कृषि बीमामा आकर्षण, व्यवसायिक योजनामा किसान

सुर्खेत, २३ साउन ।
उनले विगत २३ वर्षदेखि गाउँमा बाख्रा पाल्दै आएका छन् । यो अवधिमा विभिन्न रोगको संक्रमणका कारण उनका धेरै बाख्रा मरे । अर्कोतर्फ वन्यजन्तुको आक्रमणमा पनि बाख्रा गुमाउनुप¥यो । तर त्यसबापत उनले कतैबाट क्षतिपूर्ति भने पाएनन् । बरु आम्दानीको आशमा दुःख गरेर अहिले पनि उनले खोरभरी बाख्रा पालिरहेका छन् ।


सुर्खेतको लेकवेशी नगरपालिकास्थित नेटाका किसान कर्णबहादुर रास्कोटीलाई पशु बीमाको बारेमा जानकारी नै भएन । बीमाको जानकारी नहुँदा उनले व्यवसायमा हालसम्म घाटा व्यहोर्दै आए । तर अहिले आएर मरेका बाख्राको पनि क्षतिपूर्ति पाइन्छ भन्ने सुनेपछि उनी दङ्ग परेका छन् । सरकारले सुरु गरेको कृषि बीमा कार्यक्रमको बारेमा जानकारी पाएपछि उनी यसबारे थप जानकारी लिन वीरेन्द्रनगर आएका छन् । अबको केही दिनमा नै अहिले खोरमा रहेका २१ वटा बाख्राको बीमा गर्ने उनको तयारी छ ।
परम्परागत खेती तथा पशुपालन गर्दै आएका जिल्लाका किसानहरू पछिल्लो समय कृषि बीमातर्फ आकर्षित भएका छन् । जानकारीको अभावमा गुजरा चलाउनका लागि मात्र खेती र पशुपालन गर्दै आएका किसानहरू विस्तारै कृषि बीमातर्फ चासो दिन थालेका हुन् । लगाएको खेती र पशुको नोक्सान भएको खण्डमा सरकारले क्षतिपूर्ति दिने भएपछि किसानहरू उत्साहित बनेका हुन् । सरकारले कृषि बीमा कार्यक्रममार्फत् किसानलाई बाली र पशुको नोक्सान भएमा ७५ प्रतिशतसम्म अनुदान दिने गरेको छ । यसरी राहत पाइने भएपछि किसानहरू पछिल्लो समय बाली र पशुको बीमा गराउनका लागि अग्रसर हुन थालेका छन् ।
‘रोग लागेर मरेका बाख्राको पनि क्षतिपूर्ति पाइने रहेछ, यो सुन्दा त मलाई अनौठो लाग्यो’ रास्कोटीले भने, ‘पहिले नै यस्तो थाहा पाएको भए नोक्सान व्येहोर्नुपर्ने थिएन, आजसम्म जे भो भयो । अब त म बीमा गरिहाल्छु, केही भएमा क्षतिपूर्ति पाइहालिन्छ ।’ आफ्नो घरखर्च धान्ने स्रोत बाख्रा नै भएको भन्दै उनले बीमा गरेर यसलाई थप विस्तार गर्ने योजना सुनाए । जाजरकोटका किसान महेशकुमार मल्लले सुन्तलाको बाली बीमा गर्न प्रक्रिया थालेका छन् । पहिला सामान्य रूपमा नै सुन्तला खेती गर्दै आएका मल्लले अहिले भने सुन्तलालाई नै आफ्नो आम्दानीको स्रोत बनाएका छन् । उनले अहिले दुई सय सुन्तलाको बिरुवा रोपेका छन् । सुन्तलाको सिजनमा असिनाले नोक्सान गर्ने भएका कारण उनले अपेक्षा अनुसार नाफा लिन पाएका छैनन् । अब बाली बीमा गरेर आम्दानी गर्ने उनको योजना छ ।
कर्णबहादुर र महेश जस्तै दैलेखका पदमबहादुर कठायतलाई पनि पशु र बाली बीमाको बारेमा पहिला कुनै जानकारी थिएन । पदमले अहिले व्यवसायी रूपमा सुन्तला खेती गर्दै आएका छन् । उनले ९० वटा सुन्तलाको बिरुवा लगाएका छन् । पदमको आम्दानीको स्रोत भनेको सुन्तला खेती हो । वार्षिक रूपमा ६ लाखसम्मको आम्दानी हुने गरेको उनको भनाइ छ । सरकारी तथा गैरसरकारी संस्थाहरूले पछिल्लो समय गाउँमै पुगेर यसबारे जानकारी दिन थालेपछि किसानहरू बीमातर्फ आकर्षित भएका हुन् । विगत तीन वर्षदेखि सुन्दर नेपाल संस्थाले पहल कार्यक्रम अन्तर्गत किसानलाई बाली र पशु बीमाको बारेमा जानकारी दिँदै आएको छ ।
संस्थाका अधिकृत मिलन श्रेष्ठका अनुसार मध्यपश्चिमका सुर्खेत, दैलेख, रोल्पा, सल्यान, प्युठान, रुकुम र जाजरकोट गरी सात जिल्ला र सुदूरपश्चिमका सात जिल्लामा यो कार्यक्रम सञ्चालन भइरहेको छ । उनले पहिलेको तुलनामा पछिल्लो समय किसानहरू कृषि बीमामा आकर्षित भएको बताए । यसैबीच संस्थाको सहजीकरणमा बीमा अभिमुखीकरण सम्बन्धी तीन दिने कार्यशाला सोमवारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । कार्यशालामा किसानहरूलाई बाली बीमा र पशु बीमाका बारेमा जानकारी दिइनेछ ।
कार्यशालामा दैलेख, जाजरकोट र सुर्खेतका गरी २४ जना किसानहरू सहभागी छन् । सो अवसरमा सुन्दर नेपाल संस्थाका अध्यक्ष हेकप्रकाश भुषाल, भीमराज बास्तोला, कार्यकारी निर्देशक भुपेन्द्रप्रसाद कँडेल, जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक नारायणप्रसाद न्यौपानेले बीमाले किसानको आयमासमेत वृद्धि हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मितिः   २४ श्रावण २०७४, मंगलवार १५:५४