साडीको प्रेम

दिपक गौतम
हत्तेरी ! फेरि सुरु भयो गफाडिको गफ । कत्ति गफ लडाउन जान्या हो ?’ निताले मलाई ‘गफाडी’को उपमा दिएपछि म झन गफ लडाउन सुरु गर्थें । ‘छ नि, तिमी त्यो सेतो टिसर्ट र निलो पाइन्टमा कत्ति राम्री देखिन्छ्यौ !’
‘अ, होला खुब ।’
‘त्यसैमा क्याप पनि सुहाउँछ ।’
‘हो र ?’ ऊ ओठ लेब्र्याउँदै नपत्याएको अभिनय गर्थी ।
‘कालो सुज पनि सुहाउँछ ।’ उसले नपत्याए पनि मैले गफको सिक्वेन्सलाई निरन्तरता दिन्थें ।
‘अनि साडी चाहीं सुहाउँदैन ?’
‘त्यो त झन सुहाउँछ ।’
‘त्यसोभए, किनेर दिए भैगो नि ।’
अनि मलाई मेरो गरिबीले च्वास्स पोल्थ्यो । भन्थें ‘चाँडै किनिदिन्छु । साँच्ची, तिम्रो साडी लाउने दिन कहिले आउँछ ?’
‘जुन दिन तपाईं डोली लिएर आउनुहुन्छ ।’
‘म त आजै तयार छु क्यारे ।’
‘अनि डोली पनि तयार छ?’
‘तयार हुनुपर्ने म हो कि डोली ?’
‘दुवै’
निता खित्का छोडेर हाँस्दै भन्थी ‘तर मलाई त बिहे अघि नै साडी लाउने रहर छ ।’
समय बित्दै जाँदा निताको बर्थ डे आयो । उसको बर्थ डेमा बिहानै फोन गरेर शुभकामना दिएँ । उसले गिफ्ट मागी । तर, उसलाई गिफ्ट किन्दिनको लागि मसँग पर्याप्त ‘पकेट मनी’ थिएन । आफूसँग भएको सेलफोन बेचेर उसलाई महँगो साडी किनेर गिफ्ट दिएँ । ऊ खुशीले उफ्रिइ । त्यो पल, मलाई चुमेर निक्कैबेरसम्म अँगालिरहेकी थिइ । साडीलाई जतनसाथ हातले स्पर्श गरेर ओल्टाइपल्टाइ हेरी । साडीको एउटा टुप्पो समाएर उसले आफ्नो गाला मुसारेकी थिइ । साडीप्रति मोहित भएर एकपटक चुमेकी पनि थिइ । ऊ यतिसम्म खुशी थिइ कि, मैले सधैं हातमै बोकिरहने सेलफोन, हातमै छ, छैन वास्ता गर्ने फुर्सतसम्म पाएकी थिइन् । जे होस ऊ खुशी थिइ ।
उसको खुशीमा धक्का पुग्ला भनेर मैले सत्य लुकाउँदै ढाँटेर भनें, ‘सुनन्, आज मेरो सेलफोन हरायो ।’ कसरी, कहाँ हरायो भन्ने थोरैमात्र चासो उसले लिई । ऊ धनीकी छोरी थिइ । उसले चाहेकी भए, मलाई अर्को फोन किनेर दिन सक्थी । तर पनि उसले किनेर दिन्छे भनेर मैले आफ्नो फोन बेचेको थिइनँ । म त उसको खुशीको लागि आफै बेचिन पनि तयार थिएँ ।
‘बाइक किन्नुस् के एउटा ।’ ऊ बेलाबेलामा मलाई झस्काउँथी । मेरो गरिबीले त्यत्रो चुनौतीको सामना गर्न असम्भव थियो । अनि भन्थें, ‘पर्ख न, एउटा जागिर खान्छु, अनि मात्रै । फेरि जागिर नहुँदै बाइक किनेर तेल चाहिँ कसले हाल्दिन्छ र ?’ म टार्न विवश थिएँ । उसले पत्याइन होली । किनकी मैले नितालाई पछाडी सीटमा राखेर बाइक कुदाएको उसले आफ्नो सपनामा मात्रै देख्थी । उसले त्यस्तो सपना देख्दा बिहानै मलाई फोनमा गुनासो गर्थी, ‘आफू त सपना मात्रै देखेर मरिने भइयो ।’ उसलाई फकाउन मैले चाँडै बाइक किन्ने झुटो योजना सुनाउँथें ।
हुर्किदै गइरहेको हाम्रो प्रेमको बोटमा मेरो गरिबीले प्रहार गर्दै गयो । प्रेमको बोट हामी दुवैको थियो । तर गरिबीको प्रहारले म मात्रै ढल्दै थिएँ । एकपटक सेलफोन बेचेर उसलाई उपहार दिएँ । दोस्रोपटक दिदीले दिएको चाँदीको ब्रासलेट बेचें । तेस्रोपटक उसलाई उपहार दिनलाई मसँग बेच्ने कुरा केही थिएन । थियो त पुरै जिन्दगी, जुन अब उसले लिन्छे जस्तो मलाई लागेन। किनकी ऊ विस्तारै विस्तारै टाढिदैं थिइ । उसले फेसबुक डिएक्टिभ गरी । सीम पनि परिवर्तन गरी । मसँग सम्पर्क हुने सबै–सबै चिज बन्द गरी ।
समयको अन्तराल पछि ऊ अर्कैको डोली चढेर गइ । मलाई खबरसम्म नगरी गइ । सुनें, उसको दुलाहासँग धेरै धनसम्पत्ति छ रे । बाइक छ रे । प्रशस्त सुनका गहनाहरू छन् रे । तर कसैले पनि भनेनन्, ‘निताका दुलाहासँग उसलाई दिने प्रेमको ठूलो भकारी छ ।’
विवाहको केही दिन पछि, निताले फेसबूक एक्टिभ गरिछ। तर मेरो च्याटबक्सलाई उसले ब्लक गरेकी थिइ । त्यसैले मैले टाइपिङ्ग गरेको मेसेज गएन । उसले विवाहको फोटो राखेकी थिइ । ऊ सोह्रश्रिङ्गारमा खुब सजिएकी थिइ । खुशी देखिन्थी । लाग्यो, मैले भन्दा बढी खुशी त उसलाई अरु कसैले नै दिएको रहेछ । मनमनै उसको दुलाहालाई धन्यवाद दिएँ । तर मनले सहन कहाँ सक्छ र, आफ्नै प्रेमिका जो पराइ श्रिङ्गारबाट सिँगारिएकी थिइ । ‘बधाई छ’ मात्रै लेखेर सस्तो कमेन्ट गरें । गरीब थिएँ, कमेन्टमा पनि गरिबै साबित भइदिएँ । लेख्नुपर्ने कुराहरू र भन्नुपर्ने कुराहरू धेरै भए पनि दुई शब्दको कमेन्ट लेखेर मनलाई सान्त्वना दिन खोजें । लाग्यो, यसपाली मैले भावनाहरूको शब्दकोश पनि बेचिसकेछु । त्यसैले उसलाई बधाई दिँदा मुस्किलले दुई शब्द मात्रै भेटें ।
त्यसको केही दिनपछि उसले अर्को फोटो फेसबुकमा राखी । क्याप्सनमा लेखिएको थियो, ‘मी एन माइ हिरो विथ आउर बुलेट बाइक ।’ फोटोमा बुलेट बाइक टलक्क टल्किरहेको थियो । सायद नयाँ थियो । ढुङ्गाले हानेर पल्टाइदिऊँ जस्तै लाग्यो । तर यो त उसको खुशी पो हो । म कसरी उसको खुशीमा ढुङ्गा हिर्काउन सक्छु र ? उसको धेरै अघिदेखिको सपना पूरा भएको थियो । जुन सपना मसँग पूरा कहिल्यै नहुन पनि सक्थ्यो । केही दिनपछि फेरि उसले नयाँ स्कुटीसँगको फोटो फेसबुकमा राखेकी थिइ । शब्दकोश नै बेचिइसकेको मान्छे म, उसलाई कमेन्ट गर्ने शब्दहरू अब मसँग थिएनन् । उसलाई ब्लक गरिदिएँ । मैले उसैलाई ब्लक गरें, जो कुनैबेला मुटुकी भल्भ थिइ । जुन भल्भले अहिले मेरो होइन, अरु कसैको रगत मुटुमा सारिसकेको छ ।
उसलाई ब्लक गरेपछि केही दिन म बेखबर रहें । मलाई थाहा थियो, निताको दुलाहासँग धनको भकारी छ । सोचेको थिएँ, ऊसँग नितालाई खुशी राख्ने प्रेमको भकारी पनि छ । तर रहेनछ ।
एकदिन मेरो एउटा साथीले खबर ल्यायो । ‘निता दिदी हिजो भेटिनु भ’को थ्यो । कस्ती दुब्ली हुनुभएछ । पहिले त मैले चिन्नै नसकेको । तपाईंलाई धेरै सम्झिनु भको छ रे । फेसबूकको ब्लक क्यान्सिल गर्दिनुस रे ।’ साथीले सुनायो । एकवचन पनि नसोधेर बिहे गरेकी निताले मलाई कसरी सम्झिइ ? म अचम्मित भएँ । तैपनि फेसबुकबाट उसलाई अनब्लक गरेर रिक्वेस्ट पठाएँ । सँगसँगै मेसेज पठाएँ, ‘कस्तो छ तिमीलाई?’ रिक्वेस्ट एसेप्ट भएन, न त मेसेजको रिप्लाई नै आयो। प्रोफाइल खोलेर हेरें । दुईघण्टा अघि एउटा फोटो अपलोड गरेकी रहेछ । फोटो क्याप्सनमा लेखेकी थिइ, ‘सोचेजस्तो नहुँदो रहेछ जिन्दगी । आज थाहा पाएँ, कति चोखो रहेछ यो साडीले दिएको प्रेम । तर बिडम्बना ! यत्ति सत्य बुझ्नलाई पनि धेरै ढिला भइसकेको छ ।’ फोटोमा ऊ त्यही साडीमा थिइ, जुन मैले मेरो सेलफोन बेचेर उपहार दिएको थिएँ । भोलिपल्ट अखबारको गृहपृष्ठमा देखें, ‘श्रीमान श्रीमतीको विवादले श्रीमती आत्महत्या गर्न बाध्य ।’
अखबारको हेडलाइन मुनी उसैको फोटो थियो । आफ्नै घरको कुनै कोठामा ऊ झुण्डिएकी थिइ । सुनको सिक्री सजिएको उसको घाँटीमा त्यही साडीको सप्को बेरिएको थियो, जुन मबाट उपहार पाएकी थिइ । मेरा आँखा आँसुले जलाम्य भयो । मैले उसको त्यो फोटो धमिलो देख्दै गएँ । उसले मेरै उपहारलाई आत्महत्याको साधन बनाएकी थिइ । बुझ्न सकिनँ, त्यो उसको साडी प्रतिको प्रेम थियो या आक्रोश ? यो पनि बुझिनँ, उसलाई त्यो साडीले प्रेम दियो या घृणा ?

प्रकाशित मितिः   २३ मंसिर २०७४, शनिबार १६:२०