मतदातासँग खुशी साट्न गाउँ पसे नवनिर्वाचित सांसद

साझा बिसौनी संवाददाता
सुर्खेत, २८ मंसिर ।
एमाले नेता यामलाल कँडेल निर्वाचनको मत परिणाम घोषणा भइसकेपछि पनि निकै व्यस्त छन् । निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा विजयी कँडेल मतदातालाई धन्यवाद दिन घरदैलो अभियानमा जुटेका छन् । उनी बिहानैदेखि मतदाताको घरदैलोमै पुगेर बधाई तथा सम्मान थापिरहेका हुन् ।


निर्वाचन अघि घरदैलो सकेका उनले अहिले पनि कार्यतालिका नै बनाएर मतदाताको घरदैलोमा पुगिरहेका छन् । सांसद कँडेलले बिहीवार वीरेन्द्रनगर–१३ र १ मा पुगेर आफूलाई मत दिएर विजयी गराउने मतदातालाई धन्यवाद दिए । ‘मत माग्दै जहाँ–जहाँ पुगियो, अहिले तिनै ठाउँका मतदातासमक्ष पुगिरहेको छु,’ कँडेलले भने, ‘निर्वाचन अघि मैले गरेका वाचा पूरा गर्न मतदाताले आग्रह गरिरहेका छन्, मतदाता विकास र समृद्धि चाहान्छन् ।’
निर्वाचन अघि र पछि गाउँ र टोलमा पुग्दा स्थानीय बासिन्दामा उत्तिकै उत्साह पाएको उनले सुनाए । ‘जनताले विकास गर्ने जिम्मेवारी दिएका छन्, जनजीविकाका सवाललाई प्राथमिकता दिएर काम गर्नेछु’ उनले भने । कँडेल मात्र होइनन्, जिल्लाका सबै नवनिर्वाचित सांसदहरू यतिवेला गाउँ पसेका छन् । निर्वाचन प्रचार सकेर मत परिणाम सुन्न सदरमुकाम आएका नेताहरू गाउँ पसेका हुन् । निर्वाचित भएलगतै प्रतिनिधिसभाका दुई र प्रदेश सभाका चारै जना सांसदहरू आ–आफ्नो क्षेत्रका मतदातासँग खुशी साट्न पुगेका छन् । आफ्नो क्षेत्रमा मतदातासँग विजयउत्सव मनाउँदै सांसदहरूले आफूले चुनावको बेलामा मतदातासँग गरेका प्रतिबद्धताहरू पूरा गर्ने बाचा गरिरहेका छन् । अर्कोतर्फ मतदाताले पनि सांसदहरूलाई आफ्नो गाउँ र टोलको विकास र प्राथमिकताबारे अवगत गराउन थालेका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ (क) का सांसद ठम्मरबहादुर विष्ट पनि मतदातालाई धन्यवाद दिन गाउँ पुगेका छन् । हिजोआज उनी मतदातासँग खुशी साट्न व्यस्त छन् । ‘म फेरि पनि जनताकै घरदैलोमा छु’, नवनिर्वाचित सांसद विष्टले भने, ‘विकास र समृद्धि जनताले अबको केही महिनामै देख्नेछन् ।’ बिहीवार साटाखानीका विभिन्न स्थानहरूमा भएको कार्यक्रममा मतदातालाई धन्यवाद दिँदै उनले आफू सोही क्षेत्रको विकासमा निरन्तर लाग्ने प्रतिक्रिया दिए । जनताले खानेपानी, विद्युत, सिँचाइ र नहर जस्ता विकास योजना मागेको उनले सुनाए । ‘विकास र सृमद्धि चाहियो भन्ने जनताको माग छ’ उनले भने, ‘जनताका मागलाई बामपन्थी सरकारले एक वर्षमै पूरा गर्नेर्छ ।’ भेरीगंगालाई स्मार्ट सिटी बनाउने र अन्तर्राष्ट्रिय विमानस्थल बनाउने दीर्घकालीन योजनालाई पाँच वर्षभित्र परिणाम आउने गरी काम थालिने उनको भनाइ छ ।
‘मेरो क्षेत्रमा ठूलो मात्रामा सुकुम्बासीहरूको संख्या छ, यो समस्या समाधानका लागि पहल गर्नेछु’ उनले भने, ‘जनताले जिम्मेवारी दिएका छन्, त्यो पूरा गर्नु मेरो दायित्व हुनेछ ।’ यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष धुव्रकुमार शाही क्षेत्र नम्बर १ का मतदातासँग विजयको खुशीयाली साट्नमै व्यस्त छन् । प्रतिनिधि सभा सदस्यमा विजयी भएपछि सांसद शाही यतिबेला मतदाताको घरदैलोमा मतदातालाई धन्यवाद दिन निस्केका हुन् । आफूलाई मतदान गरी चुनाव जिताउने मतदातालाई धन्यवाद दिन आफ्नो क्षेत्रका विभिन्न स्थानहरूमा कार्यक्रम थालिएको उनले बताए । ‘हामी मतदाताको बीचमा पुगेका छौं, जीतको खुशीयाली साटासाटा गर्न गाउँ पसेका हौं’ एमाले सुर्खेतका सचिव मोहन बडुवालले भने, ‘जनताले वाम गठबन्धनलाई देखाएको विश्वासलाई यथार्थतामा परिणत गर्न हरसम्भव पार्टी पंक्तिले पनि प्रयास गर्नेछ ।’ उनका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा निर्वाचित सांसदहरू यतिबेला घरदैलो अभियानमा छन् ।
सांसदहरूले अहिले तालिका नै बनाएर मतदातको बीचमा पुगेका हुन् । निर्वाचनको परिणाम आइसकेपछि अधिकांश वाम गठबन्धनका नेता र कार्यकर्ताहरू घरदैलोमा नै व्यस्त रहेका छन् । विजयी सांसदहरू पुगेपछि गाउँमा चहलपहल बढेको छ । विजयी भइसकेपछि सबैभन्दा पहिलो प्राथमिकतामा मतदाता रहेको बताउँदै सांसदहरू गाउँ पसेका उनीहरूले बताएका छन् । पाँच वर्षे कार्यकाल रहेका सांसदहरूले चुनावी प्रचार–प्रसारमा दिएको आश्वासन पूरा गर्ने दावी गरेका छन् । यतिबेला सांसदहरू नवराज रावत, विन्दमान विष्ट र खड्कबहादुर खत्री पनि मतदातालाई धन्यवाद दिन र विजयको खुशी साट्न गाउँ पसेका छन् । वाम गठबन्धनका नेता तथा कार्यकर्ताहरू खुशीयाली मनाउन गाउँ पसेका बेला कांग्रेसका नेताहरू भने चुनावी समीक्षा गर्न व्यस्त छन् ।

प्रकाशित मितिः   २९ मंसिर २०७४, शुक्रबार १५:२८