‘दिगो सरकारका लागि गठबन्धनलाई भोट’

साझा बिसौनी संवाददाता
सुर्खेत, २० कार्तिक ।
नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य एवम पूर्वमन्त्री यामलाल कँडेलले दिगो सरकार निर्माण र मुलुकको आर्थिक विकासका लागि एमाले र माओवादी केन्द्रसहितका वाम गठबन्धनका उम्मेदवारहरूलाई जिताउनैपर्ने धारणा राखेका छन् । एमाले र माओवादी केन्द्रको वीरेन्द्रनगर–४ स्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रदेशसभा सदस्यका लागि सुर्खेत क्षेत्र नम्बर २ को (क)बाट उम्मेदवार बनेका कँडेलले दिगो सरकार र विकासको लागि वामपन्थी गठबन्धनलाई भोट हाल्न मतदाताहरूलाई आग्रह गरे । मुलुकलाई यथास्थितिमा राख्ने वा अगाडि बढाउने भन्ने कुराको फैसला जनताहरूको निर्णयमा भर पर्ने भन्दै कँडेलले वाम गठबन्धनलाई जिताएमा मुलुक अगाडि बढ्ने बताए ।
यस्तै प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका नवराज रावतले मुलुकलाई अब समाजवादतर्फ लैजानुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि आगामी मंसिरमा हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारका पक्षमा मतदान गर्न सबैसँग अनुरोध गरे । नेकपा माओवादी केन्द्रका गंगाराम तिमिल्सेनाले वीरेन्द्रनगर–४ निवासी कँडेलले जितेमा प्रदेश नं. ६ कै मुख्यमन्त्री बन्ने भएकाले उनलाई मतदान गर्न अपिल गरे ।
वीरेन्द्रनगर–४ स्थित भैरव मन्दिरको प्राङ्गणमा भएको कार्यक्रम नेकपा एमाले शाखा कमिटीका अध्यक्ष नगेन्द्रसिंह ठकुरीको अध्यक्षतामा सम्पन्न भएको हो । साथै भेलाबाट नेकपा एमालेका जिल्ला कमिटी सदस्य हरिहरनाथ योगीको संयोजकत्वमा पाँच सय पाँच सदस्यीय चुनाव–प्रचार समिति गठन गरिएको छ । जसको सह–संयोजकमा माओवादी केन्द्रका दिपु सार्की रहेका छन् ।
यसैबीच निर्वाचन क्षेत्र नं. २ को (ख) मा गठबन्धनलाई जिताउन प्रचार–प्रसार समिति गठन गरिएको
छ । प्रदेशस्तरीय संयुक्त कार्यकर्ता भेलाबाट नेकपा एमाले सुर्खेतका सचिव मोहन बडुवालको संयोजकत्वमा प्रचार–प्रसार समिति गठन गरिएको हो ।

प्रकाशित मितिः   २१ कार्तिक २०७४, मंगलवार १५:०५