व्यवस्थित शहर योजना

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई व्यवस्थित, सुरक्षित र पर्यटकीय दृष्टिले आकर्षक बनाउने उद्देश्यले प्रदेश सरकारले ‘प्रदेश राजधानी संरक्षण योजना’लाई निरन्तरता दिएको छ । गत आर्थिक वर्षदेखि सुरु गरिएको योजनालाई चालु आर्थिक वर्षमा समेत बजेटसहित अघि बढाइनुले राजधानीको पूर्वाधार र वातावरणीय संरक्षणप्रति सरकारको चासो देखाउँछ । यस वर्षका लागि २० करोड ३३ लाख ९० हजार रूपैयाँ विनियोजन हुनु पनि योजनालाई प्राथमिकतामा राखिएको संकेत हो । वीरेन्द्रनगरको राजधानीको पहिचान केवल प्रशासनिक केन्द्रका रूपमा सीमित छैन । बुलबुले, काँक्रेविहार, कर्णालीको प्राकृतिक सौन्दर्य र यहाँका जलस्रोतहरू राजधानीको पर्यटकीय तथा वातावरणीय पहिचानका महङ्खवपूर्ण आधार हुन् । त्यसैले राजधानी संरक्षणलाई सडक, भवन र भौतिक संरचना निर्माणको सीमित अर्थमा बुझ्नु हुँदैन ।

प्राकृतिक स्रोतको संरक्षण, पानीको उचित व्यवस्थापन, बाढी तथा डुबान नियन्त्रण र खुला तथा हरित क्षेत्रको संरक्षणलाई पनि यसै योजनाको अभिन्न हिस्सा बनाउन आवश्यक छ । बुलबुले क्षेत्रको पानी व्यवस्थापन तथा नदी नियन्त्रणका लागि सुरु गरिएको काम यस दृष्टिले महङ्खवपूर्ण छ । जथाभावी बग्ने पानीका कारण खेतबारीमा क्षति पुग्नुका साथै बस्तीमा पानी पस्ने समस्या पनि देखिँदै आएको अवस्थामा पानीको व्यवस्थित निकास र नदी नियन्त्रणले स्थानीय बासिन्दालाई प्रत्यक्ष राहत दिन सक्छ । बुलबुलेदेखि काँक्रेविहार जंगलसम्म करिब एक किलोमिटर क्षेत्रमा गरिने नदी नियन्त्रण, पैदलमार्ग र दुईवटा साना पुल निर्माणले पर्यटकीय आवागमनलाई समेत सहज बनाउन सक्छ । तर पूर्वाधार निर्माण हुँदैमा राजधानी संरक्षण भएको मान्न सकिँदैन । योजनाको वास्तविक सफलता निर्माण सम्पन्न भएको प्रमाणपत्रमा होइन, त्यसले कति वर्षसम्म समस्या समाधान गर्छ भन्नेमा निर्भर हुन्छ । नदी नियन्त्रणका नाममा पानीको प्राकृतिक बहाव अवरुद्ध हुने, जलाधार क्षेत्रमा असर पर्ने वा अनियोजित संरचनाले भविष्यमा अर्को समस्या सिर्जना गर्ने अवस्था आउन दिनु हुँदैन । त्यसैले प्रत्येक संरचना निर्माणअघि वातावरणीय प्रभाव, पानीको प्राकृतिक प्रवाह र दीर्घकालीन मर्मतसम्भारलाई समेत ध्यान दिनुपर्छ ।

बुलबुले क्षेत्रमा नयाँ ताल निर्माणको काम पनि अर्को सकारात्मक प्रयास हो । पानीका स्रोत संरक्षण गर्नु, चराचुरुङ्गी तथा जैविक विविधताका लागि उपयुक्त वातावरण बनाउनु र पर्यटकीय आकर्षण बढाउनु एउटै योजनाबाट हासिल गर्न सकिने महत्वपूर्ण उपलब्धि हुन् । तर नयाँ ताल बनाउनेभन्दा पनि विद्यमान जलस्रोत र बुलबुलेको मौलिकता जोगाउनु पहिलो प्राथमिकता हुनुपर्छ । स्रोतमा पानी भए पनि चुहावट भइरहेको तथ्यले संरक्षणको काम निर्माणभन्दा पनि व्यवस्थापन र मर्मतमा केन्द्रित हुनुपर्ने देखाउँछ । पर्यटकको संख्या बढाउनु मात्रै पर्याप्त छैन; उनीहरूलाई स्वच्छ वातावरण, व्यवस्थित पैदलमार्ग, सुरक्षित पानी, सरसफाइ, पर्याप्त विश्रामस्थल, सूचना केन्द्र र व्यवस्थित पार्किङजस्ता आधारभूत सुविधा पनि आवश्यक हुन्छन् ।

प्रकाशित मितिः   २१ आश्विन २०८३, बुधबार १६:२४