‘सुर्खेतलाई आर्थिक रूपमा सवल बनाऔं’

सुर्खेत, १० कार्तिक ।
प्राकृतिक स्रोत र खनिजको प्रयोग गर्न सकिए सुर्खेतसँगै सिंगो प्रदेश नम्बर ६ लाई नै आर्थिक रूपले आत्मनिर्भर बनाउन सकिने एक कार्यक्रमका सहभागीले बताएका छन् । शुक्रवार सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।


यो प्रदेशको राजधानी बन्ने तयारीमा रहेको सुर्खेतलाई पूर्वाधारसँगै आर्थिक रूपले पनि सम्पन्न बनाउनुपर्नेमा उनीहरूले जोड दिए । उद्योग वाणिज्य संघले आयोजना गरेको नेपाली सेनाको उत्तरपश्चिम पृतनापति उपरथी कर्नेन्द्रविक्रम लिम्बु, जिल्ला समन्वय समिति संयोजक छविलाल सिग्देल र प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीको जिल्लामा स्वागत तथा परिचयात्मक कार्यक्रममा यस्तो बताइएको हो ।
सो अवसरमा जिससका संयोजक सिग्देलले कृषि, पर्यटन, प्राकृतिक स्रोत र खानी खनिज नैप्रदेशको बलियो पूर्वाधार भएको बताए । प्रदेशको राजधानीका साथै कर्णाली प्रवेशको मुख्य नाका भएका कारण पनि सुर्खेतले सिंगो प्रदेशको समृद्धिको नेतृत्व गर्नुपर्ने र त्यसका लागि समन्वय गर्न आफू तयार रहेको उनको भनाइ छ । भेरी–बबई डाइभर्सन, माथिल्लो कर्णाली लगायतका ठूला र महŒवपूर्ण आयोजनाको आधार केन्द्र पनि सुर्खेत नै भएको उल्लेख गर्दै उनले अब जतिसक्दो छिटो चौकुने सिमेन्ट कारखाना सञ्चालनमा ल्याउन संघले दबाबमूलक भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।
यस्तै प्रमुख जिल्ला अधिकारी कार्कीले सिंगो राष्ट्रकै आर्थिक मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रसँगको सहयोग र सहकार्य निरन्तर रहने बताए । संघका अध्यक्ष प्रकाश अधिकारीले निजी क्षेत्रको प्रतिनिधित्व गर्ने संस्था भए पनि संघले सामाजिक गतिविधिलाई पनि उत्तिकै प्राथमिकतामा राखेर कार्य गर्दै आएको उल्लेख गरे । सुर्खेत जिल्लाका साथै सिंगो प्रदेशको आर्थिक उन्नति र विकासका लागि संघले विगतदेखि नै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जिकिर गर्दै उनले संघका विभिन्न गतिविधिबारे जानकारी गराए ।
संघका वाणिज्य उपाध्यक्ष धनबहादुर रावतले राजनीतिक अस्थिरता र संक्रमणलीन अवस्थाका कारण निजी क्षेत्रले विगतमा सोचे अनुरूप फड्को मार्न नसके पनि पछिल्लो समय परिस्थिति केही सहज बन्दै गएको बताए । महासचिव गोपालकृष्ण गिरीले निजी, सरकारी र सहकारीको सहकार्यबाट नै मुलुक आर्थिक रूपले समृद्ध हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् प्रदेश अध्यक्ष पदमबहादुर शाही, संघका पदाधिकारी एवम् सदस्य, वस्तुगत समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ११ कार्तिक २०७४, शनिबार १५:३७