कृषकलाई मौसम सूचना
कहिले भारी वर्षा । कहिले लामो खडेरी । असिना, तुसारो, बेमौसमी वर्षा वा अन्य मौसमी प्रतिकूलताका कारण कर्णालीका किसानले हरेक वर्ष ठूलो क्षति बेहोर्दै आएका छन् । कहिले रोपाइँ गर्ने, कहिले बाली भिœयाउने, वर्षाको सम्भावना हुँदा विषादी वा मल प्रयोग गर्ने कि नगर्ने, खेतमा पानी निकासको व्यवस्था कसरी मिलाउने, पशुपन्छीलाई कसरी सुरक्षित राख्ने– यी सामान्य देखिने तर उत्पादन र आम्दानीसँग प्रत्यक्ष जोडिएका प्रश्न हुन् । यस्ता विषयमा सही समयमा प्राप्त हुने एउटा भरपर्दो सूचनाले किसानको ठूलो क्षति रोक्न सक्छ । त्यसैले कर्णाली प्रदेश सरकारले ‘कृषि मौसम सल्लाह बुलेटिन’ निर्माण गर्ने पहल थालेको छ ।
कर्णालीको भौगोलिक विविधता यसका लागि थप चुनौती हो । हिमाली, पहाडी र भित्री मधेससम्म फैलिएको प्रदेशमा एउटै मौसम र एउटै कृषि सल्लाह लागू हुँदैन । जुम्लाको स्याउ र मार्सी धानका लागि आवश्यक सल्लाह सुर्खेतको तरकारी वा दैलेखको पशुपालनका लागि उस्तै हुन सक्दैन । त्यसैले बुलेटिन प्रदेशस्तरीय सामान्य सूचना मात्र नभई स्थानीय भूगोल, बाली, पशुपन्छी र मौसमको अवस्थाअनुसार फरक–फरक सल्लाह दिने प्रणाली बन्नुपर्छ । त्यसैगरी, बुलेटिनमा मौसमको पूर्वानुमान मात्र राखेर पुग्दैन । पूर्वानुमानसँगै ‘अब किसानले के गर्ने ?’ भन्ने स्पष्ट व्यावहारिक सल्लाह हुनुपर्छ । उदाहरणका लागि भारी वर्षाको सम्भावना छ भने धान वा तरकारी खेतमा पानी निकासको व्यवस्था गर्नुपर्ने, बाली भित्र्याउने समय नजिक छ भने काट्ने वा केही दिन पर्खने, विषादी छर्किएको छ भने वर्षाको सम्भावना कति छ भन्ने आधारमा निर्णय गर्नुपर्ने, चिसो वा तुसारोको सम्भावना भए पशुपन्छी र तरकारीलाई कसरी जोगाउने भन्नेजस्ता सुझाव समेटिनुपर्छ। किसानले बुझ्ने सरल भाषामा यस्तो सूचना दिइए मात्र बुलेटिनको वास्तविक अर्थ हुन्छ । यसका लागि जल तथा मौसम विज्ञान विभाग, कृषि विज्ञ, पशु चिकित्सक, कृषि प्राविधिक, विश्वविद्यालय तथा स्थानीय तहबीचको समन्वय आवश्यक छ ।
मौसम पूर्वानुमान र कृषि सल्लाहबीचको दूरी कम गर्न सकिएन भने बुलेटिन कागजी दस्तावेजमै सीमित हुनेछ । त्यसैले नियमित तथ्यांक संकलन, स्थानीय मौसमको अध्ययन र पूर्वानुमानको प्रभावकारिता मूल्यांकनलाई पनि प्रणालीको हिस्सा बनाउनुपर्छ । सूचना प्रसारको माध्यम पनि बहुआयामिक हुनुपर्छ । मोबाइल सन्देश, सामाजिक सञ्जाल, स्थानीय रेडियो, टेलिभिजन, एफएम, कृषि प्राविधिक, किसान समूह, सहकारी र स्थानीय तहका सूचना केन्द्रमार्फत एउटै सूचना किसानसम्म पु¥याउन सकिन्छ । डिजिटल पहुँच नपुगेका किसानका लागि स्थानीय कृषि प्राविधिक र किसान समूह अझ प्रभावकारी माध्यम बन्न सक्छन् । बुलेटिन केवल वेबसाइटमा राखेर ‘किसानसम्म सूचना पुगेको’ मान्ने प्रवृत्तिले उद्देश्य पूरा गर्दैन ।
प्रकाशित मितिः २३ आश्विन २०८३, शुक्रबार १०:४०
सम्पादकीय ।