विपन्न बालबालिकाका लागि ‘न्यानो सुर्खेत’अभियान

साझा बिसौनी संवाददाता
सुर्खेत, २१ पुस ।
बाढीपीडित तथा विपन्न बालबालिकाका लागि सुर्खेतमा ‘न्यानो सुर्खेत’ अभियान सञ्चालन हुने भएको छ । चिसोका कारण विरामी भएको र आर्थिक अभावका कारण बालबालिकाले उपचार नपाएपछि जिल्लामा यो अभियान सञ्चालन गर्न लागिएको हो । पहिलो चरणमा यो अभियान गिरीघाट शिविरमा रहेका बाढीपीडित बालबालिका र गुर्भाकोटमा रहेका विपन्न बालबालिका केन्द्रित हुनेछ ।
न्यानो सुर्खेत अभियान अन्तर्गत बालबालिकालाई न्यानो कपडा र औषधि वितरण गरिनेछ । यस्तै ति बालबालिकाको निःशुल्क रूपमा स्वास्थ्य उपचारसमेत गर्न लागिएको हो । अभियान अन्तर्गत आज शनिवार गिरीघाटस्थित विस्थापित शिविरमा रहेका बालबालिकाको निःशुल्क स्वास्थ्य उपचार हुनेछ । यस्तै उनीहरूलाई चिसोबाट जोगाउन न्यानो कपडाहरू पनि वितरण गर्न लागिएको हो । मध्यपश्चिम क्षेत्रीय अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर नवराज केसीको पहलमा यो अभियान सञ्चालन हुन लागेको हो ।
चिसो बढ्दै गएको र यसको मारमा सबैभन्दा बढी बालबालिकाहरू परेका छन् । चिसोका कारण निमोनिया र झाडापखालाका बिरामी बालबालिकाहरू उपचारका लागि अस्पताल र क्लिनिकहरूमा आउन थालेपछि यो अभियान सुरु गर्न लागिएको हो । वीरेन्द्रनगरमा रहेको नेपाल बाल पोलिक्लिनिकका सञ्चालक डाक्टर नवराज केसीले भने, ‘चिसोले बालबालिका विरामी हुन थाले, दैनिक एक दर्जन बालबालिका उपचारमा आउँछन् । सबैभन्दा पीडित विपन्न बालबालिका छन्, आर्थिक अभावमा उपचार नै नपाउने अवस्था छ ।’ बालबालिकाहरूलाई चिसोबाट जोगाउन आफूहरूले न्यानो सुर्खेत अभियान सुरु गरेको केसीले बताए । ‘यो अभियानमा हामी बालबालिकाको निःशुल्क उपचार गर्नेछौं, न्यानो कपडा पनि वितरण गर्नेछौं’ डाक्टर केसीले भने, ‘हामीले क्षेत्रीय अस्पतालमा पनि विपन्न बालबालिकालाई निःशुल्क उपचारको व्यवस्थापन गरेका छौं, मैले मेरो क्लिनिकमा पनि निःशुल्क उपचार सेवा दिदैं आएको छु ।’
सबैभन्दा पीडित गिरीघाटमा रहेका बाढीपीडित शिविरका बालबालिका रहेको उनको भनाइ छ । आर्थिक अभावका कारण उनीहरूले उपचार नै नपाउने अवस्था रहेको भन्दै उनले आफूहरूले यसमा सहयोग गर्न लागेको बताए । न्यानो सुर्खेत कार्यक्रममा बराहताल गाउँपालिका, लायन्स क्लब र महिला तथा बालबालिका कार्यालयले पनि सहयोगको प्रतिवद्धता जनाएका छन् । जिल्लामा रहेका विपन्न बालबालिकालाई चिसोबाट बचाउन यो अभियानलाई हरेक वर्ष निरन्तरता दिने योजना डाक्टर केसीले सुनाए । उनले भने, ‘यो वर्ष सुर्खेतमा सञ्चालन गर्नेछौं, दाताहरूले साथ दिने संकेत दिएका छन् । विस्तारै यो प्रदेशभरी अभियान लैजाने योजना छ, कोही पनि बालबालिका आर्थिक अभावकै कारण उपचारबाट वञ्चित नहुन ।’ डाक्टर केसीले यसअघि पनि आफ्नो पोलिक्लिनिकमा विपन्न बालबालिकालाई निःशुल्क उपचार गर्दै आएका छन् । डाक्टर पैसामुखी हुन्छन् भन्ने आरोपलाई चिर्दै केसीले आफ्नो व्यक्तिगत खर्चमा विपन्न बालबालिकाको निःशुल्क उपचार गरिरहेका छन् ।

न्यानो कपडा वितरण
वीरेन्द्रनगर नगरपालिका भित्रका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । चिसो बढेसँगै आर्थिक रूपमा विपन्न, बाढीपीडित, असाहय र दलित परिवारका ५३ जना बालबालिकालाई शुक्रवार न्यानो कपडा वितरण गरिएको हो ।
चिसो मौसमका कारण बालबालिकालाई प्रतिकूल असरबाट जोगाउनका लागि न्यानो कपडा वितरण गरिएको बताइएको छ । वीरेन्द्रनगरका लागि सडक बालबालिका व्यवस्थापन प्रमुख चुनौती बनेको भन्दै नगरपालिकाका प्रमुख देबकुमार सुवेदीले सरोकारवाला निकाय एकजुट भएर लाग्नुपर्ने बताए । उनले अभिभावकविहीन सडक बालबालिकाका लागि नगर कार्यपालिकाबाट पहल गर्ने प्रतिबद्धतासमेत जनाए । महिला तथा बालबालिका कार्यालयका बाल संरक्षण अधिकृत प्रेमप्रसाद आचार्यले ६ नम्बर प्रदेशमा सडक बालबालिका बेचविखन र व्यवस्थापन गर्न चुनौती बनेको बताए ।
उनले सडक बालबालिकाको संख्या बढेसँगै होटेल तथा ग्यारेजहरूमासमेत बाल मजदुरहरू बढेको बताए । दुव्र्यसनीमा फसेका सडक बालबालिकालाई परामर्शका लागि भैरव युवा सशक्तीकरण केन्द्रसँग सहकार्य गर्न तयार रहेको बताइएको छ । पाँच जना बाढीपीडित, २० जना असाहय, ६ जना विपन्न, १२ जना सडक बालबालिका र १० जना दलित बालबालिकालाई ज्याकेट वितरण गरिएको थियो । गोर्खा घरको आयोजना, हेल्पिङ्ग गायज इजराइल गु्रपको सहयोग र सुर्खेत सामुदायिक प्रहरीको समन्वयमा शुक्रवार न्यानो कपडा वितरण गरिएको हो ।

प्रकाशित मितिः   २१ पुष २०७४, शुक्रबार १४:५९