लैङ्गिक अल्पसंख्यकप्रति अनुदार समाज

सुर्खेत: अञ्जली बिसी सल्यानकी हुन् । उनी छोराको रूपमा जन्मिइन् । तर, हुर्कंदै र बढ्दै गर्दा छोरीको अनुभूति गर्न थालिन् । छोरीले जस्तै सारी र चोलो लगाएर हिँड्न मन लाग्थ्यो । केटी साथीसँगै संगत गर्न रुचाउँथिन् । घरायसी काममा बढी चासो रहन्थ्यो । उनलाई पुरुषसँगै बिहे गर्ने रहर थियो । परिवारबाट उनलाई यी सबै गर्न छुट भने थिएन । अञ्जलीको रहरमा परिवारले रोक लगाउँथ्यो । किन कि उनी त पुरुष भएर जन्मेकी थिइन् । आफ्नो समुदायको पहिचानलाई अझै पनि घरपरिवार, समाज र नीति निर्माण तहमा सहजै नस्वीकारिँदा राज्यका सेवा सुविधा र संविधानले दिएको मौलिक अधिकारबाट वञ्चित हुनुपरेको उनीहरू बताउँछन् ।

जब उनले यस्ता गतिविधि गर्न थालिन् समाजले मानसिक रोगीको संज्ञा दिन थाल्यो । परिवार र समाजले अपहेलित ग¥योे । अञ्जलीले चाहेर पनि बाल्यअवस्थामा आफ्नो रहर पूरा गर्न सकिनन् । मानसिक रूपमा अञ्जली जे सोच्थिन् र अनुभूति गर्थिन्, त्यो परिवार र समाजले गर्न सकेन । अञ्जली यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायभित्र पर्थिन् । त्यो कुरा समाजले सहजै बुझ्थेन । समाजले ठान्थ्यो, पुरुष र महिलाबाहेक अरू लिङ्ग नै हुँदैन । महिला र पुरुषबाहेकका यौनिक तथा लैङ्गिक विशिष्टता स्वभाविक र प्राकृतिक हुन् भन्नेमा समाजको ठूलो हिंसा अहिले पनि स्वीकार्दैन ।

उसो त उतिबेला अञ्जलीलाई पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यकबारे थाहा थिएन । उनको नाम बाल्यकालमा आमाबुवाले राखिदिएको छोराकै थियो । जुन नाम उनलाई पटक्कै मन पर्थेन । आफ्नो यौनिकताबारे परिवार र समाजलाई खुलेर भन्न नसकेपछि उनले जिल्ला नै छोडेर हिँड्नु प¥यो । अहिले उनी सुर्खेतमा बसेर आफूजस्तै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार पैरवी गरिरहेकी छन् । कर्णाली इन्देणी आवाज गठन गरेर आफूहरूजस्तै समुदायको पहिचान र वकालत गर्दै आएकी छन् । शनिवार वीरेन्द्रनगरमा आयोजित ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकार, सम्मान तथा समावेशितासम्बन्धी विषयमा सञ्चारकर्मीहरूका लागि गरिएको अभिमुखीकरणमा आफ्नो यौनिकताबारे खुलेरै बोलिन् । ‘हामीहरू बाटोमा शिर ठाँडो पारेर हिँड्न सक्ने अवस्था छैन । कोही चाहेर यौनिक अल्पसंख्यक भएको होइन,’ उनले भनिन्, ‘हामीले पनि अरू नागरिक सरह सम्मानपूर्वक बाँच्न पाउनु पर्छ ।’ प्राकृतिक रूपमा नै आफूहरू यौनिक अल्पसंख्यक भएर जन्मिएको भन्दै अञ्जलीले भोली जसका सन्तान पनि यो समुदायभित्र पर्न सक्ने बताइन् । राज्यले महिला र पुरुषका लागि कानुन निर्माण गरेर संरक्षण गरेपनि आफूहरूलाई बेवास्ता गर्दै आएको उनको गुनासो छ । राज्यका सेवा सुविधा र संविधानले दिएको मौलिक अधिकारबाट आफूहरू वञ्चित हुनुपरेको उनी बताउँछिन् ।

अञ्जलीका अनुसार कर्णाली प्रदेशभर यौनिक अल्पसंख्यको संख्या ठूलो भएपनि अहिले २५ जनाले मात्र खुलेर आफ्नो पहिचान दिएका छन् । समाजको डरले यौनिकता लुकाउनेहको संख्या धेरै रहेको उनले बताइन् । कर्णाली प्रदेश सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि कानुन निर्माण गर्नुपर्ने उनले बताइन् । राज्यले यो समुदायको संरक्षणका लागि उचित कानुन बनाउन नसक्दा यौनिक अल्पसंख्यकहरू नखुलेको उनको भनाइ छ ।

वीरेन्द्रनगर–१० का रहिस खानलाई आजभोलि आफूलाई महिलाको नामले चिनाउन मन लाग्छ । पुरुष भएर जन्मिए पनि उनलाई महिला भएर बाच्न मन छ । उनलाई नौ वर्षको उमेरबाट नै महिलाको जस्तै पोशाक लगाउन मन लाग्थ्यो । अहिले उनी २० वर्षका भए । उनी समलिङ्गी पुरुषको पहिचान बोकेर खुलेको तीन वर्ष भयो । परिवारहरू पनि बुझ्ने भएकोले उनलाई अरुले जस्तो समस्या झेल्नु परेन । तर, उनले हक र अधिकारको लागि भने समानता पाउन सकेका छैनन् । जब समाजमा उनी पहिलो पटक महिला भएर खुले त्यतिबेला नै उनी आफू पुरुष भएको बिर्सिन्थे । घरमा तीन छोरामध्ये उनी माइला हुन् । उनले आफूलाई समलिङ्गी पुरुष भन्न रुचाउँछन् । उनले सानैदेखि महिलाले लगाउने कपडा र जुत्ता लगाउँथे, त्यस्तै कपाल बनाउन रुचाउँथ्ये । उनलाई गाउँमा सबैले माइला भनेर चिन्थे । समलिङ्गी भएको खुलेपछि घरमा त केही असहज भएन तर समाजमा हिँड्डूल गर्न समेत निकै समस्या भइरहेको छ । समाजकै कारण आफ्नो पहिचानअनुसारको लुगा लाउन र खुलेर बोल्न सक्दैनन् । उनले पुरुषकै नामबाट नागरिकता लिएका छन् । खानलाई महिला हुँ भनेर खुल्न मन छ । तर समाजकै कारण उनी पुरुषकै भेषमा हिँड्डूल गर्ने गर्छन् ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको महासंघ नेपालका कार्यक्रम संयोजक सिम्रन शेरचनले आफूहरू कुनै पापको फल नभइ प्राकृतिक प्रक्रियाबाटै जन्मिएकोले राज्यले महिला र पुरुष सरह बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने बताइन् । उनले यौनिक अल्पसंख्यकहरू थुप्रै भए पनि समाजको चिन्तनका कारण खुल्न नसकिरहेको जनाइन् । उनले समलिङ्गी विवाह समाजले स्वीकृति नदिने गरेको बताउँदै यस्ता जोडिहरूले नागरिकता र विवाह दर्ताको प्रमाण–पत्र नपाउने गरेको सुनाइन् । ‘विवाह भनेको पुरुष र महिलाबीच मात्रै हुन्छ र नागरिकता तथा जागिर उनीहरूलाई मात्र चाहिन्छ भन्ने सोच राज्यको छ,’ उनले भनिन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूका लागि समेत आवश्यक कानुन निर्माण गरी महिला र पुरुष सरह समाजमा बस्ने वातावरण बनाउनु जरुरी रहेको उनले औंल्याइन् । यो समुदायको पहिचानलाई अझै पनि घरपरिवार, समाज र नीति निर्माण तहमा सहजै स्वीकारेको पाइँदैन ।

कार्यक्रममा सहभागीहरूले यस समुदायका विषय समाचारमा समेट्दा प्रयोग गरिने भाषा, शब्दावली र प्रस्तुतिमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष मधुवन बिसीले सञ्चारमाध्यम समाजमा रहेका विभेद र गलत धारणालाई परिवर्तन गर्ने प्रभावकारी माध्यम भएकाले पत्रकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सवाललाई जिम्मेवार ढङ्गले उठाउनुपर्ने बताए । उनले पत्रकारिताले कसैको पहिचान र आत्मसम्मानमा चोट पु¥याउनेभन्दा पनि समाजमा सम्मान, समानता र स्वीकार्यता स्थापित गर्न सहयोग गर्नुपर्ने धारणा राखे । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयलाई सनसनीपूर्ण बनाउने वा फरकपनका रूपमा मात्रै प्रस्तुत गर्ने प्रवृत्तिबाट सञ्चारकर्मी सचेत हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मितिः   १६ कार्तिक २०८३, आईतवार १८:१५