कर्नालीबारे लेखिएको पुस्तकमाथि परिचर्चा

सुर्खेत: ‘कर्नालीः उपेक्षा र उज्यालो’ पुस्तकमाथि विमर्श गरिएको छ । डा. दीपेन्द्र रोकाया र मोहनदास मानन्धरद्वारा लिखित पुस्तकबारे बिहीवार वीरेन्द्रनगरमा परिचर्चा गरिएको हो ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले गरिबी र विकटताको पहिचानबाट कर्णालीलाई मुक्त गर्नुपर्ने बताए । विगतदेखि नै कर्णालीलाई गरिब र विकट क्षेत्रका रूपमा चित्रण गर्ने भाष्य कायम रहेकाले त्यसलाई अब बदल्न आवश्यक रहेको उनले बताए ।

मुख्यमन्त्री शाहीले कर्णाली विगतको अवस्थाभन्दा धेरै अगाडि बढिसकेको दावी पनि गरे । ‘कर्णाली हिजो जे थियो, त्यो अवस्थाबाट धेरै अगाडि बढिसकेको छ । हामीले पनि आफ्नो तर्फबाट सुधारका काम गरिरहेका छौँ,’ उनले भने । उनले आफू मुख्यमन्त्री भएपछि छोटो समयमै धेरै कानुन निर्माण गर्नुका साथै विभिन्न तथ्याङ्कमा सुधार गर्ने प्रयास गरिरहेको पनि बताए ।

परिचर्चा कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भिम केसी, पूर्वमन्त्री रणसिंह परियार, प्रा.डा. सुदिप ठकुरी, वरिष्ठ अधिवक्ता ध्रुवकुमार श्रेष्ठ, नागरिक अगुवा पिताम्बर ढकाललगायतको सहभागिता रहेको थियो । पुस्तकमा विगतको कर्णाली र अबको बाटोबारे विश्लेषण गरिएको छ ।

प्रकाशित मितिः   ४ मंसिर २०८३, शुक्रबार ०५:०१