पाँच हजारभन्दा बढी प्रहरी परिचालन

सुर्खेत: कर्णालीमा चाडपर्व लक्षित ‘सुरक्षा योजना–२०८३’ तयार पारेर लागू गरिएको छ । प्रदेश प्रहरी कार्यालयले विजयादशमी, दीपावली र छठ पर्वका अवसरमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधि, सडक दुर्घटना न्यूनीकरण एवम् सडक अनुशासन कायम गर्ने उद्देश्यसहित उक्त सुरक्षा योजना तयार पारेको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले आइतवारदेखि सुरक्षा योजना लागू भइसकेको बताए । कार्तिक ३० गते छठ पर्व समाप्त हुँदासम्म यो योजना लागू हुने उनले बताए । ‘चाडपर्वको समयमा हुन सक्ने कुनै पनि आपराधिक गतिविधि तथा अवाञ्छित क्रियाकलाप हुन वा गर्न नदिइ आम नागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाइने छ,’ उनले भने ।

सार्वजनिक स्थल, मेलापर्व लगायतका स्थानमा झैझगडा, हुलदंगा लगायतका कुनै पनि आपराधिक तथा अवाञ्छित गतिविधि हुन दिइने छैन । बैंक तथा वित्तीय संस्था, सुनचाँदी र गरगहना पसललगायत आर्थिक कारोबार हुने स्थान तथा बढी भीडभाड हुने ठाउँमा चोरी, लुटपाट तथा पाकेटमारीका घटनालाई नियन्त्रण गरिने छ । बजारमा हुने कृत्रिम अभाव, मूल्यवृद्धि, कालोबजारी र ठगीका घटनालाई पूर्णरूपमा नियन्त्रण गर्ने योजना प्रहरीको रहेको राठौरले बताए ।

साथै, सवारी दुर्घटनाका घटना न्यूनीकरण गर्ने, तोकिएभन्दा बढी भाडा लिन नदिने र सहज आवागमनको व्यवस्था मिलाउनुका साथै अवैध हातहतियार तथा विस्फोटक पदार्थको ओसारपसार र प्रयोगमा कडा नियन्त्रण गरिने छ । सुरक्षा योजनाअनुसार धार्मिक तथा सांस्कृतिक सम्पदा र पर्यटकीय स्थलको सुरक्षा व्यवस्था मिलाइने छ । सरकारी कार्यालय तथा महŒवपूर्ण प्रतिष्ठानको सुरक्षा पनि गरिने उल्लेख छ । जुवातास, डाइस, लङ्गुरबुर्जा, कौडा तथा अनलाइन सट्टेबाजी खेल्ने प्रवृत्तिलाई पूर्णरूपमा नियन्त्रण गरिने राठौरले बताए ।

प्रहरीले सहरबजार, बैंक तथा वित्तीय संस्था, पर्यटकीय एवम् धार्मिक स्थलदेखि विकट ग्रामीण बस्तीसम्म सुरक्षा जालो फैलाएको छ । त्यसका लागि प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयसमेत गरी जम्मा एक हजार चार सय ६२ वटा ड्युटीमा पाँच हजार तीन सय १४ जना प्रहरी परिचालन गरिएको प्रवक्ता राठौरले बताए ।

प्रकाशित मितिः   २६ आश्विन २०८३, सोमबार १६:३६