चाडबाडमा मन रुवाउँदै आश्रमवासी

सुर्खेत: गेट खोल्ने बित्तिकै झ्यालबाट चियाइन लछीमाकुमारी गौतम । आश्रम प्रवेश गर्ने गेटको आवाज आयो कि झट्ट उठेर हेरिहाल्छिन् उनी । उमेर ६९ वर्ष भयो । बाह्र वर्षदेखि वीरेन्द्रनगरस्थित प्रशान्ति वृद्धाश्रममा छिन् । चाडपर्वका बेला उनलाई कोही आफन्त भेट्न आउँलान् कि भन्ने आश लाग्छ ।

दसैँ यत्तिकै बित्यो । मुखैमा तिहार आउँदैछ । त्यसैले पनि उनका आँखाले आफन्तको आभास खोजिरहेको छ । बर्सेनि आउने दसैँ–तिहारमा उनी विगत सम्झेरै बस्छिन् । वृद्धाश्रममा छिरेदेखि उनले आफन्तसँग दसैँ–तिहार मनाउन पाएकी छैनन् । ‘आफन्त नजिकै छन् तर यहाँ भेट्न कोही आउँदैनन्’ उनले भनिन्, ‘दिन गए, सबैले माया मारे । आफन्तसँग बसेर चाडवाड मनाएका ती दिन सपनाजस्तै भए, अब त आश पनि छैन ।’

प्रशान्तिमा आश्रित अर्का ज्येष्ठ नागरिक हुन्, खड्कप्रसाद आचार्य । शरीरमा तागत हुञ्जेल उनले भारतमा मजदुरी गरे । बिहे गरेनन् । उमेर बढ्दै जाँदा शरीरले पनि साथ दिन छोड्यो । उनका पनि आफन्त छन् । भएर के गर्नु ? नजिक कोही आउँदैनन् । ‘बुुढेसकालको सहारा यहीँ भयो,’ उनले आश्रमका भित्ताहरूमा चियाउँदै भने । आचार्य अहिले पनि नजिकका आफन्तलाई सम्झिरहन्छन् । ‘बुढेसकालमा झन् धेरैको याद आउने रहेछ । उनीहरूले पो मलाई बिर्से होलान्,’ उनी भन्छन्, ‘कोही भेट्न आउँलान् कि भनेर अझै आश लागिरहन्छ ।’

५९ वर्षीया विष्णु तिवारी सात वर्षदेखि आश्रममा आश्रित छन् । रामेछाप जिल्लाकी उनलाई आश्रमले सहारा दिएको छ । आश्रम पुगेपछि उनको जीवनमा परिवर्तन आएको छ । आश्रममा बस्न आनन्द भएपनि चाडपर्वमा भने घरमा जाने इच्छा हुने तिवारी बताउँछिन् । ‘चाडपर्वमा घर जाम, आफन्त भेटौँ भएर के गर्ने यही बसेकी छु,’ उनले भनिन् ‘घर जान मन लाग्छ, तर कोही छैनन् ।’

दैलेखको गुराँस गाउँपालिकाका टंकबहादुर डाँगी र उनकी श्रीमती खगिसरा डाँगी पनि यही प्रशान्ति आश्रममा छन् । टंकबहादुर ७० र खगिसरा ६३ वर्षकी पुगिन् । उनीहरूका एक सन्तान छन् । भएका सन्तान पनि रोजगारीका लागि भारत गएका उतै हराए । अहिले उनीहरूको सहारा आश्रम बनेको छ । घरमा हेरचाह गर्ने कोही नभएपछि आश्रममा आएको उनीहरू बताउँछन् । शरीरमा तागत हुञ्जेल उनीहरूले अरुकै घरमा काम गरे । साहारा नभएका उनीहरू आश्रमको छहारीमा बसिरहेका छन् । ‘चाडबाड लाग्यो कि मन कुँडिन्छ’ डाँगी दम्पतिले भने, ‘कोही आउँलान् की भन्ने आश मरेको छैन ।’

यी केही प्रतिनिधि पात्र हुन् । कोही र केही नहुने मात्र होइन, सबैथोक भएकाहरू पनि उमेर ढल्कदै जाँदा बेसहारा बनेका छन् । ज्येष्ठ नागरिकलाई परिवार र समाजले बेवास्ता गर्ने प्रवृत्ति दिनहँु बढ्दो छ । आफ्नै सन्तानबाट समेत पाका पुस्ताहरू अपहेलित हुने गरेका हुन् । उनीहरूका लागि वृद्ध आमाबुवा ‘बोझ’ बनिरहेका छन् । जसका कारण बुढेसकालमा वृद्धवृद्धाहरू सहाराविहीन हुने गरेका हुन् । राज्यले समेत ज्येष्ठ नागरिकलाई उचित सम्मान र संरक्षण गर्न सकिरहेको छैन । तीनै तहका सरकारले उनीहरूको स्वास्थ्य, सुरक्षा र ज्ञान सीपको पुस्तान्तरण गर्ने ठोस नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् । सरकारी निकायसमेत ज्येष्ठ नागरिकप्रति अनुदार देखिन्छ । सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता र सार्वजनिक सेवामा दिइएका केही सुहलियतबाहेक ज्येष्ठ नागरिकलक्षित कार्यक्रम बनेका छैनन् ।

आफन्त, समाज र राज्यको बेवास्ता भोगिरहेका नागरिकहरूलाई आश्रमहरूले भने निकै राहत मिलेको छ । बाँकी जीवन गुजार्ने सहारा आश्रमहरू बनेका छन् । प्रशान्ति वृद्धाश्रमले वि.सं. २०५४ सालदेखि वृद्धवृद्धाको सेवा गर्दै आएको छ । त्यहाँ अहिले २९ जना ज्येष्ठ नागरिक छन् । आश्रमलाई विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुँदै आएको छ । आश्रम सञ्चालक समितिका उपाध्यक्ष शीतलसिंह राठोरका अनुसार एक करोड बराबरको अक्षयकोष स्थापना गरी त्यसबाट आउने ब्याजले ज्येष्ठ नागरिकका लागि हुने खर्च व्यवस्थापन गर्ने गरिएको छ । जन्मदिन, विवाह, वार्षिक तिथिलगायतको अवसरमा पनि विभिन्न व्यक्तिहरूले आश्रमलाई खाद्यान्न, जिन्सी र नगद सहयोग गर्ने गरेको उनले जानकारी दिइन् । अहिले स्थानीय र प्रदेश सरकारले पनि बजेट विनियोजन गरेका छन् । चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले आठ करोड बजेट विनियोजन गरेको छ । वीरेन्द्रनगर नगरपालिका र वडाले समेत बजेट विनियोजन गर्ने गरेको छ ।

प्रकाशित मितिः   १३ कार्तिक २०८३, बिहीबार १७:०६