बागीनाको रङ्गयात्रा

बाजा गीत नाच र नाटकको संक्षिप्त नाम बागीना । कला र संस्कृतिको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बागीना समूह कर्णाली प्रदेशमा अग्रणी नाम हो भन्दा कसैको विमति हुन सक्दैन भन्ने लाग्छ । किन कि संगीत, नृत्य र नाटकीय गतिविधिबाट बागीनाले राष्ट्रियस्तरमा समेत बलियो पहिचान बनाइसकेको छ । निरन्तररूपमा भइरहने बागीनाका नाटकीय गतिविधि पछिल्ला केही वर्षहरूमा निकै सुस्ताएको आभास रङ्गकर्मीलाई नभएको होइन । तथापि आफ्ना कठिनाइ चिर्दै र समस्याको समाधान पहिल्याउँदै जीवनको मूल्य नामक नाटकबाट बागीना समूह सुर्खेत फेरि रङ्गकर्मको अभियानमा कृयाशील हुन थालेको छ । किडार्क नेपालको समन्वयबाट ब्यानरमा बागीना संस्थाको नाम लिएर हामी रङ्गकर्मीलाई छिमेकी जिल्ला दैलेखमा विचरण गराएको यो अभियानले रुकुम जिल्लामा पनि भ्रमण गराउने जमर्को गरिरहेको छ ।

प्रायः ग्रामीण जनजीवनमा घरायसी कामलाई महिलाको नै ठेक्का सम्झिएर पुरुष पन्छिने परिपाटी समाजमा जीवित छ । यस्तो परिपाटीलाई फेरबदल गरेर समयानुकूल बनाउन पनि त्यत्तिकै जरुरी छ । रङ्गकर्मका होनहार अभिनेता तथा बागीना समूहका सचिव भानु अधिकारीले महिलामाथिको श्रम शोषणलाई चिरफार गर्दै सबैको मन जित्ने उम्दा नाटक लेखेका छन् । उनको नाटकले नारी–पुरुषलाई श्रमका लागि समान हैसियत दिने विषय मात्र उठाएको छैन यहाँ श्रम गर्ने श्रमिकहरूलाई सामाजिक कोषमा आवद्ध हुन पनि प्रेरणा र सन्देश दिइरहेको छ । जीवनको उर्जनशील समय रङ्गकर्मको अभिनयमै लगानी गरिरहेका अधिकारीले पहिलोपटक नाटकमा कलम चलाएर साहित्य यात्रातिर पनि कदम चाल्न खोजेको आभास हुन्छ । मान्छेलाई समय काम र अनुभवले पनि परिपक्व बनाउँदै लैजाने कुरा कसैले नकार्न मिल्दैन ।

नाटकलाई दृश्यमा उतारेर जीवन्त पार्नका लागि मञ्चमा पात्रको आवश्यकता हुन्छ । नाटकमा कर्म गर्ने पात्रलाई नै नाट्यकर्मी वा रङ्गकर्मी भनिन्छ । रङ्गकर्मीका लागि अभिनय महत्त्वपूर्ण कुरा मात्र होइन, अनिवार्य शर्त नै हो । वा यसो भनौं अभिनय कला विना कोही पात्र रङ्गकर्मी हुनै सक्दैन । नाटकमा संवाद, आङ्गिक, आहार्य र सात्वीकलाई अभिनयको महत्त्वपूर्ण अङ्ग मानिन्छ । संवाद स्पष्ट र ओजन्दार हुनुपर्ने धारणा छ । त्यस्तो संवाद स्वरलेले दर्शक श्रोताको सजिलै ध्यानाकर्षण गर्छ । अभिनयमा तल्लीन रहँदा कुनै कुनै क्षण संवाद नभए पनि मुर्तिवत् बन्न वा अनावश्यक चलायमान गर्न त्यति वाञ्छनीय हुँदैन, बरु क्रियामा पात्रको निरन्तर प्रतिक्रिया चाहिन्छ । आँखा टाउको हातगोडा र शरीरिक हाउभाउको माध्यमबाट पनि प्रतिक्रिया जाहेर गर्ने गरिन्छ जसले गर्दा नाट्यकर्मीहरूको अभिनय स्वभाविक देखिन आउँछ । समयकाल परिस्थिति भूगोल र वातावरण अनुकूल झैं देखाउन पात्रमा वेषभूषाको पनि अहम् अर्थ रहने गर्छ । अभिनयमा अर्को महत्त्वपूर्ण चिज हो ऊर्जा । जसलाई सात्विक पनि भन्ने गरिन्छ । यसै ऊर्जामा पर्छन् आत्मागत अनुभूतका रसहरू । यथार्थ अभिनयले दर्शक श्रोतालाई हँसाउने, आक्रोशित पार्ने, तताउने उचाल्ने मात्र होइन गम्भीर बनाउने, मन धर्काउने र आँसु झार्नेसम्मको स्थितिमा पनि पुर्‍याइदिन्छ । अभिनयमा रसहरूले त्यस्तो जोश तागत बोकेर दर्शक श्रोतालाई उद्वेलित र आक्रोशित पार्ने क्षमता राखेका छन् । त्यसकारण स्वात्त्विक विनाको अभिनय कर्मकाण्डी जस्तो मात्रै हुन्छ भन्दा अतिशयोक्ति हुँदैन । नाट्यकर्मीको सशक्त अभिनयमा यिनै चार थोकको विषेश भूमिका रहन्छ ।

परम्परादेखि रङ्गमञ्चमा प्रदर्शन गरिने नाटक समयकाल र परिवेश अनुसार दर्शक श्रोतासँग जोडिँदै रेडियो र सडकमा पनि आएको छ । चेतना जगाउन र सन्देश प्रवाह गर्न सडक नाटक पछिल्ला दिनमा लोकप्रिय बन्दै गएको छ । नाटकको अभिनयमा निखार ल्याउन आवश्यक सर्जामको प्रबन्ध मिलाउन पूर्वाभ्यासको ठूलो महत्त्व हुन्छ । प्रस्तुत सडक नाटक जीवनको मूल्य निर्देशन गर्ने जिम्मेवारी बागीनाले मेरो काँधमा हालिदिएको थियो । नाटकमा सुर्खेतका प्रसिद्ध बाँसुरीवादक तथा बागीनाका चौतर्फी प्रतिभा ज्ञान बहादुर नेपाली, नाटकमा नै समय खर्च गरिरहेका विशुद्ध रङ्गकर्मी तथा बागीना समूहका अध्यक्ष गणेश बस्नेत, गितारवादक तथा बागीना सदस्य दिनेश पन्त, बागीना संगीत विभागका सदस्य टिआर शाही (टिआर शाही), सञ्चारकर्मी मालती बिके, रङ्गकर्ममा सक्रिय पर्वत परियार र भुमिका परियारसमेतको अभिनय रहेकोे छ ।

पूर्वाभ्यासको सुरूवाती चरणमा काम सकेर घर फर्कंदै गर्दा मोटरसाइकलमा सवार दिनेश र भुमिका साँझमा अटोसँग दुर्घटनामा परेका कारण भुमिकालाई ज्यादा चोटपटक लागेर अस्पतालमा उपचार हुँदैगर्दा केही दिन प्रभाव पर्न गएको थियोे । फेरि केही दिनपछि अर्की कलाकार कमला पौडेल पनि अशक्त बिरामी परेको भन्ने खबर बुझिन आएकोले मालतीबाट रिक्त स्थान पूर्ति गर्नुपरेको थियो । निर्धारित समयमा प्रदर्शन सक्ने तयारी हुँदाहुँदै असोज ८ गतेदेखि १२ गतेसम्मको अविरल वर्षाले योजना बिथोली दिएको थियो । अनेक कठिनाइका बाबजुद यही असोज १६ गते दैलेखमा नाटकीय कार्यक्रम सम्पन्न भइसकेको छ । आन्तरिक कारण रुकुममा असोज २६ गते मात्र प्रदर्शन गरिने कार्यक्रम तय भएको बुझिन आएको छ ।

नाटक उन्ननयका लागि भन्दा पनि बेरोजगार समय र अलि फुर्सदमा रमाइलो गर्न अथवा दिन कटानीमा झुम्मिने प्रवृति बढ्नु र रमिता बनाइनु सुखद होइन । नाटकलाई नौटंकी र तमासा बनाएर सस्तो मनोरञ्जन दिन र समय मात्रै कटाउन खोज्नेहरूले यसको धर्म निभाउन र मर्म बुझ्न सक्दैनन् भन्ने लाग्छ । किनभने मञ्चन गरिने नाटक रङ्गकर्मीले अद्योपान्त पढेर बुझ्नुपर्ने हुन्छ । आफ्नो भागमा परेको संवाद कण्ठस्थ पार्नुको विकल्प हुँदैन । कतिपय शब्द र वाक्यको भाव बुझेर मात्र पुग्दैन चेतना र सन्देश दिनका लागि अक्षरश कण्ठः पार्नैपर्ने हुन्छ । कण्ठाग्र पारिएको संवाद कुनै चिठी पत्र वा खबर पढेको जस्तो पढेर वा घोकेर रटेर मिल्दैन, प्रवाहमा समेत हेक्का राख्नुपर्छ । संवादमा उतारचढाव, विराम, अल्पविराम धेरै धेरै कुरामा ध्यान दिनुपर्छ विचार पुर्‍याउनु पर्छ । मञ्च नाटकहरूमा संवाद सँगसँगै अभिनय पनि उतार्नु पर्ने हुन्छ । संवादमा ध्यान केन्द्रित गर्दा अभिनय भत्किने र अभिनयमा विचार पु¥याउँदा संवाद छुट्ने समस्याले सिकारु निकै सास्ती खेप्न गर्दछन् । त्यसकारण नाटकमा काम गर्नु सोचे जस्तो सजिलो हुँदैन । नगण्य केही अपवाद बाहेक संसारका सबै काममा कोही पनि निपुण हुन सक्दैन । मान्छेले हासिल गरेको ज्ञान विषय, विज्ञता, शैली र रुचि फरक फरक हुन्छन् । कोही कसैको रुचि र रहरले मात्र सफलता वा निपुणता प्राप्त हुन सक्दैन त्यसको लागि प्रतिभा र लगनशीलता पनि चाहिन्छ । कोही भाग्यमानीसँग जन्मजातको प्रतिभा पनि हुने गर्छ, यस्तो प्रतिभालाई पश्चिमाहरू गड् गिफ्ट भन्ने गर्छन् । त्यस्तो प्रतिभाले तालिम प्रशिक्षण पायो भने छिट्टै नै कुशल जनशक्ति उत्पादन हुने कुरामा विश्वास गर्न सकिन्छ । भनाइको मतलब रहर गरेर सिकेर भन्दा पनि अन्तरमनबाट जुर्मुराउने प्रतिभा अब्बल हुन्छ भन्न खोजिएको हो ।

कुशल रङ्गकर्मीको अभावले नाटकमा समर्पणभन्दा पनि कामचलाउ प्रवृत्ति अलि हावी हुँदै गएको छ । यसले गर्दा नाट्यकर्ममा अवमूल्यन भएको आभास हुन्छ । रङ्गकर्ममा निन्तर लागि परेका रङ्गकर्मीहरूको आत्माकेन्द्रित भावनाले कतै यसलाई मलजल गरिरहेको छकि भनेर पनि सोच्नुपर्ने भएको छ । नाटकीय गतिविधि गर्ने कुनै पनि संस्थाले दक्ष र कर्मशील पात्रको पहिचान गरि नाटक लेखन कार्यमा, उचित भूमिका निर्वाहमा र निर्देशकीय पक्षमा पनि अभिप्रेरित गर्दै जानुपर्ने आवश्यकता लामो समयदेखि खड्किरहेको छ । यसो गर्न नसके जिज्ञासा उत्सुकता र हुटहुटि बोकेका योग्य र दक्ष रङ्गकर्मका कलाकारको मनमा अँध्यारो पस्छ र जाँगर ओइलाउँदै जान्छ । परिणाम नाटकमा उही निराशा र उही कामचलाउकै हालीमुहाली हुन जान्छ । त्यसर्थ रङ्गकर्मको हिताका लागि विचार फराकिलो बनाउँदै भावनाको विकास गर्नुपर्ने देखिन्छ । जसले गर्दा काममा जिम्मेवारी बढ्दै जाने, जिम्मेवारीले लगनशील बनाउने प्रतिभाको कदर हुने जोश जाँगर पलाउने जस्ता सकारात्मक प्रभावले पात्र रङ्गकर्ममा स्वतः समर्पित हुन्छ । अन्ततः रङ्गमञ्च सदाकाल कृयाशील भैरहन्छ सुस्ताउन पाउँदैन ।

 

-उमालाल आचार्य

प्रकाशित मितिः   २४ आश्विन २०८३, शनिबार ०९:४६