‘चिठ्ठीको जवाफ नआएपछि घरमै गएँ’
जीवन पनि रथ जस्तै हो । रथ चल्न दुई पांग्रा चाहिन्छ । जीवन चलाउन पनि जीवनसाथीको आवश्यकता हुन्छ । दुई पांग्राले एकै साथ रथलाई गुडाए जस्तै ओमदत्त रेग्मी र सुधा रेग्मीले पनि जीवनलाई सँगसँगै गुडिरहेको छ । जीवनसाथीको सहारा विना जीवन अधुरो हुन्छ । एक्लै बिताएको जीवन भन्दा जीवनसाथीसँग बिताएको जीवन कयौं गुणा फरक हुन्छ । यस्तै फरक जीवन जिउने अविलाशामा रेग्मी पनि जीवनसाथीको खोजीमा थिए ।
उनी काठमाडौंमा इन्जिनिरिङ्ग पढ्दै थिए । घरमा उनको आमा मात्र एक्लै भएका कारण आमाको लागि भए पनि बिहे गरेर साथी छोड्नुपर्ने थियो । उनीसँगै पढ्ने साथीको बहिनीनीसँग उनको बिहेको कुरा साथीमार्फत् चल्यो । उनको बिहेको कुरा चलेको केटी अरु कोही नभएर सुधा थिइन् । रेग्मी जन माविमा पढ्दा सुधा पनि त्यहीं पढ्थिन । दुई ब्याज अघि थिए रेग्मी । तर दुवैले एकअर्काेलाई पहिला नै देखेका थिए ।
रेग्मीले सुधालाई पहिलो चिठ्ठी पठाए त्यो पनि प्रेम प्रस्ताव राखेर । तर सुधाले त्यसको जवाफ केही पनि फर्काइनन् । रेग्मीले तीन वटासम्म चिठ्ठी पठाए । त्यसबेला मोबाइल फोनको व्यवस्था थिएन । चिठ्ठीमा रेग्मीले आफ्नो मनको सबै कुरा भनिसकेका थिए । त्यस समयमा केटाकेटीले मन पराए पनि घरमा माग्न जाने चलन थियो । रेग्मी पनि सुधाको हात माग्न उनको घर गए । सुधाको माइती पनि रेग्मीसँग सुधाको बिहे गर्न मन्जुर भए । उनीहरूको २०३४ सालमा मागी विवाह भयो ।
पिता गोपाल प्रसाद रेग्मी र माता मना रेग्मीको कोखबाट २०१३ सालमा सुर्खेतको कटकुवामा जन्मिएका ओमदत्त रेग्मीको बाल्यकाल रमाइलोसँग बित्यो । घाँस दाउरासँगै बाल्यकाल बिताएका रेग्मीलाई बाल्यकालदेखि नै साथीहरूसँग दिन बिताउन र खेल्न मन पथ्र्यो । उनी बाल्यकालमा अलि चकचके स्वभावका थिए । कक्षा पाँचसम्म ईत्राम स्कुलमा पढेका रेग्मीले एसएलसी पास भने जन माविबाट गरे ।
नेपालगन्जमा शिक्षा पढेका रेग्मीले सिरूपाटा स्कुलमा एक वर्ष अध्यापन पनि गराए । जिल्लामा नै ओभरसियर पढ्ने पहिलो व्यक्ति रेग्मी सरकारी सेवामा प्रवेश गरे । ३३ वर्ष स्थायी जागिर गरेका उनले शिक्षक पेसाको अनुभवसमेत समेट्न पाए । सरकारी जागिर सकिएपछि उनी समाज सेवामा लागे । २०७२ सालमा झुप्रा बृहत खानेपानीमा सदस्यको रूपमा निर्वाचित भए । अहिले उनी विवेकशील साझा पार्टीको सुर्खेतको जिल्ला संयोजकको रूपमा रहेर काम गरिरहेका छन् ।
विवाहपछि रेग्मी फेरि काठमाडौं पढ्न गए । घरमा एक्ली सासु भएका कारण सुधालाई नै घरको सबै जिम्मेवारी आइप¥यो । एक त विवाहपछि छोरीबाट बुहारी हुँदाको अनुभव नै फरक हुन्छ त्यसैमा झन् नयाँ घरको सबे जिम्मेवारी सम्माल्नु पर्दा सुरु सुरुमा सुधालाई गाह्रो नै भयो । सुधालाई मात्र होइन हरेक छोरीहरूको लागि बिहे गरेर गएपछिको घर आफ्नो बनाउन समय
लाग्छ । नयाँ नाता, नयाँ सम्बन्ध, नयाँ रितिरिवाजदेखि रहेक कुरा नयाँ हुँदा आफूलाई त्यसमा घुमिल बनाउन समय लाग्ने नै गर्छ । पुराना सम्बन्धलाई पराइ बनाउँदै नयाँ सम्बन्धलाई नजिकको बनाउन चुनौती नै हुन्छ । तर सुधालाई घरमा माया गर्ने सासु भएकाले त्यति गाह्रो भने भएन ।
पिता सत्तकुमार भट्ट र माता कष्णादेवी भट्टको कोखबाट २०१६ सालमा भारतमा जन्मिएकी सुधा रेग्मीको बाल्यकाल रमाइलोसँग बित्यो । प्राविसम्मको पढाइ भारतमा गरेकी सुधाले जनमाविमा कक्षा ९ सम्म पढिन् । प्राइभेट स्कुलबाट एसएलसी पास गरेकी सुधाले बीएडसम्म पढिन् । अहिले उनी ईत्राम स्कुलमा अध्यापन गराउँछिन् । उनले स्काउटमा भाग लिएर धेरै समय समाजसेवा गरिन् । अहिले पनि टेर्नरको रूपमा काम गर्दैछिन् ।
उनी घरको कामदेखि जागिर सकेर समाजसेवामा समेत लाग्न भ्याउँथिन् । घरको काम धेरै जसो रातीको समयमा सकेर दिउँस काममा जान्थिन् । छोरा छोरीलाई डोरीले खुट्टामा बाँधेरसमेत घरको काम गर्ने गर्थिन् । विवाहपछि यो जोडीको कहिले काहीं सामान्य झगडा भए पनि लामो समयसम्म रिसाउने गरेर झगडा भने भएको छैन । उनीहरू भन्छन्, ‘सम्बन्धमा शंका उपशंका उत्पन्न भयो भने न हो झगडा हुने हामीबीचमा त्यस्तो झगडा अहिलेसम्म भएको छैन ।’ सम्बन्ध दियो र मजबुद बनाउन एकआपसमा सझदारी हुन आवश्यक हुन्छ । जब सम्बन्धमा सझदारी नै छैन भने त्यो सम्बन्ध क्षणिकको लागि मात्र हुन्छ, दिगो हुन सक्दैन ।
यो जोडीसँगै थोरै ठाउँमा मात्र घुम्न गएका छन् । आ–आफ्नो काम विशेषले एक्लै–एक्लै धेरै ठाउँमा घुमेका उनीहरूसँगै घुम्न जाने फुर्सद नभएको बताउँछन् । सुधालाई घरमा काम गर्दा रेग्मीले फुर्सद भएसम्म सघाउने गर्छन् । रेग्मीलाई भान्साको काम गर्न रुची भएकाले उनी भान्सामा पनि काम गर्न सघाउने गर्छन् ।
यो जोडी एकअर्काेको प्रशंसा पनि गर्छन् । रेग्मीलाई सुधाको मेहेनती, जे काम गर्दा पनि ध्यान दिएर काम गर्ने बानी मनपर्ने गर्छ । सुधा बोल्दा अलि कुरा नमिलाएरै मनमा जे छ मुखले नि त्यही बोलिहाल्ने बानी भने रेग्मीलाई अलि मनपर्दैन । त्यस्तै सुधालाई पनि रेग्मीको धेरै नरिसाउने र रिसाए पनि एकैछिनमा बोली हाल्ने बानी मनपर्ने गर्छ । समयको सही सदुपयोग गर्ने बानी पनि सुधालाई मनपर्ने गर्छ । सुधालाई कहिले काहीं काम अलि कम गरेर आफ्नो स्वास्थ्यको पनि ख्याल गरेको भए हुन्थ्यो जस्तो लाग्ने गर्छ । उनी भन्छिन्, ‘आफ्नो स्वास्थ्यको भन्दा बढी कामलाई प्राथमिकता दिनुहुन्छ अब त बुढेसकालमा काम भन्दा आफ्नो स्वास्थ्यलाई ध्यान बढी दिएको भए हुन्थ्यो जस्तो लाग्छ ।’
उनीहरूको विचारमा जीवन भनेको काम हो । जीवनमा मेहेनत र परिश्रम गर्न नसक्ने व्यक्तिले जीवन जिउन जान्दैन । जीवन त मेहेनत र परिश्रममा नै जिउन मज्जा आउने उनीहरूको भनाइ छ । जीवन गतिशील हुन्छ त्यो गतिशीलतालाई आफूले पछ्याउन सकिएन भने जीवनमा पछुताउनुपर्ने उनीहरूको भनाइ छ । उनीहरू भन्छन्, ‘जीवनसाथी भनेको एकअर्काेको परिपूरक हुन्, जो एक विना अर्कोको जीवन सम्भव छैन ।’ जीवनसाथी नै यस्तो साथी हो जसले जीवनको हरेक मोडमा आइपर्ने दुःख–सुखलाई नजिकबाट नियालेर बुझ्छ र सहयोग गर्छ । जीवनसाथी मात्र यस्तो साथी हो जोसँग मनका सबै कुरा शेयर गर्न सकिन्छ । जीवनसाथी दुःख–सुख बिसाउने चौतारी पनि हुन् । बसैसँग बाँड्न नसकिएको दुःख बाँड्न सकिने कसैसँग साट्न नसकिएको सुख साट्न सकिने साथी नै जीवनसाथी हुन् ।
यो जोडीका अनुसार प्रेम जोसँग पनि गरिन्छ । प्रेम व्यक्ति पिच्छे फरक हुन्छन् । बच्चालाई गर्ने प्रेम, जन्मदिने बाबुआमालाई गरिने प्रेम, भाइबहिनीलाई गरिने प्रेम, प्रेमिकालाई गरिने प्रेम र जीवनसाथीलाई गरिने प्रेम फरक–फरक हुन्छन् । प्रेम र विवाहलाई एकै रफ्तारमा लैजान सके विवाह सम्भव र सफल हुन्छ । यदि प्रेम र विवाहलाई एकै रपतारमा लैजान नसके कि प्रेम छुट्छ कि विवाह । त्यसैले विवाह र प्रेमलाई एकै रफ्तारमा अघि बढाउनुपर्छ ।
कम समयमा पनि धेरै कुरा सम्भव गराउन सकिने उनीहरूको भनाइ छ । उनीहरू भन्छन्, ‘अहिलेका युवा पिंढीहरू काम भन्दा बढी मोजमस्तीमा व्यस्त हुन्छन् तर, अहिले मेहेनत गर्न नसके पछि दुःख पाइन्छ त्यसैले युवा अवस्थामै जीवन सही बाटोमा लगाउनुपर्छ ।’ उनीहरू प्रेम र विवाहको अर्थ बुझेर मात्र विवाह गर्न युवा पिंढीलाई सुझाव दिन्छन् । समाजमा एक उदाहणीय पात्रका रूपमा स्थापित भएका यो जोडी एकअर्काेलाई सम्मान गर्न सक्नुपर्ने बताउँछन् ।
साझा बिसौनी संवाददाता ।