टिकट पाउनै मुश्किल
सुर्खेत: अहिले सुर्खेत बसपार्कमा खुट्टा टेक्न मुश्किल हुन्छ । दसैँ–तिहार मनाएर काठमाडौं लगायतका प्रमुख सहर र कार्यक्षेत्र फर्कने यात्रुहरूको चाप अत्यधिक बढेसँगै सुर्खेत बसपार्क भरिभराउ भएको हो ।
काउन्टरहरूमा सिट पाउन मुश्किल भएपछि यात्रुहरू सास्ती भोग्न बाध्य छन् । एउटै सिटमा दुई वटासम्म टिकट काट्दा यात्रुहरूबीच झडपसमेत हुने गरेको छ ।
दैलेखको दुल्लू नगरपालिका–१० की शोभा थापा छोराछोरी पढाउन काठमाडौैं बस्छिन् । श्रीमान् वैदेशिक रोजगारीमा साउदी छन् । दुई छोरा र एक छोरीलाई पढाएर उनी काठमाडौंमा बस्दै आएकी छन् । दसैँ–तिहार मनाउन गाउँ आएकी थापा अहिले काठमाडौं फर्किने तयारीमा छन् । तर, गाडीको टिकट नपाउँदा समस्या भएको उनले बताइन् । चार दिनसम्म सुर्खेत बसपार्कमा धाउँदापनि टिकट पाउन नसकको उनको दुखेसो छ ।
त्यसैगरी कालीकोटका रामबहादुर रावलले दशैँ–तिहार मनाउन घर आएका छोराछोरीलाई काठमाडौं पठाउन मुश्किल परेको बताए । उनले पनि बसपार्कमा टिकट पाउन हम्मे–हम्मे परिरहेको भन्दै दिनदिनै बसपार्कमा धाउँदा पनि टिकट नपाएको जनाए ।
विद्यार्थी पुस्कर गिरी विद्यालय सुरु भइसकेको भएपनि टिकट नपाउँदा पढाइ नै छुट्ने चिन्तामा छन् । उनी पनि काठमाडौं बसेर अध्ययन गर्छन् । मंगलवारदेखि विद्यालय र सरकारी कार्यालय सबै खुल्ने भएकाले पनि कर्मथलो फर्किनेहरूको लर्को लागेको हो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट काठमाडौंसम्म सिधा यातायात सेवा सञ्चालनमा छ । तर, यो यात्राका लागि झन्डै २४ घण्टा लाग्छ । दैनिक जसो दिउँसो ४ बजे सुर्खेतबाट काठमाडौंका लागि छुटेको बस भोलिपल्ट बिहान ११/१२ बजे मात्रै काठमाडौं बसपार्क पुग्ने गरेको बस व्यवसायी बताउँछन् ।
घरभन्दा बाहिर रहेका परिवारका सदस्य दसैँ–तिहार मनाउन र आफूभन्दा ठूलाबडाको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्न देश–विदेशबाट गाउँ फर्किने गर्छन् । दशैँ–तिहार सकिएपछि देश–विदेश तथा आफ्नो कर्मथलोमा फर्किनेको भीड बढ्दा गाडी र हवाईजहाजको टिकट पाउन मुश्किल भएको हो ।
घरभन्दा बाहिर रहेका परिवारका सदस्य दसैँ–तिहार मनाउन र आफूभन्दा ठूलाबडाको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्न देश–विदेशबाट गाउँ फर्किने गर्छन् । दशैँ–तिहार सकिएपछि देश–विदेश तथा आफ्नो कर्मथलोमा फर्किनेको भीड बढ्दा गाडी र हवाईजहाजको टिकट पाउन मुश्किल भएको हो । अधिकांश युवा वैदेशिक रोजगारीमा छन् भने कतिपयले काठमाडौंलाई कर्मथलो बनाएका छन् । चाडपर्व मनाएर कर्मथलो फर्किनेको भीड बढेसँगै टिकट पाउन समस्या भएको वीरेन्द्रनगर–१ का रमेश शाहीले बताए । उनले भनेको समयमा टिकट नपाउने तथा पाइहालेपनि महँगोमा भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यता रहेको सुनाए । उनी व्यापारी हुन् । अन्य समयमा सहज रूपमा यात्रा गर्ने गरेको भएपनि चाडपर्वका निकै समस्या हुने गरेको उनको दुखेसो छ ।
काँक्रेविहार यातायातका इञ्चार्ज ईश्वर थापाले यात्रुको चाप अत्यधिक रूपमा धेरै हुँदा व्यवस्थापनमा हम्मे–हम्मे परिरहेको बताए । कर्णालीका दशवटै जिल्लाबाट आउने हाइस र बस दुवैमा तथा सुर्खेतदेखि काठमाडौं जाने यात्रुको भीड धेरै रहेको जनाए । अहिले केही यातायातका साधन थप गरेर सहज आवत–जाउत गर्ने वातावरण मिलाएको उनको भनाइ छ ।
अन्य समयमा सुर्खेत–काठमाडौंको टिकट शुल्क तीन हजार रूपैयाँ रहेकोमा दसैँ–तिहारको समयमा तीन हजार पाँच सय रूपैयाँ पुगेको छ । हायस र बस दुवैको भाडादर एउटै रहेको व्यवसायी बताउँछन् । तर यात्रुहरूले मनपरी रूपमा भाडादर कायम गरिएको गुनासो गरेका छन् । अहिले कर्णालीका दशवटै जिल्लाबाट आउने सवारीसाधन भरिभराउ हुने गरेका छन् । जसले गर्दा दुर्घटनाको जोखिम पनि बढ्दो छ । भाडादर पनि अन्य समयभन्दा महँगो रहेको यात्रुहरूको गुनासो छ ।
प्रकाशित मितिः २ मंसिर २०८३, बुधबार ०५:०५

रजनी याेगी ।