सडकको बिजोग, नागरिकलाई सास्ती

चौकुने, ७ भदौ । बावियाचौरबाट उपचार गरेर बिजौरा फर्कदै गरेकी ७० वर्षीया कृष्णकला बुढाले सडकको जीर्ण अवस्था देख्दा यसअघि भएका पटक–पटकका निर्वाचन सम्झिइन् । चुनावका बेला उम्मेदवारहरू घरघरमै पुगेर दिएका आश्वासन उनको मस्तिष्कमा अहिले पनि ताजै छन् । तर आफ्नो आश्वासन पूरा नगर्ने नेताहरूसँग यतिबेला भने उनी आक्रोशित भएकी छिन् । बिजौरादेखि लगाम जोड्ने सडकको जीर्ण अवस्थाले उनलाई आक्रोशित बनाएको हो ।

कृष्णकला बुढा मात्र होइन यस क्षेत्रका सबै नागरिक नेताहरूका झुठा आश्वासनले आक्रोशित बनेका छन् । बुढाले चुनावमा नेताहरूले बाटो बनाउँछौं, बिजुली निकाल्छौ, घरघरमा खानेपानी ल्याउँछौ भनी गरेका प्रतिबद्दता पूरा नगरेकोले आफूहरूलाई भोक–भोकै हिँड्नुपरेको गुनासो गरिन् । झुटो आश्वासन दिएर नेताहरूले नागरिकलाई ठगेको आरोप उनको छ ।

बिजौरा–बेतान–लगाम सडक खण्ड असार महिनादेखि अवरुद्ध भएको छ । कच्ची सडक वर्षाले हिलाम्मे बनाएको छ । जसले गर्दा स्थानीयलाई सास्ती भएको छ । सडकमा ठूला–ठूला खाल्डा छन् । हिलाम्मे सडक र सडकभरी भएका खाल्डाका कारण लगामसम्म चल्ने जीप चल्नै छोडेको छ । पहिला लगामसम्म जीप पुग्थ्यो अहिले बिजौरासम्म पुग्न पनि गाह्रो छ । सडकको कन्तबिजोग हुँदा यहाँका नागरिकलाई घण्टौं हिँडेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ ।

कामका लागि वीरेन्द्रनगर जानुपर्ने यात्रुहरू लगामबाट गाडी चढ्न एकदिनभरी हिँडेर बास बस्न बिजौरा आइपुग्छन् । एक रात बिजौरामा बास बसेपछि मात्रै अर्को दिन गाडी चढेर वीरेन्द्रनगर आइपुग्नुपर्ने बाध्यता छ । गाडी चल्दा एकदिनमै हुने काम आजभोली चार दिन लाग्ने गरेको बताउँछन् चौकुने गाउँपालिका वडा नम्बर दुईका ७५ वर्षीय शौराम बुढा । सडक मर्मत सुधार नहुँदा आफूहरूले सास्ती भोग्नुपरेको उनले बताए ।

जतिसक्दो छिटो सडकको स्तरोन्नति गर्न स्थानीयबासीले माग गरेका छन् । सम्बन्धित सरकारी कार्यालयको गैरजिम्मेवारिपन र राजनीतिक नेतृत्वको बेवास्ताका कारण आफूहरूले वर्षेनी सास्ती भोग्नु परेको भन्दै चौकुनेबासीले सडकको स्तरोन्नति तत्काल गर्न आग्रह गरेका हुन् । स्थानीयस्तरबाट पटक–पटक गाउँपालिका र सडक डिभिजन कार्यालयमा समेत सडकको अवस्थाबारे जानकारी गराउँदा समेत मागको सुनुवाइ नभएको र बेवास्ता गरिएको चौकुने गाउँपालिका–२ लगामका पदमबहादुर थापाले बताए । उनले अब पनि माग सुनुवाइ नभए आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।

चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले भने सडक स्तरोन्नति गर्न पहल भइसकेको बताए । काम छिटो गर्न सडक डिभिजन कार्यालयसँग समन्वय र पहल भइरहेको र भदौ महिनाको अन्तिमबाट काम सुरु हुने उनले जानकारी दिए । शाहीले सडक डिभिजन कार्यालयले काम गरिरहेको भएकाले उक्त सडकमा गाउँपालिकाले थप बजेट विनियोजन गर्न नमिलेको समेत जनाए । तर भइरहेको कामको नियमित रूपमा अनुगमन गरी समयमै सम्पन्न गर्न र सडक सञ्चालनमा ल्याउन भने गाउँपालिकाले ध्यान दिने शाहीको भनाइ छ ।