‘मेरो सफलता नै लक्ष्मी हुन्’
कोही व्यक्ति सफल हुनुमा उसको पछाडि कसै न कसैको प्रेरणा र साथ रहेको हुन्छ । सफल बन्नको लागि एक्लैको आँटले पनि सम्भव हुँदैन । यस्तै गोविन्दप्रसाद भण्डारी व्यवसायमा मात्र होइन जीवनमा सुख प्राप्त पनि उनको श्रीमती लक्ष्मी भण्डारीको आगमनले नै भएको ठान्छन् । भन्छन्, ‘मेरो जीवनमा उनी नआएको भए सायद म आज सफल बन्न सक्ने थिएन, उनी मेरो जीवनमा उमंगको वहार बनेर आइन् ।’ लक्ष्मीको आगमनसँगै गोविन्दको जीवनमा सुखका क्षणहरू धेरै आए । थप्छन्, ‘मेरो सफलता मेरी जीवनसंगीनी नै हुन् ।’
पिता हरिलाल भण्डारी र माता दुर्गा भण्डारीको कोखबाट वि.सं. २०२२ सालमा वीरेन्द्रनगर–१४ गढीमा जन्मिएका गोविन्दप्रसाद भण्डारीको बाल्यकाल सुखद् नै बित्यो । मामाघर धेरै बस्ने भएकाले पनि उनको बाल्यकाल मामाघरमा बित्यो । १० वर्ष हुँदासम्म गढीमा बसेका उनको परिवार नै उनको मामाघर नजिकै साटाखानीमा बसाइँ–सराइँ गरेर गए ।
बसाइँ–सराइँपछि भण्डारीको घर र उनको मामाको भर नजिकै थियो । मामाले बिहेको कुरा चलाए । उनलाई मामाले आफ्नै भदैनीसँग विवाह गर्नका लागि प्रस्ताव राखे । उनले पनि एक पटक केटी हेर्दैमा के हुन्छ र भन्ने ठाने । विवाहका लागि केटी हेर्न भनेर गए । उनले पहिलो पटक लक्ष्मीलाई देख्ने बित्तिकै मन पराए । गोविन्दका मामा लक्ष्मीको पुसाइँ भएकाले लक्ष्मी पनि फुपुको घरमा आउने जाने गर्थिन् । गोविन्द र लक्ष्मीको विवाहको कुरा गर्नका लागि लक्ष्मीलाई गाविन्दका मामाले आफ्नो घरमा बोलाए । लक्ष्मीलाई उनका पुसाइँले बोलाउँदा फुपुले भेट्न बोलाएको भन्दै बोलाएका थिए ।
लक्ष्मीलाई थाहा थिएन पुसाइँले आफ्नो विवाहको कुरा गर्नलाई बोलाएका हुन् भन्ने । फुपुलाई भेट्न आएकी लक्ष्मी एक्कासी आफ्नो बिहेको कुरा सुन्दा चकित परिन् । पुसाइँले आफ्नै भान्जासँग विवाह गरिदिनका लागि बोलाएका हुन् भन्ने कुरा उनलाई पछि मात्र थाहा भयो ।
लक्ष्मीले बिहेको लागि सुरुमा त असहमति जनाइन् । लक्ष्मीको विवाह गर्ने उमेर पनि भएको थिएन । त्यसैले पनि विवाहको लागि उनी असहमत थिइन् । तर, उनको पुसाइँले लक्ष्मीको घरमा उनको बुबासँग पनि बिहेको कुरा गरिसकेका थिए । लक्ष्मीको बुबाले फकाएर मानेपछि छोरीलाई लैजानु भन्ने जवाफ आएको कारण लक्ष्मीको पुसाइँले लक्ष्मीलाई फकाएका थिए । फुपुलाई भेट्न आएकी लक्ष्मीलाई फकाएरै बिहेको लागि राजी बनाए । गोविन्द र लक्ष्मीको विवाहको जिम्मा लिएका उनका मामाले लक्ष्मीलाई अन्त्यमा मनाएरै छोडे ।
वि.सं. २०४१ साल भदौको महिना थियो । रातीको समय लक्ष्मीलाई उनका पुुसाइँले फकाएपछि लक्ष्मी विवाहको लागि राजी भइसकेकी थिइन् । गाविन्दको मामाघर पुग्न २ घण्टाको उकालो बाटो हिँड्नुपर्ने थियो । रातीको समयमा लक्ष्मीलाई भगाउन लागेको उनलाई उनकै मामाले साथ दिए । २ घण्टाको उकालो बाटोमा गोविन्दका मामाले बोकेरै घरसम्म पु¥याइदिए । त्यस समयमा लक्ष्मीलाई साह्रै नरमाइलो पनि लागेको थियो ।
विवाह भएको दुई महिनापछि भण्डारी रोजागारीको खोजीमा भारत गए । विवाह गर्दा लक्ष्मी १४ वर्षकी थिइन् । तर लक्ष्मीलाई विवाहपछि छोरी र बुहारी हुँदा हुने फरक अनुभूति खासै भएन । घरमा सबैको साथ र माया ममता पाएका कारण पनि उनलाई खासै गाह्रो भएन । आफू जस्तै नन्द साथी भएकाले पनि लक्ष्मीलाई घरमा सबैसँग नजिक हुन सजिलो भयो ।
गोविन्द भारतबाट डेढ वर्षपछि घर फर्के । रोजगारको शिलशिलामा उनी भारतमा हुँदा लक्ष्मी गाउँमा हुन्थिन् । तर पनि लक्ष्मीले सबै घरपरिवार सम्मालेर बसिन् । दुई छोरा जन्मेपछि भने गोविन्दले सुर्खेतमा नै व्यापार सुरु गरे । सुरुमा होटेल सञ्चालन गरेका उनले अहिले निर्मल सप्लायर्स सञ्चालन गरेका छन् ।
पिता मणिराम वाग्ले र माता पार्वती वाग्लेको कोखबाट २०२७ सालमा भारतको गुजरातमा जन्मिएकी लक्ष्मीको बाल्यकाल भारतमा नै बित्यो । उनको बुबाको जागिरको शिलशिलामा उनी भारतमा जन्मिएकी
थिइन् । ११ वर्षसम्म भारतमा बसेकी लक्ष्मीलाई नेपाल आउँदा नेपाली भाषा बोल्न आउँदैनथ्यो । कक्षा ८ सम्म भारतमा पढेकी लक्ष्मी नेपाल आएपछि भाषा बोल्न नजानेका कारण पढाइ रोकिन् । विस्तारै नेपाली भाषा बुझ्न र बोल्न सक्ने भइन् ।
विवाहपछि यो जोडीले एकआपसमा झगडा भने गरेनन् । प्रेम विवाह नभए पनि भागी विवाह गरेका यो जोडी एकअर्काेलाई नजिकबाट चिन्न नपाउँदै टाढा भए । छोराहरू जन्मेपछि बल्ल यो जोडीको माया सुरु भयो । धेरै समयपछि सँगै बस्न थालेको उनीहरू आफू बीचमा वादविवाद हुने गरी झगडा नभएको बताउँछन् । उनीहरू भन्छन्, ‘एकअर्काेलाई नबुझ्दा र एकअर्काे प्रतिको विश्वास नहुँदा सम्बन्धमा टकराप आउने गर्छ ।’
यो जोडी एकअर्काेको प्रशंसा पनि खुलेरै गर्छन् । लक्ष्मी आफ्नो जीवनमा आएर नै आफ्नो जीवनले नयाँ मोड लिएको बताउँछन् गोविन्द । लक्ष्मीको सबै बानी मनपर्ने गर्छ उनलाई । त्यस्तै लक्ष्मीलाई पनि गोविन्दको नरिसाउने बानी मनपर्ने गर्छ । यो जोडी फुर्सदको समय भएसम्म घुम्न पनि जाने गर्छन् । उनीहरू अहिलेसम्म चतुराधाम, जनकपूर, लुम्बिनी, जुम्लासम्म घुम्न गइसकेका छन् । उनीहरू भन्छन्, ‘पहिला पहिला व्यापारमा व्यस्त भयौं अब घुम्न जाने कुरा भइराको छ ।’
उनीहरूका अनुसार दाम्पत्य जीवन सम्बन्ध सफल बनाउन एकअर्काे बीचमा विश्वास हुन जरुरी छ । जीवनसाथी भनेको सुख दुःखमा साथ दिने साथी हुन् । जीवनको हरेक मोडमा साथ दिने, रुदा र हाँस्दा सँगसँगै साथ दिनसक्ने साथी नै जीवनसाथी हुन् । जीवनमा दुःख अनि सुखका कुरा सुनिदिने केवल जीवनसाथी मात्र हुन्छन् । उनीहरू भन्छन्, ‘जीवनमा अनेकौं साथीहरू भेटिन्छन्, तर जीवनको अन्त्यसम्म साथ दिने भनेको नै जीवनसाथी हो ।’ समाजमा संघर्षशील जोडीको रूपमा उदाहणीय जोडीको रूपमा स्थापित भइसकेका छन् ।
साझा बिसौनी संवाददाता ।