बहाना बनाउँदै ठेकेदार कम्पनी
सविता जिसी
सुर्खेत, १९ कार्तिक ।
वीरेन्द्रनगरमा निर्माणाधिन चारलेन सडक आउँदो असारभित्र निर्माण भइसक्नुपर्नेछ । ठेकेदार कम्पनीसँग भएको सम्झौता अनुसार अबको आठ महिनामा यो सडकको सबै काम सम्पन्न भएर हस्तान्तरण हुनुपर्नेछ । तर हालसम्मको निर्माण प्रगति हेर्दा तोकिएको मितिमा यो सडक निर्माणको काम सम्पन्न हुने अवस्था छैन ।
रत्नराजमार्ग अन्तर्गत धुलियाविटदेखि बाङ्गेसिमलसम्म जोड्ने ६ दशमलव २५ किलोमटिर सडकलाई चारलेनको बनाउन थालिएको छ । निर्माण सम्झौता भएको करिब डेढ वर्षमा जम्मा एक तिहाइ काम मात्र सम्पन्न भएको छ । सम्झौता अनुसार सडक हस्तान्तरण हुन अब आठ महिनामात्र बाँकी रहँदा अझैं निर्माणको दुई भाग काम बाँकी नै रहेको छ । यही गतिमा काम भए आउँदो असारभित्र निर्माणको काम सम्पन्न हुने कुनै छाँट देखिदैंन । सम्झौता अनुसार ठेकेदारले काम नगर्दा यो सडक निर्माणमा ढिलाइ भइरहेको छ । यसले सर्वसाधारणलाई अहिले सास्ती र निराशा मात्र दिएको छ ।
वीरेन्द्रनगरको प्रतिष्ठाको रूपमा लिइएको यो सडकमा अहिले धुलियाविटदेखि सञ्चय कोषसम्मको क्षेत्रमा पहिलो चरणमा काम सम्पन्न भइसकेको छ । पहिलो चरणमा धुलियाविटदेखि कर्मचारी सञ्चय कोषसम्मको तीन किलोमिटर चार सय मिटर सडक निर्माणको जिम्मेवारी आशिस निर्माण कम्पनीले लिएको थियो । यो कम्पनीले अहिले काम सकेको छ । तर यही सडकको सञ्चय कोषदेखि बाङ्गेसिमलसम्मको दुई किलोमिटर आठ सय मिटरको सडक निर्माणको ठेक्का स्वच्छन्द÷श्याम एण्ड शंकर जेभीले लिएको छ । निर्माण कम्पनी र सडक डिभिजन कार्यालयबीच भएको सम्झौताअनुसार यो खण्डमा हालसम्म जम्मा ४० प्रतिशत काम भएको छ ।
सुस्त गतिमा भइरहेको निर्माण कार्यले यही खण्डमा सार्वसाधारण र यात्रुलाई बढी सास्ती भइरेको छ । सम्झौता भएको डेढ वर्ष बितिसक्दा जम्मा ४० प्रतिशत मात्र काम सकिएको छ । जेभी कम्पनीले १४ करोड ४० लाख ४१ हजार पाँच सय ९१ रूपैयाँ सम्झौतामा काम थालेको हो । सम्झौता अनुसार ठेकेदार कम्पनीले २०७५ असार २७ गतेभित्र यो सडक हस्तान्तरण
गर्नुुपर्नेछ । तर डेढ वषसम्म जम्मा ४० प्रतिशत काम भएकोमा अब आठ महिनाभित्र बाँकी ६० प्रतिशत काम हुनेमा आंशका उत्पन्न भएको छ । हाल निर्माण भइरहेको सञ्चय कोषदेखि सिद्धार्थ होटलसम्मको खण्डमा नाला निर्माण र माटो विच्छ्याउने काम मात्र भएको छ । अर्कोतर्फ सडकको तेस्रो खण्ड अन्तर्गत सिद्धार्थ होटलदेखि बाङ्गेसिमलसम्मको क्षेत्रमा काम नै सुरु भएको छैन । निर्माणको गति सुस्त भएकाले पनि समयमै काम सम्पन्न हुने देखिदैंन ।
प्रदेश नम्बर ६ को सम्भावित राजधानीका रूपमा लिइएको वीरेन्द्रनगरको सहरीकरण अवधारणा अनुसार २०७२ जेठमा चारलेन सडक निर्माणका लागि विस्तृत सर्वे गरिएको थियो । सर्वे प्रतिवेदन बुझाए पश्चात् नेपाल सरकारको पहिलो प्राथमिकतामा परेको चारलेन सडक निर्माणको काम थालिएको हो । एकै पटकमा चार वटा ठूला सवारी साधनहरू आवत–जावत गर्न सकिने सुविधा सम्पन्न यो सडकको चौडाइ १५ मिटर हुनेछ । सडक निर्माणका लागि २०७३ असारमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार आउँदो असारमा सडक हस्तान्तरण हुनुपर्ने उल्लेख छ । तर ठेकेदारले निर्माणमा लापरबाही गरेका कारण अपेक्षा अनुसार काम हुन सकेको छैन ।
दोस्रो खण्डमा ४० प्रतिशत काम
यो सडक तीन चरण गरेर निर्माण हुँदैछ । पहिलो चरण अन्तर्गतको धुलियाबिटदेखि संचय कोषसम्म पहिलो चरण अन्र्तगत सडक निर्माण सम्पन्न भएको हो । अहिले दोस्रो खण्डाको काम भइरहेको छ । यद्यपि यो खण्डको काम एकदम सुस्त छ । यस्तै तेस्रो चरण अन्र्तगत सिद्धार्थ होटल नजिकैको चोकबाट बाङ्गेसिमलसम्मको खण्डमा निर्माणको सुरु नै भएको छैन ।
सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर लक्ष्मण रावलले दोस्रो खण्डमा हालसम्म ४० प्रतिशत मात्र काम सम्पन्न भएको बताए । उनका अनुसार अझै ६० प्रतिशत काम बाँकी नै छ । सडक डिभिजन कार्यालयले समयमै काम सक्ने ठेकेदार कम्पनीलाई निर्देशन दिइएको जनाएको छ । तोकिएको समयमै काम सम्पन्न गराउन अनुगमन भइरहेको समेत कार्यालयको दाबी छ ।
नागरिकको स्वास्थ्यमा खेलवाड चारलेन
सडक निर्माणमा चरम लापरबाही गरिएको छ । सडक निर्माणमा भइरहेको लापरबाहीका कारण सडक वरपरका बासिन्दा र यात्रुको स्वास्थ्यमा गम्भिर असर पुगेको छ । सडक निर्माणमा भइरहेको ढिलाइ र धुलो नियन्त्रण नगर्दा सर्वसाधारणले सास्ती व्येहोर्नु परेको हो । सडक निर्माणका कारण त्यस क्षेत्रमा उड्ने धुलो र माटोका कणले गर्दा स्थानीय बासिन्दा बिरामी हुनेक्रम बढेको छ ।
सडक निर्माणमा भइरहेको लापरबाही र भोग्नु परेको सास्तीका कारण स्थानीयले पटक–पटक आन्दोलन पनि गरे । तर निर्माण कम्पनीले त्यसको कुनै सुनुवाइ गरेका छैनन् । निर्माणको काम गर्दा सामान्य अवस्थामा निर्माण जिम्मा पाएको कम्पनीले स्थानीयलाई प्रतिकूल हुने गरी निर्माण नगर्ने शर्तमा हस्तारक्षर गरेका हुन्छन् । निर्माण कम्पनीले स्थानीय जनताको स्वास्थ्य तथा आवगमनलाई ध्यानमा राखेर निर्माण गर्नुपर्ने हुन्छ । तर यो सडक निर्माणका क्रममा फालिएको माटोको धुलोलाई न्यूनीकरण नगरी जनताको स्वास्थ्यमा निर्माण कम्पनीले चरम खेलवाड गरिरहेको छ ।
सडक निर्माणमा ढिलाइ हुँदा छेउछाउका पसल तथा घरभित्रै धुलो भरिएको छ । जसले गर्दा स्थानीयमा विभिन्न प्रकारका रोगहरूको संक्रमण देखिएको छ । धुलोका समस्याले घरपिच्छे छाला रोग, आँखा पाक्ने, रुघाखोकी र घाँटीको समस्याबाट स्थानीय बासिन्दा पीडित बनेका छन् । सडक निर्माणमा भएको लापरबाहीले राजमार्गमा ओहोरदोहोर गर्ने यात्रुकोसमेत विजोग छ । वर्षाता हिलो र सुख्खा मौसममा धुलोका कारण सर्वसाधारण मारमा परेका छन् । यसतर्फ निर्माण कम्पनीले ध्यान दिएको छैन ।
चाँडो सक्न स्थानीयको माग
सडक निर्माणमा भइरहेको ढिलाइले आफूहरूलाई सास्ती भएको भन्दै स्थानीयले चाँडो काम सक्न माग गरेका छन् । कामको ठेक्का लिने तर समयमा काम नगर्ने ठेकेदारका कारण आफूहरू हैरान भएको भन्दै उनीहरूले निर्माणको काम चाँडो सक्न माग गरेका हुन् ।
‘घर बाहिरको त कुरै छाडौं, घरभित्रसमेत धुलोले बस्न सकिदैन’ वीरेन्द्रनगर निवासी सीता सुनारले भनिन्, ‘काम सुरु गरेको देखाएका छन्, कामको गति सुस्त छ । यसले हामीलाई हैरान बनायो, धुलाले सास फेर्नै मुस्किल भयो ।’ उनले निर्माणको काममा लापरबाही हुँदासमेत सरकारी निकायले चासो नदिएको दुखेसो पोखिन् । अर्कोतर्फ सडक निर्माणमा ढिलाइ भएका कारण दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । यही सडकमा अटोरिक्सा चलाउँदै आएको रत्नबहादुर पुन भन्छन्, ‘सडकमा माटो र ढुङ्गा थुपारेको धेरै भयो, अहिलेसम्म काम गरेका छैनन् । सडकमा सवारी चलाउनै कठिन छ, खाल्डा र साँघुरो हुँदा दुर्घटनाको त्रास छ । उनले पनि सडकको काम छिटो सक्न आग्रह गरे ।
ठेकेदार कम्पनीको वहाना
यता ठेकेदार कम्पनीले पनि निर्माणको काममा ढिलाइ हुनुमा विभिन्न वहाना देखाउँदै आएका छन् । निर्माण सामग्रीको अभाव, नाकावन्दी, वर्षात र चाडपर्वका कारण समयमा नै काम गर्न नसकिएको ठेकेदारको भनाइ छ । अब भने सडक निर्माणको कामले गति लिने कम्पनीको दाबी छ ।
आफूहरूले सडक निर्माण कार्य दु्रत गतिमा अगाडी बढाउने निर्माण कम्पनीका कलम केसीको भनाइ छ । तोकिएकै सयममा काम सम्पन्न गर्ने उद्देश्यसहित निर्माणका लागि आवश्यक कामदार परिचालन गरिएको उनले बताए । दशैं, तिहार र वर्षाका कारण दुई महिना सडक निर्माणको काम रोकिएको भन्दै उनले अब कामगले गति लिने जनाए । टेलिफोन र विद्युतका पोल हटाउनका लागि नेपाल टेलिकम र विद्युत प्राधिकरणसँगको समन्वय भएको र अब निर्माणको गति बढ्ने उनको भनाइ छ ।
(क्रियाशील पत्रकार मञ्च नेपालका लागि)
प्रकाशित मितिः २० कार्तिक २०७४, सोमबार १५:०२
साझा बिसौनी संवाददाता ।