छाउपडीविरुद्ध जनचेतना

महिलाहरूमा हुने रज्वश्वला अर्थात् महिनाबारी र सुत्केरी बार्ने चलनलाई छाउपडी प्रथा भनिन्छ । मध्य तथा सुदूरपश्चिमका पहाडि जिल्लाहरूमा रज्वाश्ला तथा सुत्केरी भएका बेला छाइछुइ गर्न नहुने, यसो गरे देवता रिसाउने र पाप लाग्ने आदि धार्मिक अन्धरविश्वास रहँदै आएको पाइन्छ । धार्मिक भाषामा महिनावारीलाई मासिक धर्म भनिन्छ । मासिक धर्म प्रकृतिमा रहेका जीवन भएका हरेक तत्वहरूमा हुने गर्दछ जस्तै वनस्पतिमा फूलफुल्नु र मधुरस निस्कनु प्रजनन्को तयारी हो । त्यस्तै युवतीहरूमा पनि उमेर पुगे पछि रज्वाश्ला हुनु भनेको उनीहरू प्रजनन्का लागि योग्य भएको प्राकृतिक संकेत हो । तसर्थ महिनाबारी कुनै मानव अधिनमा रहेको अपराधीक कर्म नभइ एक प्राकृतिक प्रक्रिया हो । तर यो कु–संस्कारको रूपमा रहिआएको छ । छाउपडीका कारण कयौं महिलाहरूले ज्यानै गरमाउनु परेको छ । पछिल्लो दुई महिनामा दैलेखको एकै गाउँका दुई किशोरीले छाउगोठमै ज्यान गुमाए । अहिलेको आधुनिक जमानामा पनि छाउपडीका कारण किशोरीको ज्यान जानु राष्ट्रिय लज्जाको विषय हो । महिनावारी हुँदा महिलालाई घरको सट्टा गोठमा राख्ने र त्यस्तो गोठमा चार रात बिताएपछि पाँचांै दिन मात्र घर फर्काउने कुप्रथा अझै पनि विद्यमान छ ।
दैलेखमा दुई किशोरीले ज्यान गुमाएको ठाउँ त्यस्तो ठाउँ हो जसलाई केही वर्षअघि नै केही गैरसरकारी संस्थाहरूले छाउपडीमुक्त घोषणा गरेका थिए । छाउपडी गोठमुक्त घोषणा गरिए पनि व्यवहारमा भने त्यस्तो घोषणा अर्थहीन देखिएको छ । महिलाहरूले रजस्वला र सुत्केरी भएका बेला घरका सरसामान छुन नहुने भन्दै यो अवधिमा घर नजिकको गोठमा राख्ने अन्धविश्वास र कुसंस्कारले यस क्षेत्रको समाजलाई ग्रसित बनाएको छ । सुत्केरी वा रजस्वलाको समयमा स्वास्थ्य कमजोर हुने भएकाले पनि यो बेला महिलालाई अझ बढी हेरचाह तथा स्याहार आवश्यक पर्छ । तर, यही समयमा घरको सट्टा फोहोर गोठमा राख्दा महिला तथा किशोरीहरू झनै पीडित हुने गरेका छन् । महिलाहरू यसरी छाउपडी बस्दा बलात्कार भएका घटनादेखि सर्पले टोकेर मृत्यु भएको वा चिसोमा कठ्यांग्रिएर वा धुवाँले निसास्सिएर र अत्यधिक रक्तस्राव भएर मृत्यु भएका घटना बेलाबखत सार्वजनिक हुने गरेका छन् । छाउपडी प्रथा अन्त्यका लागि विभिन्न सामाजिक संघ–संस्थाले प्रचार–प्रसार गर्नुका साथै अभियान सञ्चालन नगरेका पनि होइनन् । तर, त्यस्ता प्रयास या त पर्याप्त हुन सकेका छैनन् या प्रभावकारी भएका छैनन् जसका कारण छाउपडीरूपी कु–प्रथा कायमै रहेको हो । यो अवस्थामा विभिन्न सामाजिक संघ–संस्था तथा सरकारले यस किसिमको कु–प्रथा हटाउनका लागि अभियान नै सञ्चालन गरी स्थानीय समुदायमा जनचेतना जगाउन आवश्यक छ । अझ सरकारी तहबाट यस किसिमको अन्धविश्वासको अभ्यासलाई दण्डनीय बनाउने गरी कानुनी व्यवस्था गर्न जरुरी छ ताकी यस किसिमको अभ्यासका लागि बाध्य पार्नेहरूलाई कानुनी कारबाही गर्न सकियोस् ।
जनचेतना अभिवृद्धि र कानुनको कार्यान्वयनलाई सँगसँगै लैजान सके मात्र यस किसिमको कु–प्रथा तथा अन्धविश्वासलाई हटाउन सकिन्छ । सरकार र स्थानीय समुदायको ध्यान त्यसैतर्फ केन्द्रित होस् ।यसरी सदियौंदेखि जरा गाडेर रहेका चुनौतीहरूलाई कुनै एक पक्षले मात्र प्रयास गरेर सुधार्न सकिदैन । यस्तो कामका लागि समाजका जिम्मेवार सबै पक्षहरूको लागीमेलीको अपरिहार्यता रहन्छ । सरकारी तवरबाट यस्ता प्रथाविरुद्धका नीति नियम तय गरी महिला प्रति हुने यस्ता अमानवीय व्यवहारहरूलाई गैरकानुनी घोषित गरिनुपर्दछ । मानवअधिकारवादीहरूले यस्ता प्रथाको अन्यायमा परेर दुःख भोगिरहेकाहरूको जीवन सरल बनाउने र उनहरूको अधिकार दिलाउने प्रयास गर्नु पर्दछ । समाजसेवी र धार्मिक पक्षका जिम्मेवार ब्यक्तिब्यक्तीत्वहरूले समाजका ठूलाठालु र जिम्मेवार वर्गहरूको विचार रूपान्तरमा जोड दिनु पर्दछ ।

प्रकाशित मितिः   ४ श्रावण २०७४, बुधबार १५:४१