अभिभावकसँगै जेलभित्र सजाय काट्दै निर्दोष बालिकाहरू

गीता थापा
सुर्खेत, ११ कार्तिक ।
चारैतिर काँडेतारले घेरिएका अग्ला पर्खाल । फलामको सरियाले बनेको एउटा मात्र गेट । त्यही गेटबाट उनीहरू बाहिर निस्कने प्रयास गर्छन् । तर फलामे गेटमा सधैं झुण्डिरहने ठूला तालाले उनीहरूको पाइला रोकिदिन्छ । तर पनि उनीहरूले हरेक दिन त्यही गेटबाटै बाहिरी संसारलाई नियाल्ने पर्यत्न जारी राखेका छन् ।


सुर्खेतको भेरीगंगा नगरपालिकामा घर भएका दुई वर्षिया नितु विक र सुष्मा पाण्डेले बाहिरी संसारलाई नियाल्न पाएका छैनन् । उनीहरूको तोते बोली, चञ्चले स्वभाव र वालापनका सबै जिज्ञासाहरू अग्ला पर्खालभित्रै खुम्चिएका छन् । आमाबाबुले गरेको गल्तीका कारण यी दुई नाबालिकाहरू पनि अहिले सुर्खेत कारागारभित्र थुनिएका छन् । बिना गल्ती र अपराध कारागारभित्र पुगेका नितु र सुष्मालाई त्यहाँको बसाई पट्यारलाग्दो बनेको छ । बाहिरी संसारसँग घुलमिल भएर विद्यालय जाने बेलामा यी बालिकाहरू भने आमाबाबुको गल्तीमा जेलभित्र सजाय काट्न बाध्य छन् ।
बाहिरी संसारमा जन्मिएका भए पनि उनीहरू जेलभित्रै हुर्किदै गएका छन् । पाँच महिनाकी हुँदा जेलभित्र पुगेकी नितुले बाहिरी संसार देख्न नपाएको ११ महिना भयो । आमाको काखमै कारागारभित्र पुगेकी सुष्मा बाहिर निस्कन नपाएको दुई वर्ष विते । नितु र सुष्मासँगै जन्मिएका साथीहरू भने नर्सरीमा पढ्ने भइसके । तर उनीहरू भने काँडेतारले घेरिएको कारागारभित्र न्याय खोजिरहेका छन् । अपराध गरेर अभिभावक थुनिएको र घरमा रेखदेख गर्ने कोही नभएपछि दुबै जना जेलभित्रै बस्न बाध्य भएका हुन् । अपराध बिना नै सजाय भोग्न बाध्य उनीहरू न्यायको आशमा पटकपटक गेटसम्म आउँछन् । गेटमा न्यायको भिख माग्दै गरेका उनीहरूको आवाज न कसैले सुन्छ, न त कसैले उनीहरूको भावना बुझिदिन्छन् । गेटबाहिर आउन नसकेपछि उनीहरू निराश हुँदै पुनः भित्रै फर्कने गरेका छन् ।
भेरीगंगा नगरपालिकाको मैनतडामा घर भएका आमा प्रमिसा विक र बाबु खिमबहादुर विकले गरेको गल्तीमा दुई वर्षिया नितु सजाय भोग्दै छिन् । बहुबिवाहको मुद्दामा जिल्ला अदालतले कैद सजाय तोकपछि खिमबहादुर र प्रमिसा कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् । घरमा कोही अभिभावक नभएपछि उनीहरूले छोरी नितुलाई पनि जेलभित्रै लगेका छन् । बाबुआमाले कैद सजाय काट्ने अवधी बाँकी नै रहेकाले नितुले पनि अझैं जेलभित्रै विताउनुपर्ने अवस्था छ । यसले उनको पढ्ने अधिकार कुण्ठित भएको छ । जेलभित्रै हुर्किएकी नितुले बाहिरी संसार कस्तो छ भन्ने अनुभूतिसम्म गर्न पाएकी छैनन् । अभिभावकको गल्तीका कारण नितुको सुन्दर भविष्य थप अन्योलमा परेको छ ।
भेरीगंगा नगरपालिकाकै चन्द्रकला पाण्डेले गरेको गल्तीमा सुष्माले सजाय भोगी रहेकी छिन् । सुष्माकी आमा चन्द्रकला पाण्डे दुई वर्षअघि छिमेकीको घरमा आगो लगाएको अभियोगमा जेल चलान भएकी थिइन् । छिमेकीले घरमा आगो लगाइदिएको उजुरी दिएपछि जिल्ला अदालत सुर्खेतले चन्द्रकलालाई कैद सजाय तोकेको छ कैद भुक्तान गर्न उनी दुई वर्षदेखि जिल्ला कारागार सुर्खेतमा छन् । संरक्षण गरिदिने कोही नभएपछि सुष्मा आमासँगै कारागारमा पुगेकी हुन् । उनको पनि नर्सरीमा पढ्ने उमेर भइसकेको छ । तर उनी कारागारभित्र अग्ला पर्खाल हेरेर बस्न बाध्य छन् । बालिकालाई संरक्षण गरिदिने अभिभावक नहुँदा समस्या भएको कारागारले जनाएको छ ।
कारागारको सुरक्षामा रहेका प्रहरी सहायक निरिक्षक रेशमलाल चौधरीले भन्छन्, ‘बाहिर पठाउँदा संरक्षण गरिदिने कोही छैन, तत्कालका लागि आमासँगै राख्नुपर्ने बाध्यता भयो । कुनै संघसंस्थाले उद्धार गरिदिए हुन्थ्यो, बालिकाले शिक्षा त पाउने थिए ।’ चौधरीका अनुसार जिल्ला कारागारमा अहिले १७ जना महिला र दुई जना बालिका रहेका छन् । यसैबीच कारागारमा १५ जना कैदी राख्ने क्षमता भए पनि हाल एक सय ७५ जना पुरुष, १६ जना महिला कैदी र दुई बालिका गरी एक सय ९४ जना रहेका छन् । महिलाका लागि दुई कोठा र पुरुषका लागि सात वटा कोठा भए पनि एउटा कोठामा १२ जना भन्दा धेरै सुत्न बाध्य छन् । कोठामा नअटाएपछि पुरुष कैदीहरू त्रिपाल टाँगेर सुत्न बाध्य छन् । क्षमताभन्दा बढी कैदी भएपछि कारागारमा व्यवस्थापनामा पनि समस्या भएको छ ।

सुर्खेत ः अभिभावकसँगै सुर्खेत कारागारमा सजाय काट्न बाध्य बालिकाहरू ।

प्रकाशित मितिः   १२ कार्तिक २०७४, आईतवार १५:३१