अब कृषि मौसम बुलेटिन

सुर्खेत: कृषि मौसम सल्लाह बुलेटिन जारी गर्न विज्ञहरूले सुझाव दिएका छन् । मौसमअनुसार कुन बाली लगाउने, रोगकीराबाट कसरी जोगाउने र कुन समयमा विषादी वा मल प्रयोग गर्ने भन्ने प्राविधिक विषयमा जानकारी सहितको बुलेटिन जारी गर्न विज्ञहरूले सुझाव दिएका हुन् ।

भारी वर्षा, खडेरी, तुसारो वा असिनापानीको सम्भावना भएमा खेतबारी र पशुगोठको सुरक्षा कसरी गर्ने (जस्तैः निकासको व्यवस्था) भनी सचेत गराउने विषयमा कर्णाली प्रदेश सरकारलाई विज्ञहरूले सुझाव दिएका हुन् । विज्ञहरूको सुझावका आधारमा कर्णाली प्रदेश सरकारले ‘कृषि मौसम सल्लाह बुलेटिन’ निर्माण गर्ने भएको छ । विज्ञको सुझाव र जनशक्ति व्यवस्थापन गरेर बुलेटिन तयार गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । किसानलाई कृषि कार्य गर्दा मौसमी अवस्था बारेमा जानकारी गराइ सचेत गराउने उद्देश्यले ‘कृषि मौसम सल्लाह बुलेटिन’ निर्माण पारेर जारी गरिने मन्त्रालयका योजना महाशाखा प्रमुख तिलक पाण्डेले बताए । मंगलवार र बुधवार सुर्खेतको वीरेन्द्रनगरमा चलेको दुई दिने ‘कृषि मौसम सल्लाह सम्बन्धी’ प्रदेशस्तरीय कार्यशाला गोष्ठीले एउटा ठोस योजना बनाएको छ । मन्त्रालय र जैविक विविधता अनुसन्धान तथा विकासका लागि पहल (ली–बर्ड) को सहकार्यमा योजना अघि बढाउन लागिएको हो । विशेषगरी बढ्दो जलवायु परिवर्तनको असरसँगै मौसमी प्रतिकूलता कृषि क्षेत्रका लागि चुनौतीपूर्ण बन्दै गएको भन्दै प्रदेश सरकारले पहिलो पटक ‘कृषि मौसम सल्लाह बुलेटिन’ निर्माणको काम सुरु गर्ने भएको हो ।

पहिलो चरणमा विज्ञहरूसँग सुझावसमेत मागिएको छ । बुलेटिनले मौसम पूर्वानुमान गरी कृषकलाई बालीनाली लगाउने र भित्र्याउने समयबारे सचेत गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । मौसमी जानकारी नहुँदा कृषकहरूको बालीमा बर्सेनि रूपमा ठूलो क्षति हुने गरेको छ । प्रदेश सरकारले कृषि मौसम सल्लाह बुलेटिन निर्माण गरेर सबै किसानसम्म पु¥याउने लक्ष्य राखेको छ ।

क्षमता अभिवृद्धिसँगै किसानले गर्दै आएका अभ्यासलाई परिवर्तित मौसम अनुकूल बनाउन मौसमसम्बन्धी जानकारी गराउनेगरी बुलेटिन निर्माण गर्न कृषि मौसम सल्लाह विज्ञ रमेश आचार्यले सुझाव दिएका छन् । उनले यसबाट प्रतिकूल मौसमका कारण खेती बालीमा पुग्ने क्षति कम गर्न सकिने भएकाले सरकारले योजना निर्माण गरेर कृषि मौसम सल्लाह बुलेटिन जारी गरेर कार्यान्वयन गर्नुपर्ने बताए । प्रदेशले तयार पार्ने बुलेटिनमा खाद्यान्न बाली, तरकारी बाली, फलफूल बाली, पशुपन्छी– त्यसमा पनि कुखुरा, बंगुर एउटा समूह र गाईभैंसी अर्को समूहमा राख्न उनको सुझाव छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र जैविक विविधता अनुसन्धान तथा विकासका लागि पहल (ली–बर्ड) को समन्वयनमा कृषि विभाग, जल तथा मौसम विज्ञान विभागका वैज्ञानिकसँग परामर्श गरिएको हो । दैलेखको दुल्लू नगरपालिकाका पशु शाखा प्रमुख डा. विशाल पाठकले मौसम बुलेटिनहरू सबै किसानसम्म पुग्नेगरी निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिए । पूर्वानुमान सम्बन्धी सूचना, किसानसम्म पहुँच नहुँदा पनि सबै क्षेत्रका किसानले मौसमी चक्रलाई बुझ्न नसकेको भन्दै उनले तल्लो तहका कृषिक लक्षित योजना निर्माण गर्नुपर्ने जनाए । ‘अहिले धेरै किसानहरू सञ्चारको पहुँचमा छन्, सबै पालिकामा सञ्चार पुगेको छ, स्थानीय निकायमा आवद्ध किसानहरूको पहुँचमा पुग्नेगरी बुलेटिन निर्माण गर्नुपर्छ’, उनले भने । जलवायु परिवर्तनले गर्दा तुरुन्तै पानी परिहाल्ने अवस्थामा या त मौसमविद्ले पानी पर्छ, केही दिन पाकेको बाली नकाट्नुस्, वा यसो गर्दा उचित हुन्छ भनेर सुझाव दिँदा पूर्ण रूपमा प्रभाव नपरे पनि धेरै हदसम्म बाली जोगिने भएकाले प्रदेश सरकारले सबै कृषकका सवाललाई समेटेर बुलेटिन निर्माण गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।

जलवायु परिवर्तनको असर हरेक वर्ष फरक–फरक स्वरूपमा देखिन थालेको ग्राजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेष्टी मध्यपश्चिम विश्वविद्यालय रामघाटका डिन डां. करणसिंह धामीले बताए । बाली लगाउन पानी चाहिने बेलामा लामो खडेरी, बेमौसमी वर्षाले ठूलो क्षति पुर्‍याउने गरेको भन्दै किसानलाई सही सूचना प्रवाह गर्न कृषि मौसम सल्लाह बुलेटिन आवश्यक हुने उनको सुझाव छ । यस सन्दर्भमा नयाँ अध्ययनको खाँचो औंल्याउँदै उनले यसबाट कृषि, पशुपालनमा ठूलो असर परिरहेको बताए ।

बुलेटिन जारी भएमा मौसम पूर्वानुमान सँगै जारी कृषि मौसम सल्लाह बुलेटिन अध्ययनसँगै कृषकले पहिले आँकलन गरेर धान भिœयाउने समयमा वर्षा भयो, त्यसबाट क्षति कम गराउन यसले धेरै सहयोग पुग्ने गुर्भाकोट नगरपालिकाका कृषि शाखा प्रमुख दिपा पौडेलले बताइन् । मौसमसम्बन्धी जानकारी पाउन इच्छुक किसानसम्म सन्देश पुग्न नसकेको भन्दै उनले थप प्रचारप्रसारको खाँचोसमेत औंल्याइन् । पहिलेभन्दा अहिले व्यावसायिक किसानहरूले कृषिका सूचनालाई गम्भीरतापूर्वक लिएको भन्दै उनले कृषि मौसम सल्लाह बुलेटिनलाई निर्माण गरेर कार्यान्वयनमा ल्याउन प्रदेश सरकारलाई सुझाव दिइन् । नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै कृषिसम्बन्धी सूचना प्रचार प्रसार गर्नुपर्नेमा विज्ञको जोड छ । जल तथा मौसम विज्ञानको कार्यालय सुर्खेतका कार्यालय प्रमुख डा. इन्दिरा कणेल सूचना प्रणालीमा किसानहरू पूर्णरूपमा जानकार भए बाली भित्र्याउने बेलामा मौसमी प्रतिकूलताबाट हुने क्षति कम गर्न सकिने बताउँछिन् । ‘मौसम पूर्वानुमान नेपालको भौगोलिक अवस्थाका कारण कहिलेकाहीँ नमिल्न सक्छ, यस्तो अवस्थामा, किसान आफैंले पनि आफ्नो वरपरका क्लाइमेट कस्तो छ भनेर सूक्ष्म रूपमा आफैंले विश्लेषण गरेर अनुमान गर्न सक्छन्’ उनले भनिन् ।

कृषि विकास कार्यालय सुर्खेतका प्रमुख चित्र रोकायले जलवायु परिवर्तनको यस समयमा किसानले विशेष ध्यान दिनसके बालिनाली जोगाउन सकिने र त्यसका लागि प्रदेश सरकारले बुलेटिन जारी गरेर कार्यान्वयन गर्ने बताए । उनका अनुसार प्रदेशको बुलेटिन भए मनसुन सक्रिय रहने समयमा तरकारीबाली, फलफूल बगैँचा तथा पाँक्न लागेका धानखेतमा पानी निकासको उचित व्यवस्था गर्न, विषादी छर्कने कार्य रोक्न, नदी, खोलाछेउका संरचनाहरू बाढीको जोखिममा पर्नसक्ने हुनाले सम्भव भएसम्म भण्डारणमा रहेका तथा अन्य सामग्री सुरक्षित स्थानमा व्यवस्थापन गर्न सहयोग पुग्नेछ । कर्णाली प्रदेश सरकारले भौगोलिक विशेषता र रैथाने बालीका आधारमा कृषि मौसम सल्लाह बुलेटिन निर्माण गर्नेछ ।

 

प्रकाशित मितिः   २२ आश्विन २०८३, बिहीबार ०५:०५