गौचन हत्याको विरोधमा ज्ञापनपत्र

सुर्खेत, २६ असोज ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारालाई तत्काल पक्राउ गर्न सुर्खेतका निर्माण व्यवसायीहरूले माग गरेका छन् । उनीहरूले हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।


निर्माण व्यवसायी एकता समाज सुर्खेतले दोषीलाई कारबाहीको माग राख्दै बिहीवार सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । अध्यक्ष गौचनको असोज २३ गते काठमाडौंमा अज्ञात समूहले गोली हानी हत्या गरेको घटनाले आफूहरू असुरक्षित रहेको भन्ने प्रष्ट भएको निर्माण व्यवसायी एकता समाज सुर्खेतका महासचिव हर्षविक्रम खड्काले बताए । उनले हत्यारा तत्काल पत्ता नलगाए आफूहरू कडा आन्दोलनमा उत्रिने चेतानावीसमेत दिएका छन् । खड्काले सबै व्यवसायीहरूको शान्ति सुरक्षाको ग्यारेन्टी गर्नसमेत प्रशासनसँग माग गरेका छन् ।

प्रकाशित मितिः   २७ आश्विन २०७४, शुक्रबार १६:०४