जिल्ला समन्वय समितिः सुर्खेतमा कांग्रेस, दैलेखमा एमाले

सुर्खेत, २३ साउन ।
जिल्ला समन्वय समिति सुर्खेतमा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । समितिको नौ सदस्यीय पदका लागि सोमवार भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
समन्वय समितिको प्रमुखमा छविलाल सिग्देल र उपप्रमुखमा देवी भट्टराई विजयी भएका छन् । समितिको दलित सदस्यमा पुसे कामी, महिला सदस्यमा बालकुमारी पुन, रमा बीसी, पूर्णा चालिसे तथा खुला सदस्यमा वीरसिंह घर्ती, बासुदेव शर्मा र तीर्थ रावत विजयी भएका छन् । नौ स्थानीय तह रहेको सुर्खेतमा कांग्रेसका ११ र एमालेका सात मतदाताले मतदान गरेका थिए । एमालेकोतर्फबाट प्रमुखमा टोपबहादुर रास्कोटी र उपप्रमुखमा दीपा मल्लले उम्मेदवारी दिएका थिए ।
यस्तै जिल्ला समन्वय समिति दैलेखमा नेकपा एमालेको प्यानल विजयी भएको छ । सोमवार भएको समितिको निर्वाचनमा प्रेमबहादुर थापा प्रमुख र लक्ष्मीदेवी शाह उपप्रमुखमा विजयी भएका हुन् । विजयी दुवैले १४÷१४ मत प्राप्त गरे । यसैगरी समन्वय समितिको सदस्यमा नन्दबहादुर खड्का, बालकृष्ण केसी, चन्द्रा नेपाली, सर्वराज महतरा, गिता चन्द, चन्द्रकला रावल र ललितजंग माझी विजयी भएका छन् ।
कांग्रेसबाट प्रमुखमा नगेन्द्रबहादुर खत्री, उपप्रमुखमा निर्मला खड्का, सदस्यहरूमा भुपाल थापा, सावित्री रेग्मी, बखतकुमार सापकोटा, बलबहादुर शाही, सीता विक, रत्नबहादुर कार्की र कृष्णबहादुर महताराले उम्मेदवारी दिएका थिए । ११ स्थानीय तह रहेको दैलेखमा सात स्थानमा एमाले र चार स्थानमा कांग्रेस विजयी भएका छन् । २२ मतमध्ये १४ एमाले र ८ कांग्रेसको रहेको थियो ।

प्रकाशित मितिः   २४ श्रावण २०७४, मंगलवार १५:५२