विद्यालयकै विजोग
सामुदायिक विद्यालयहरू सार्वजनिक शिक्षाका आधार हुन् । समाजका सबै वर्गका बालबालिकालाई समान अवसर प्रदान गर्दै शिक्षित, सक्षम र जिम्मेवार नागरिक उत्पादन गर्ने दायित्व यिनै विद्यालयको हो । तर, कर्णाली प्रदेशका धेरै सामुदायिक विद्यालयको अवस्था हेर्दा राज्यले सार्वजनिक शिक्षाप्रति निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न नसकेको देखिन्छ । पूर्वी सुर्खेतको लेकवेशी नगरपालिका–६, कल्याणस्थित सरस्वती माध्यमिक विद्यालयको दयनीय अवस्था यसको एउटा प्रतिनिधि उदाहरण हो । विद्यालयका भवन जीर्ण छन् । भित्ताहरू भत्किएका छन्, छाना चुहिन्छन् र वर्षात् हुँदा पानी कक्षाकोठाभित्रै पस्छ । बालशिक्षादेखि कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा पाँच सय विद्यार्थी अध्ययनरत छन् । तर, साना बालबालिकाले चिसो मौसममा समेत खुला चौरमा बसेर पढ्नुपर्ने बाध्यता छ ।
विद्यालय भवन सुरक्षित नहुँदा विद्यार्थीको पढाइ मात्र प्रभावित भएको छैन, उनीहरूको स्वास्थ्य र सुरक्षासमेत जोखिममा परेको छ । विद्यालयमा पर्याप्त कक्षाकोठा, सिकाइ सामग्री, खेलमैदान र अन्य आधारभूत पूर्वाधारको अभाव छ । अझ अंग्रेजी, विज्ञान र सामाजिक विषयका शिक्षक नहुँदा पठनपाठन नियमित र प्रभावकारी हुन सकेको छैन । विद्यालयको यस्तो अवस्था हुनु सामान्य व्यवस्थापकीय कमजोरी मात्र होइन, बालबालिकाको शिक्षा पाउने अधिकारमाथिको बेवास्ता पनि हो । संविधानले शिक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । आधारभूत शिक्षा अनिवार्य र माध्यमिक शिक्षा निःशुल्क हुने व्यवस्था छ । तर, अधिकार कागजमा सुनिश्चित भएर मात्रै पुग्दैन, त्यसको व्यावहारिक कार्यान्वयन पनि आवश्यक हुन्छ । विद्यालयमा शिक्षक छैनन्, भवन सुरक्षित छैनन् र आधारभूत सुविधा उपलब्ध छैनन् भने शिक्षाको अधिकार कसरी सुनिश्चित हुन सक्छ ? राज्यले शिक्षाको अधिकारलाई व्यवहारमा उतार्न विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधारमा प्राथमिकताका साथ लगानी गर्नुपर्छ ।
लेकवेशी नगरपालिकाका अन्य विद्यालयको अवस्था पनि उस्तै रहेको देखिन्छ । शिक्षक अभाव, कमजोर भौतिक संरचना, खानेपानी तथा शौचालयको कमी, अपाङ्गमैत्री संरचनाको अभाव र कमजोर शैक्षिक वातावरणले सामुदायिक विद्यालयको गुणस्तर प्रभावित भइरहेको छ । कतिपय विद्यालयमा शिक्षक तथा विद्यार्थीको नियमितता पनि कमजोर छ । यस्ता समस्याले विद्यार्थीको सिकाइ उपलब्धि घटाउनुका साथै अभिभावकको सामुदायिक विद्यालयप्रतिको विश्वाससमेत कमजोर बनाइरहेको छ । परिणामस्वरूप निजी विद्यालयप्रतिको आकर्षण बढ्दै गएको छ । विद्यालय सुधारका लागि नगरपालिकाले शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन, तह घटुवा, अनुगमन तथा डिजिटल सिकाइका कार्यक्रम अघि बढाउने जनाएको छ । यी प्रयास सकारात्मक भएपनि योजनाको घोषणा मात्रै पर्याप्त हुँदैन । विद्यालयको वास्तविक आवश्यकताका आधारमा सुधारका कार्यक्रम कार्यान्वयन गर्नुपर्छ ।
प्रकाशित मितिः १० मंसिर २०८३, बिहीबार ११:३५
सम्पादकीय ।