन्न प्रदेश सभाको पहिलो बैठकले सभामुखको निर्वाचन सम्बन्धी प्रस्ताव पारित गरेको हो । पहिलो बैठकले सभामुखको निर्वाचन यही माघ २९ गते दिउँसो १ बजे तय गरेको छ ।
ज्येष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा पहिलो बैठक सम्पन्न भएको हो । बैठकमा ज्येष्ठ सदस्य शाहीले सभामुखको निर्वाचन सम्बन्धी प्रस्ताव निर्णयार्थ पेश गरेका थिए । शैठकले उक्त प्रस्ताव सर्वसम्मत् रूपमा पारित गरेको हो । यस्तै पहिलो बैठकले प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ पनि सर्वसम्मत् रूपमा पारित गरेको छ । प्रदेश सभाको अर्को बैठक यही माघ २९ गते दिउँसो १ बजे बोलाइएको छ । माओवादीसँग चुनावी गठबन्धन गरेको एमालेले सभामुख पाउने भएको हो । यसका लागि एमालेले आन्तरिक तयारी गरिरहेको छ ।

सभामुखले ताली ठोक्नुस् भनेपछि…
पहिलो बैठकमा सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य हिमबहादुर शाहीले कार्यसूची अनुसार प्रस्तावहरू निर्णायार्थ पेश गरे । सोही क्रममा उनले प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि र सभामुखको निर्वाचन मिति सम्बन्धी प्रस्तावमा सांसदहरूलाई निर्णयार्थ प्रस्तुत गरे । सोही क्रममा सभामुखले प्रस्तावमा सहमत हुनेले ताली ठोक्नुस् भनेपछि सभाकक्ष हाँसोले गुन्जिएको थियो । बैठक कक्षमा सांसदहरूलाई बस्नका लागि कुर्ची राखिएका थिए । तर हतार–हतारमा व्यवस्थापनको काम सम्पन्न भएकालेले बैठक कक्षमा टेबुल भने राखिएका थिएनन् । जसका कारण सांसदहरूले आइतवार टेबुल ठोक्न पाएनन् । टेबुल नभएका कारण पनि सभामुखले सांसदहरूलाई ताली बजाउन आग्रह गरेका थिए । बैठकमा सभामुख शाहीले भने, ‘प्रस्तावको पक्षमा हुने माननीयहरूले हुन्छ भन्नुहोला, प्रस्तावको विपक्षमा हुने माननीयहरूले हुन्न भन्नुहोला । अब यो प्रस्तावको पक्षमा सहमत हुनेहरूले ताली ठोक्नुस् ।’ सभामुखले ताली ठोक्नुस् भनेपछि बैठक कक्षमा हाँसो छाएको थियो ।

राजतन्त्रको पक्षमा वकालत
यसैबीच पहिलो बैठकमा राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा वकालत भएको छ । प्रदेशसभाको पहिलो बैठकमा राप्रपाका एकमात्र सांसद सोशीला शाहीले राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा पुनर्विचार हुनुपर्ने बताइन् । उनले भनिन्, ‘गणतन्त्र र धर्म निरपेक्षता जनताको चाहना विपरित घोषणा गरियो, यो जनताको भावना विपरित छ । यसमा अब पुनर्विचार होस् ।’ प्रदेश सभाले अब यो प्रदेशको समृद्धिका लागि पहल गर्नुपर्ने भन्दै उनले यहाँको समृद्धिका लागि मिलेर काम गर्न तयार रहेको बताइन् । गरिबी र अभाव अन्त्यका लागि एकजुट भएर काम गर्नुपर्ने उनको भनाइ छ । पहिलो बैठकमा बोल्ने चार जना सांसद मध्ये तीन जना कर्णालीका सांसदले बोल्ने अवसर पाएका थिए । एमालेका यामलाल कँडेल बाहेक संसदमा बोल्ने अवसर पाएका माओवादीका महेन्द्रबहादुर शाही, कांग्रेसका जीवनबहादुर शाही र राप्रपाका सोशीला शाही कर्णालीबाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मितिः   २२ माघ २०७४, सोमबार १३:११