पूर्वमुख्यमन्त्री शाही कांग्रेसको सहमहामन्त्री

सुर्खेत: कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बन्न सफल भएका छन् । पार्टीको १५औँ महाधिवेशनबाट उनी सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

पिछडिएको क्षेत्रबाट उनी सहमहामन्त्रीको उम्मेदवार बनेका थिए । जसमा सर्वाधिक मत पाउँदै शाही कांग्रेसको केन्द्रीय नेतृत्वमा पदाधिकारी बन्न सफल भएका छन् । उनले तीन हजार नौ सय ६ मत पाएर विजयी भएका हुन् ।

निकटतम प्रतिस्पर्धी जनकराज गिरीले एक हजार तीन सय ७० मत प्राप्त गरेका छन् । शाही र गिरीसँगै अरु तीन जना उक्त पदमा प्रतिस्पर्धामा थिए । जसअनुसार नारायणप्रसाद भट्टराईले सात सय ३१ मत पाए । राजन कुँवरले तीन सय २४ र रामबहादुर विष्टले दुई सय ६० मत प्राप्त गरेका छन् ।

१५औँ महाधिवेशनबाट केन्द्रीय पदाधिकारीमा चयन हुने शाही एक मात्रै नेता हुन् । उनी १४औँ महाधिवेशनमा पनि सहमहामन्त्रीमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए । दोस्रो प्रयासमा उनी उक्त पदमा पुग्न सफल भएका हुन् ।

शाही महाधिवेशनको सम्मुखमै संस्थापन पक्षमा समाहित भएका थिए । त्यसअघि शेरबहादुर देउवा समूहमा रहेका उनी विशेष महाधिवेशनमा सहभागी भएका थिएनन् । आठ बुँदे सहमतिपछि पूर्वउपसभापति पूर्णबहादुर खड्का समूहका धेरै नेता संस्थापनमा खुलेका थिए ।

प्रकाशित मितिः   २८ आश्विन २०८३, बुधबार ११:१८