‘प्रदेश ६ को विकास गर्ने जिम्मेवारी माओवादीको काँधमा’

सुर्खेत, ९ भदौ ।
नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर ६ को विकास र समृद्धिको मुख्य जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको जनाएको छ । यो प्रदेश जनयुद्धको उद्गमस्थल भएको र पार्टीको प्रभाव पनि बलियो भएकाले अब विकास आयोजनाहरू यही प्रदेशमा केन्द्रित गर्ने माओवादी नेतृत्वले जानकारी दिएको छ । प्रदेशसभाको चुनावपछि यो प्रदेशको विकासमा कुनै कसर बाँकी नराख्ने माओवादीको भनाइ छ ।


पार्टीको प्रदेश नम्बर ६ को बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन शुक्रवार वीरेन्द्रनगर आएका माओवादी नेताहरूले यहाँको विकास र समृद्धिका लागि पहल गर्ने बताए । ‘यो प्रदेश ठूलो छ, यहाँ गरिबी र अभाव पनि छ’ माओवादी अध्यक्ष प्रचण्डले भने, ‘यो प्रदेशमा हाम्रो पार्टीको प्रभाव पनि राम्रो छ, प्रदेश सरकार हाम्रै नेतृत्वमा बन्नेछ । यहाँ ठूला आयोजनाहरू सञ्चालन गर्नेछौं, यो प्रदेशको विकास गर्ने जिम्मेवारी माओवादीको काँधमा नै छ ।’ प्रदेश ६ को विकासका लागि माओवादी गम्भीर रहेकोसमेत उनले जनाए ।
जलविद्युत, पर्यटन र जडिबुटीमा लगानी गर्नुपर्ने भन्दै उनले यो प्रदेशको समृद्धि नै माओवादी आन्दोलनको उपलब्धी हुने उल्लेख गरे । गरिबीसँग नै माओवादीको भावनात्मक सम्बन्ध हुने भन्दै प्रचण्डले यो प्रदेशको विकासमा आफ्नो पार्टी गम्भीर रहेको बताए । साथै उनले प्रदेशको चुनावपछि यो प्रदेशमा आफ्नो पार्टीले नै सरकार बनाउने दाबी गरे । यसैबीच नेता र कार्यकर्ता अल्छी हुँदा दोस्रो संविधानसभा र स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको भन्दै माओवादीले अब हार्ने ठाउँ नै नभएको जनाएको हो । तल्लो तहसम्म हार व्यहोरिसकेको भन्दै माओवादीले अब तल जाने ठाउँ नै नभएकाले पनि माथि उक्लने दाबी गरेको हो ।
‘नेताहरू तल्लो तहमा पुगेनौं, कार्यकर्ताहरू गाउँ नै गएनन्’ प्रचण्डले भने, ‘हाम्रो संगठन नै कमजोर बन्यो, चुनावमा अपेक्षा गरेको नतिजा नै आएन ।’ आफ्नो पार्टीले तल्लो तहसम्मको हार व्यहोरिसकेको भन्दै उनले थपे, ‘आजसम्म जति हारियो–हारियो, अब हारेर यहाँभन्दा तल जाने ठाउँ नै छैन । प्रदेश र केन्द्रको चुनावमा हामी माथि नै उक्लने छौं, त्यसका लागि गणतन्त्र पक्षधरसँग चुनावी तालमेल हुनेछ ।’ पहिलो संविधानसभामा पहिलो पार्टी हुँदा बढेको अहंकारका कारण नै अहिले हार व्यहोर्नु परेको उनको भनाइ छ । पार्टीमा एकता अभियान सुरु भएकाले पनि अब माओवादीले जित्ने प्रचण्डको दाबी छ ।
प्रदेश र केन्द्रको चुनावमा मुद्दा मिल्नेसँग तालमेल गरेर अगाडि बढ्नेसमेत उनले जानकारी दिए । माओवादी गरीबको पार्टी भएको भन्दै उनले भने, ‘अब सबैले चुनाव लड्ने अवस्था रहेन, पूँजीपतिले मात्र चुनाव जित्ने भए । त्यसका अब लागि पूर्ण समानुपातिक चुनाव प्रणाली अपनाऔं, प्रत्यक्ष निर्वाचन प्रणाली खर्चिलो र पैसाको मात्र खेल भयो ।’ मंसिरमा प्रदेश र केन्द्रको चुनाव एकैपटक हुने भन्दै प्रचण्डले अहिले पनि देशमा चुनाव रोक्न विभिन्न षड्यन्त्र भइरहेको दाबी गरे । त्यसका लागि परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्ने बताए ।
प्रधानमन्त्रीको अभिव्यक्तिमा असन्तुष्टी
सत्ता साझेदार दल माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा संविधान संशोधनको विषयमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टी जनाएको छ । संसदबाट टुंगिसकेको मुद्दामा प्रधानमन्त्रीले छिमेकी देशमा गएर पुनः संशोधन प्रस्ताव पेश गर्ने अभिव्यक्ति दिनु गलत भएको माओवादीको भनाइ छ ।
वीरेन्द्रनगरमा प्रेस सेन्टरले शुक्रवार गरेको पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले भने, ‘संशोधनको मुद्दा संसदबाट टुंगिसकेको छ, अब कुनै पनि हालतमा यसमा पुनर्विचार हुँदैन । संसदबाटै फेल भइसक्यो, अब यो विषयमा कसैले बोल्नु पनि उचित हुँदैन ।’ सार्वभौम संसदले गरेको फैसला सबैले स्वीकार गर्नुपर्ने भन्दै प्रचण्डले अब राजपा पनि पूर्व सहमति अनुसार चुनावमा आउने जनाए । संविधान नै असफल बनाउने खेल जारी रहेको भन्दै उनले यसका लागि तोकिएको मितिमै निर्वाचन सम्पन्न हुनुपर्ने बताए ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दालाई अब आफ्नो पार्टीले चुनावमा मुख्य एजेण्डा बनाउने माओवादीले जनाएको छ । साथै विभाजित अवस्थामा रहेका सबै माओवादीलाई एकीकरण गरेर आउँदो चुनावमा पहिलो शक्ति बन्ने रणनीति अनुसार काम भइरहेको प्रचण्डले बताए । मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्दको पार्टीसँग एकताको प्रयास भइरहेको उनले उल्लेख गरे । माओवादीहरू विभाजित हुँदा आन्दोलनका उपलब्धीहरू नै खतरामा परेको उनको भनाइ छ । प्रदेश नम्बर ६ माओवादीको उद्गमस्थल भएकाले पनि प्रदेश सरकार आफूहरूकै नेतृत्वमा गठन हुने माओवादी नेताहरूले दाबी गरे । प्रशिक्षणमा सहभागी हुन अध्यक्ष प्रचण्ड, नेताहरू रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, शक्तिबहादुर बस्नेतलगायत केन्द्रीय नेताहरू सुर्खेत आएका छन् ।

प्रकाशित मितिः   १० भाद्र २०७४, शनिबार १४:०२