मृगौला पीडितलाई आर्थिक सहयोग

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ माघ ।
दुई मृगौला बिग्रिएर उपचारको क्रममा रहेका एक युवकलाई आर्थिक सहयोग गरिएको छ । रकम अभावका कारण उपचार हुन नसकेका दैलेखको भगवतीमाई गाउँपालिका–१ पगनाथका हस्तराज अधिकारीलाई उपचारका लागि एक लाख रूपैयाँ सहयोग गरिएको हो ।
रोजगारीको शिलशिलामा कोरियामा रहेका नेपालीहरूले संकलन गरेको रकम सोमवार हस्तान्तरण गरिएको हो । सुर्खेत–कोरिया सम्पर्क समितिका अध्यक्ष कुमार भट्टराई र टेकेन्द्र हमालको नेतृत्वमा संकलन भएको एक लाख रूपैयाँ हस्तान्तरण गरिएको हो । नेपालका विभिन्न जिल्लाबाट रोजगारीको शिलशिलामा कोरिया रहेका ३३ जनाबाट १० लाख ५५ हजार रूपैयाँ वोन संकलन भएको कोरिया सम्पर्क समितिका सदस्य हमालले बताए । रकम अभावका कारण विगत तीन वर्षदेखि मृगौलामा समस्या देखिएका अधिकारी काठमाडौंस्थित वीरअस्पतालमा उपचाररत छन् । काठमाडौंमा उपचारका लागि रकम अभाव भएपछि वीरअस्पतालको सिफारिसमा उनले हाल मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा डायलोसिश गराइरहेको बताए । दुवै मृगौला बदल्नुपर्ने भएकाले उपचारका लागि २५ लाख रूपैयाँ आवश्यक रहेको उनले बताए । ‘आमा अथवा बुबाको मृगौला म्याचिङ हुन्छ, हुँदैन थाहा छैन’, उपचार गराइरहेका अधिकारी भने, ‘मृगौला दिने व्यक्ति भए पनि पैशा छैन ।’
उपचारका लागि रकम जुट्दै गएको जानकारी दिँदै पीडित अधिकारीले सहयोग गरेकोमा आभार व्यक्त गरे । उनले उपचारमा अर्थिक समस्या भएर जीवन संघर्षको अवस्थामा रहेको हुँदा जीवन रक्षाको लागि सहयोग गरिदिनसमेत अपिल गरे । सहयोग गर्न चाहानेहरूले उनका अंकल भवानीप्रसाद अधिकारीको सम्पर्क नम्बर ९८४८१६६७७७ मा सम्पर्क गर्न सकिनेछ । साथै, अंकल भवानी अधिकारीको नाममा वाणिज्य बैंक शाखा दैलेख २०२४९ खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सकिनेछ ।

प्रकाशित मितिः   १६ माघ २०७४, मंगलवार १६:१७