आश्रम निर्माण कार्य अन्तिम चरणमा
सुर्खेत: मानव सेवा आश्रम सुर्खेतको भवन निर्माणको काम धमाधम चलिरहेको छ । छुट्टाछुट्टै रूपमा तीन वटा भवन निर्माणको काम थालिएको हो । प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र मानव सेवा आश्रमले छुट्टाछुट्टै रूपमा ठेक्का सम्झौता गरेर काम अघि बढाएका छन् ।
भवन निर्माणको काम अन्तिम चरणमा पुगेको मावन सेवा आश्रम कर्णाली प्रदेशले जनाएको छ । तीन वटा भवन निर्माणको काम तीन वटा निर्माण कम्पनीले छुट्टाछुट्टै रूपमा गरिरहेको आश्रमका प्रदेश संयोजक सञ्जीता गौतमले बताइन् । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा २०८२ माघमा भवन निर्माणको काम थालिएको थियो । उक्त भवन निर्माणको काम अन्तिम चरणमा पुगेको संयोजक गौतमले बताइन् । मानव सेवा आश्रम कर्णाली प्रदेश र सहारा कन्स्ट्रक्सन हेटौडाबीच २०८२ माघमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०८३ कार्तिक ३० गते काम सम्पन्न गर्नुपर्नेछ । अहिले भवन निर्माणको काम अन्तिम चरणमा पुगेको र हस्तान्तरणको तयारीमा रहेको निर्माण कम्पनीले जनाएको छ । प्रदेश सरकारको एक करोड २२ लाखमा एक तले भवन निर्माणको काम थालिएको थियो । भवन निर्माणको काम भने अन्तिम चरणमा पुगेर हस्तान्तरणको चरणमा रहेको छ ।
वीरेन्द्रनगर नगरपालिकाले आफैले ठेक्का सम्झौता गरेर दुई तले भवन निर्माणको काम सुरु गरेको छ । भीजन सरस्वती जेभी गुठिचौर जुम्ला र वीरेन्द्रनगर नगरपालिकाबीच ठेक्का सम्झौता गरिएको हो । एक करोड ९१ लाखमा भवन निर्माणको ठेक्का सम्झौता गरिएको नगरपालिकाले जनाएको छ । २०८२ चैत २३ गतेदेखि २०८३ मंसिर २९ गतेसम्म भवन निर्माणको काम गरिसक्नेगरी सम्झौता गरिएको नगरपालिकाका इन्जिनियर यज्ञ कार्कीले बताए । अहिले भवन निर्माणको काम अन्तिम चरणमा पुगेको कार्कीले जानकारी दिए । फिनिसिङको काम धमाधम रूपमा भइरहेको उनले बताए । महिलाहरूका आवश्यक पर्ने भवन वीरेन्द्रनगर नगरपालिकाले निर्माण गर्न लागेको छ ।
यस्तै, मानव सेवा आश्रमले महायज्ञ सञ्चालन गरेर उठेको रकमबाट भवन निर्माणको काम सुरु गरेको छ । साढे दुईतले प्रशासनिक भवन निर्माण थालेको हो । वीरेन्द्रनगर १० र ३ वडा कार्यालय र भेरीगंगा नगरपालिकाले पनि भवन निर्माणका लागि सहयोग गरेका छन् । रमेश कन्स्ट्रक्सन र मानव सेवा आश्रम कर्णाली प्रदेशबीच ठेक्का सम्झौता गरेर काम अघि बढेको छ । २०८२ वैशाख ९ गतेदेखि २०८३ पुष १५ गतेसम्म काम सक्नेगरी सम्झौता गरिएको हो । अहिले प्रशासनिक भवन निर्माणको काम धमाधम रूपमा भइरहेको छ । एक करोड १३ लाखमा सम्झौता भएर काम अघि बढेको छ ।
मानव सेवा आश्रमको पूर्वाधार निर्माणका लागि हालै सम्पन्न भएको महायज्ञबाट नौ करोड ७६ लाख रूपैयाँ संकलन भएको छ । महायज्ञबाट नौ करोड ७६ लाख ९२ हजार आठ ४३ रूपैयाँ दान संकलन भएको हो । महायज्ञबाट करिब पाँच करोड रकम संकलन हुने अपेक्षा गरिए पनि लक्ष्यभन्दा करिब दोब्बर बढी दान संकलन भएको महायज्ञ मूल आयोजक समिति संयोजक डा. नवराज केसीले जानकारी दिए । ‘महायज्ञमार्फत् हामीले समुदायलाई जोडेका छौँ, एक रूपैयाँदेखि एक करोडसम्म पनि दान गर्नुभएको छ,’ केसीले भने, ‘सबै मनकारीहरूको साथ पाएर होला लक्ष्यभन्दा करिब दोब्बर दान रकम संकलन भएको छ ।’
महायज्ञबाट एक करोड ९७ लाख ६६ हजार ६५ रूपैयाँ नगद जम्मा भएको छ भने एक करोड ३३ लाख २७ हजार ६ सय एक रूपैयाँ अनलाइन माध्यमबाट प्राप्त भएको छ । ३७ लाख ८८ हजार नौ सय २१ रकम बराबरको चेक प्राप्त भएको छ । पाँच करोड चार लाख १६ हजार ३२ रूपैयाँ स्थानीय तह र विभिन्न संघ संस्थाहरूले प्रतिबद्धता गरेका छन् भने ५७ लाख ७९ हजार पाँच सय ८२ रूपैयाँ व्यक्तिगत प्रतिबद्धता गरेका छन् । महायज्ञको कलश यात्रामा प्रयोग भएको कलश बिक्रीबाट मात्रै ४२ लाख ७४ हजार आठ सय ८२ रूपैयाँ संकलन भएको छ । दान पेटिकामा प्राप्त दान तीन लाख २६ हजार चार सय ५५ र किताब बिक्रीबाट १३ हजार तीन सय पाँच रूपैयाँ संकलन भएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।
सडक मानवमुक्त प्रदेश बनाउन बर्सेनि रूपमा प्रदेश सरकारले केही न केही कार्यक्रम गर्दै आएको छ । त्यसको प्रभावकारी कार्यान्वयन भने हुन सकिरहेको छैन । सडक मानवमुक्त घोषणा गर्ने योजना प्रदेश सरकारले यो वर्षमा पनि समेटेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर योजना कार्यान्वयन गरिने जनाइएको हो । आश्रमको लागि आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । आश्रमको पूर्वाधार निर्माणका लागि कर्णाली प्रदेश सरकारले यो वर्ष एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । आश्रमको भवन निर्माणका लागि प्रदेश सरकारले प्रत्येक वर्षमा बजेट विनियोजन गर्दै आएको छ । गत वर्ष पनि एक करोड ५० लाख नै बजेट विनियोजन भएको थियो । सडक मानवमुक्त प्रदेश कार्यान्वयन गर्न मानव सेवा आश्रमलाई सहयोग गरिएको प्रदेश सरकारले जनाएको छ ।
प्रकाशित मितिः ५ मंसिर २०८३, शनिबार ०५:०५

रजनी याेगी ।