मृत्युसँग सम्झौता गर्दै छाउगोठमा सुत्न बाध्य

जम्बुकाँध (दैलेख), ३ साउन ।
घरभन्दा टाढा रहेको सानो कटेरो । न ढोका छ, न त राम्रोसँग बारेको । वर्षातको पानी छेक्न माथिबाट केवल कर्कट पाताले छोपिएको छ । खोलाको किनारमा रहेको यही कटेरो अर्थात् (छाउगोठमा) मृत्युसँग सम्झौता गर्दै १४ वर्षीया कृष्णकला विक रात बिताउन बाध्य भएकी छन् ।
महिनावारी भएकी दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित लैनचौर निवासी कृष्णकलालाई परिवारले घरभित्र सुत्न नदिएपछि ज्यानको बाजी नै थापेर उनी छाउगोठमा सुत्न बाध्य भएकी हुन् । केहीदिन पहिले मात्र गाउँकै तुल्सी शाहीको छाउगोठमै सर्पले टोक्दा ज्यान गएको थियो । आफ्नै दौतरीको छाउगोठमा ज्यान गुमेको देखेकी कृष्णकलालाई छाउगोठमा सुत्न भने पटक्कै मन छैन । तर पनि सामाजिक त्रास र परिवारको दवावका कारण उनलाई छाउगोठमा रात बिताउन बाध्य पारिएको छ ।


मलिन अनुहार, त्रसित मानसिकता र पीडाले थलिएको अवस्थामा छाउगोठमा भेटिएकी कृष्णकलाले भनिन्, ‘मैले के अपराध गरें र ? यो गोठमा सुताउँछन् । छाउगोठमा सुत्न डर लाग्छ, तर घरभित्र सुत्नै दिदैंनन् ।’ चिसो भुइँमा ओछ्याइएको बोरामाथि रात कटाउँदै आएको भन्दै उनले मृत्युसँग सम्झौता गरेर रात बिताउनु परेको बताइन् । महिनावारी भएको दोस्रो रात उनलाई छाउगोठमै किराले टोकेपछि परिवारमा रुवाबासी नै चल्यो । सर्पले टोकेको ठानेर आफन्तले उपचारका लागि हारगुहार नै गरे । पछिमात्र थाहा भयो, उनलाई अर्कै किराले टोकेको रहेछ । ‘म त यसपाली भाग्यले बाँचे, सर्पले टोकेको भए जीवन नै सकिने थियो’ कृष्णकलाले भनिन्, ‘घरभित्र सुत्दा देउता बिग्रिन्छन् रे, भैंसीले पनि दुध दिदैंन भन्छन् । परिवारलाई म भन्दा भैंसी प्यारो भयो, यो समाजले हामीलाई विना अपराध सजाय दिएको छ ।’
छाउगोठमा दुई जना किशोरीको ज्यान गएपछि स्थानीय महिला र किशोरीहरू त्रसित बनेका छन् । तर सामाजिक बहिस्कारमा पर्ने डर र देउता रिसाउने त्रासका कारण महिलाहरूलाई छाउगोठमै सुत्न बाध्य बनाइएको छ । अँध्यारो रातमा छाउगोठमा एक्लै सुत्न डर लाग्ने गरेको भन्दै कृष्णकलाले आफूहरूको ज्यान नै धरापमा रहेको सुनाइन् । बाहिर सुत्न डर लाग्ने गरेको भन्दै उनले भनिन्, ‘मलाई पनि बाँच्ने रहर छ, छाउगोठमा कतिबेला के हुने हो ? थाहा नै छैन, अब त घरभित्रै सुत्ने चलन आए पनि हुन्थ्यो ।’ कक्षा १० सम्म अध्यन गरेकी उनलाई महिनावारी सामान्य प्रक्रिया हो भन्ने थाहा छ । तर पनि परिवारका अन्य महिला सदस्यहरू जस्तै उनी पनि छाउगोठमा सुतेको चार पटक भइसकेको छ ।
उनी भन्छिन्, ‘देउताको नाममा महिनावारी बार्न लगाएका छन्, तर देउताले पनि न्याय देलान् जस्तो छैन । मृत्युसँग सम्झौता गरेर कहिलेसम्म गोठमा सुत्ने, हामीलाई अब न्याय कसले दिन्छ ?’ छाउगोठमा सुतेकी छोरीलाई मध्यरातमा किराले टोकेपछि आमा निमा विकले छिमेकीसँग उपचारका लागि हारगुहार नै गरिन् । छोरीले पुनर्जन्म पाएको भन्दै निमाले भनिन्, ‘पहिलेबाटै चलेको संस्कार हो, हामी पनि छाउगोठमै सुत्दै आएका छौं । महिनावारीको बेलामा घरभित्र पस्दा अनर्थ हुन्छ, छोइछाइ भएमा घरमित्र सर्प पनि आउँछन् ।’ आफ्नो घर मन्दिर नजिक रहेको र लसपस हुँदा देउता रिसाउने भएकाले छोरीलाई घरभित्र सुत्न नदिएको उनको भनाइ छ । ‘घरभित्र सुत्न मिल्दैन, यो छाउगोठमा छोरी असुरक्षित भइ’ उनले भनिन्, ‘पाँच दिनसम्म बार्नुपर्छ, यहाँ त सुताउँदिन । अब छिमेकीको घरमा सुत्न पठाउँछु उनीहरू क्रिश्चियन धर्म मान्ने भएकाले महिनावारी बार्दैनन् ।’ छाउगोठमा सुत्दा असुरक्षित भएको र ज्यान नै गुमेका घटनाले पीडित परिवारमा छाउपडी कु–प्रथा हो भन्ने लाग्न थालेको छ । तर आफूहरूले छाउगोठ अवज्ञा गर्दा समाजले बहिस्कार गर्ने त्रासका कारण पनि उनीहरू महिनावारीको बेलामा महिलालाई घरभित्र सुताउने आँट गर्दैनन् । निमाले भनिन्, ‘छोरीभन्दा भैंसी त ठूलो होइन, देउताले पनि न्याय देलान् जस्तो लागेन । म त घरभित्रै सुताउने थिएँ, छाउ नबार्दा समाजले हामीलाई नै बहिस्कार गर्छ ।’ एक–दुई जनाले मात्र सम्भव नहुने भन्दै उनले आफूहरूले चाहेर पनि छाउगोठ हटाउन सक्ने अवस्था नरहेको उल्लेख गरिन् । जिल्लाको पश्चिम क्षेत्रमा अहिले पनि छाउपडीको कु–प्रथा कायमै छ । अन्धविश्वासका कारण यहाँ महिनावारीको समयमा महिलालाई घरदेखि टाढा रहेको छाउगोठमा सुताउने गरिन्छ ।

प्रकाशित मितिः   ४ श्रावण २०७४, बुधबार १६:०१