एउटा विषाक्त आकांक्षा

देशमा गणतन्त्र स्थापना गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपति बनाउने मीठो सपना देखाएर थाङ्नामा सुताई दिएका थिए । यहाँ कोइरालामाथि अन्याय भयो भनेको बिल्कुल होइन, उनलाई थाङ्नामा मात्रै होइन रक्षानमा फाले पनि मतलब थिएन किनकि उनले देश र जनतालाई असाध्यै पिरोलेका थिए, त्यसको छुट्टै विश्लेषण गरौंला । यहाँ प्रचण्डको नियत मात्रै विस्तार गर्न खोजिएको हो । पहिलो संविधानसभामा जनताले माओवादीलाई नै देशको पहिलो पार्टी बनाइदिए पछि प्रचण्डले सरकारको नेतृत्व गर्ने स्वर्णिम अवसर पाए । त्यो अवसरले उनको महत्वाकांक्षा यति बढाइदियो उनी अब देशको सर्वेसर्वा मात्र होइन कि श्रीपेचबिनाको अघोषित बादशाह बन्न थाले । कोइरालालाई रित्तो आश्वासन दिएर पन्छाइसकेपछि सेनामा कब्जा जमाउनका लागि सेनापति रुकमाङ्गद कटुवाललाई पनि पन्छाउने योजना बुन्न थाले । आर्थिक प्रलोभनसहित अमेरिका, बेलायत र फ्रान्सको राजदूत प्रस्ताव गरिरहेको, हाम्रो परिवारको पनि आपसमा हितप्रेम छ र हामी बीचमा पनि रसायन मिल्दोरहेछ भनी कटुवाललाई अनेक कोणबाट फकाउँदा पनि स्वार्थसिद्ध गर्न मुस्किल परेपछि अवकाश दिएर हटाउन चेष्टा गरेको विषय सन्दर्भ रुकमाङ्गद कटुवाल पुस्तकमा सविस्तार गरिएको छ । फकाएर नसकिने भएपछि सत्ता शक्तिको दुरुपयोगबाट प्रचण्डले कटुवाललाई हटाइदिए तर उनको ठूलो दुर्भाग्य राष्ट्रपति रामवरण यादवले कटुवाललाई यथावत थमौती गरिदिए । यही काण्डले नैतिकताको आधारमा प्रचण्डले प्रधानमन्त्री पदबाट राजिनामा दिएको भनियो सतहमा त्यस्तो देखियो तर अन्तर्यमा सेनाले बालुवाटार घेरिरहेको कारण राजिनामा दिन बाध्य बनेको भन्ने कुरा चर्चामा चलेको केही पुस्तकमा आइसकेको छ । पत्रकार सुधीर शर्मा र राष्ट्रपति कार्यालयका तत्कालीन कर्मचारी ललित बस्नेतको अन्तर्वार्ता संवादबाट पनि यो कुरा खुल्न आएको छ । राजीनामाबाट रिक्त रहेको प्रधानमन्त्री पदमा एमालेका माधवकुमार नेपालले नियुक्ति पाएपछि माधवलाई हटाएर पुनः आफु पदासीन हुन प्रचण्डले देशभरका माओवादी खेडेर राजधानीमा ठूलो आन्दोलन गरे । हिजो नैतिकता देखाएर छोडेको भनिएको प्रधानमन्त्री पद फेरि कुन नैतिकताले फिर्ता चाहिएको हो भन्ने प्रश्न उठ्नु अस्वभाविक होइन । लोकप्रियता भजाउन जे भनिए पनि त्यही प्रश्नको जवाफले ठहर गर्छ राजीनामा नैतिकता होइन बाध्यता थियो भन्ने कुरा ।

सत्ता खिचातानीमा संविधान नबनेर नै समय घर्कियो, दोस्रो संविधानसभाको चुनाव गर्नुपर्ने अवस्था आयो । फेरि सत्ताको नेतृत्व गरेर आकांक्षा पूरा हुन्छ भन्ने विश्वासले चुनावमा प्रचण्ड निकै उत्साहित भए । अकारण सेनाका आठ जर्नेललाई कारबाही गर्न खोजेको, पशुपतिनाथ मन्दिरको पुजारी फेर्न खोजेको र सेनापति हटाएर सेनामा माओवादी लडाकु हुल्न खोजेको जनतालाई पटक्कै मन परेको थिएन । तसर्थ जनताले माओवादीलाई सत्तारूढ हुन नपाउने नसक्ने गरि तेस्रो पार्टीको हैसियतमा पु¥याइदिए । चुनावको नतिजा नआउँदै त्यसको छनक पाएर प्रचण्ड निकै आत्तिएका थिए । मतगणना कार्य तुरुन्त रोक्नका लागि निर्वाचन आयोगलाई दबाब नदिएका होइनन् तर सकेनन् । कीर्तिपुर र सिराहाबाट उम्मेद्बारी दिएका प्रचण्ड दुबै क्षेत्रमा पराजित भए । सबैको सहमतिमा सिराहाबाट एमाले उमेदवार लीलानाथ श्रेष्ठको चित्त बुझाएर बलि चढाई प्रचण्डलाई जिताइएको कुरा पनि सार्वजनिक भैसकेको छ । दोस्रो संविधानसभा निर्वाचन परिणामले कांग्रेसका सुशील कोइरालालाई प्रधानमन्त्री बनाएपछि ऊनी निकै छटपटाए । पहिलो चुनावमा दुई सय २९ सिट संख्या जीत हासिल गर्दै सत्ताको बागडोर समाएका प्रचण्डले दोस्रो चुनावमा ८० सिट संख्या पाएर तेस्रो हैसियतमा खुम्चिएपछि बादशाह बन्ने कल्पना धेरै टाढा गयो । ऊनी प्रती पार्टीमा पनि असन्तुष्टि बढेकै थियो ।

संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भन्ने मान्यता राख्ने प्रचण्ड कुकुरको मासु खाएको स्वाद यति गहिरो गढेको थियो कि उनी फेरि सत्तामा जानका लागि प्राण सेर्न थाले । अँध्यारा कुनाबाट निर्माण गरिएको संविधान घोषणा भएपछि एमालेका खड्गप्रसाद ओलीले सरकारको नेतृत्व गर्ने अवसर पाएका थिए । ओलीको तातो तावामा स्वार्थको रोटी सेक्न पाइने सम्भावना देखेर प्रचण्डले समर्थ गरे । प्रधानमन्त्री पद बाँडफाँडको लागि भद्र सहमति केही पनि भएको छैन भन्ने ढंगबाट ओली उदासिन भइदिएपछि प्रचण्ड रातारात कांग्रेसका शेरबहादुरको शरण परेर प्रधानमन्त्री पदको कार्यकाल आधा–आधा बाँड्ने गरि देउवाको सहयोग र समर्थनमा दोस्रोपटक प्रधानमन्त्री बन्न भ्याए । देशको दुर्भाग्य चुनाव हारेका व्यक्तिले पनि तिगडम चलाएर सत्ताको नेतृत्व गर्ने भयंकर गलत परम्परा स्थापित हुन गयो ।

भरतपुरको मेयर पदमा प्रचण्ड पुत्री रेनु दाहालको प्रचारमा प्रधानमन्त्री देउवालाई उपस्थित गराउनु प्रचण्डले उपलब्धि ठानेका थिए । जनतालाई प्रचण्डको यस्तो धुत्र्याइँ पटक्कै मन परिरहेको थिएन । परिणाम रेनुले हार्ने निश्चित भएपछि मतपत्र च्यातेर धाँधली गरिएको थियो । धाँधली र कपटबाट रेनुले जीत निकाले पनि बदनामको अत्यन्त गरुङ्गो बोझ माओवादी पार्टीले सधैँ बोक्नुपर्ने अवस्था निर्माण भयो । प्रचण्डको विरोध र निन्दामा अघिपछि आगो ओकल्ने ओली मतपत्र च्यात्तिएको काण्डमा बिल्कुल तातोवाफ फालेनन् । किनभने ओली प्रचण्डलाई नजिक आइरहेको निर्वाचनका लागि पार्टी एकता गर्नुपर्ने थियो । वामपन्थी मतदातालाई भ्रमजालमा हालेर ओलीलाई सबैभन्दा ठूलो दलको नेता नेता बन्नु थियो भने प्रचण्डलाई ओरालो झरिरहेको आफ्नो लोकप्रियता रोक्दै फेरि सत्तामा जाने भर्‍याङ निर्माण गर्नु थियो । त्यसकारण निर्वाचनमा एमालेले ६० प्रतिशत र माओवादीले ४० प्रतिशत उम्मेद्बारी दिने सहमति भएको थियो । प्राप्त मत परिणामबाट एमाले ७० प्रतिशततिर चढेको थियो भने माओवादी ४० बाट ३० प्रतिशततिर ओरालो झरेको थियो । एमाले माओवादी बीचको एकता दुईजना पार्टी अध्यक्ष बनेर दुनियाँमा कतै नभएको तमासा भैरहेको थियो । एकता दीर्घ छैन भन्ने कुरा त्यही तमासाले संकेत गरिरहेको थियो ।

ओली र प्रचण्डले ढाइ ढाइ बर्षको कार्यकाल बाँडेर प्रधानमन्त्री हुने भनी गोप्य सहमति गरेका थिए ओलीले धोती लगाइदिएपछि प्रचण्ड पुत्ताउँदै फेरि देउवाको पाउ मोल्न पुगे । बादशाह बन्ने आशा–आकांक्षा तहसनहस भए पनि ओलीसँग वैरभाव बढेपछि सत्ताशक्ति प्राप्तिका लागि प्रचण्डले मर्यादाका सीमा भत्काउँदै सिद्धान्त आदर्श नीति नैतिकता सबै लिलाम गरिदिए । हिजो आफ्ना कार्यकर्तालाई सूर्यमा मत हाल्न लगाएका प्रचण्डले २०७९ को अर्को चुनावमा फेरि रुखमा मत हाल्न बाध्य बनाए ।

चुनावी परिणामले पहिलो ठूलो पार्टी कांग्रेस र दोस्रो ठूलो पार्टी एमाले हुँदाहुँदै बोली बाराबारको अवस्थामा रहेका खड्ग प्रसाद ओलीको शरण परेर षड्यन्त्रको तानाबाना बुनेर प्रचण्डले सरकारको नेतृत्व हथ्याए जो बिल्कुल असंवैधानिक थियो । पटक–पटकसम्म संसदमा विश्वासको मत लिने, बाँचुन्जेल उथलपुथल मात्रै गर्ने र सांसदमा जादुवाला नम्बर भएको कारण सरकारलाई कसैले फाल्न नसक्ने धमासमा कार्यकाल व्यतीत गरिरहेका थिए । कांग्रेस र एमाले मिलेपछि प्रचण्ड सरकार ढल्नुपर्ने अवस्थामा पुग्यो । सरकारबाट बेदखल भएपछि जनतासँग प्रत्यक्ष जोडिने भन्दै तराइतिर झरे पातमा भात खाए, पान चपाए, सेतो पहिरन लगाएर नाचे तमासा देखाए चटके बने सस्तो मनोरञ्जन दिए । जेनजी आन्दोलनले मैमत्त सत्तालाई हेलिकप्टरबाट भाग्न बाध्य पारेपछि प्रचण्डले दाउपेच लगाउन थाले । आफुलाई जेनजीको अभिभावक घोषणा गरे । कांग्रेस र एमालेको संयुक्त सरकारमा जनताको आक्रोश चुलिएको कारण उनी चुनावमा जान हौसिए । भ्रमित बनाउन नाम मात्रैका पार्टी भए पनि प्रचण्डले सायद २२ पार्टी एकीकृत गरेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेका थिए । जनताको मूल्यांकनमा नागरिकता विधेयक र एमसीसी परियोजनामा प्रचण्डको नियत उदांग भैसकेको थियो, प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमण गर्दा महाकालेश्वर मन्दिरमा धोतिपाटा फेर्दै जनै हालेर सय किलो रुद्राक्ष चढाएको घटनाले कम्युनिस्टको खोल पनि च्यातियो । पार्टीको नेतृत्व छोड्न र परिवारको बिलासी जीवनशैलीको हिसाब देखाउन केन्द्रीय कार्यसमितिमा समेत टिकाटिप्पणी हुन थालेपछि प्रचण्डले माओवादी पार्टी लाई नै आगो लगाइदिए । त्यसको परिणाम नेपाली कम्युनिस्टले पछिल्लो चुनावमा १७ सांसद संख्या पाएर चौथो पार्टी बन्न पुग्यो । सत्ता हाँक्ने सपना देखेर चुनावमा होमिएका प्रचण्डलाई परिस्थितिले प्रतिपक्षी दलको नेताबाट पनि किनाराकृत गरिदिएको छ ।

कैफियत अनुसन्धानबाट जोगिन र सत्तापक्ष जस्तै देखिनका लागि सत्तासीन पार्टी प्रमुख र सरकार प्रमुखसँग पटकपटक भेट्ने प्रयत्न गरिरहे । सफल हुन नसकेपछि देश गम्भीर संकटमा छ भन्दै बतुराउन थाले । प्रधानमन्त्री बन्न सक्ने वातावरण नभएको अवस्थामा पनि अरु नै कसैलाई प्रधानमन्त्री बनाउन सक्ने हैसियतमा आफुलाई किङमेकर वा पावर इपिसेन्टर भनाउँन चाहन्थे । उनको चतुर्‍याइँ, रङ्ग फेर्ने ढुलमुले प्रवृति परिवारवादमा डुब्दै गएको नियत र घमण्डले उनलाई राजनीतिमा उठ्न नसक्ने गरि थेचार्दै लगिरहेको छ । हिजो यो देशको नाम मेटेर अर्को नाम बदल्ने दुष्प्रयास मात्रै गरेका थिएनन् झण्डा फेर्ने कुचेष्टा पनि गरिरहेका थिए । तर देश र जनतालाई पटक्कै स्वीकार्य थिएन त्यसकारण प्रचण्डको विषाक्त आकांक्षा निरन्तर टुट्दै फुट्दै भाँचिदै र खिइँदै गइरहेको छ ।

– उमालाल आचार्य

प्रकाशित मितिः   ३० कार्तिक २०८३, सोमबार ०५:०३