एकल महिलाको आर्थिक सशक्तिकरणमा जोड

सुर्खेत: कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङले एकल महिलाहरूको सामाजिक र आर्थिक सशक्तिकरणमा जोड दिएकी छन् । शुक्रवार वीरेन्द्रनगरमा मानव अधिकारका लागि एकल महिला समूह सुर्खेतको १०औँ साधारणसभाको उद्घाटनमा शुभकामना व्यक्त गर्दै उनले एकल महिलालाई अधिकारका विषयमा सचेत बनाउँदै उनीहरूको क्षमता विकास र नेतृत्व तहमा सहभागिता बढाउनुपर्नेमा जोड दिएकी हुन् ।

एकल महिलाको सशक्तिकरणका लागि शिक्षा, स्वास्थ्य, सीप, रोजगारी तथा आयआर्जनका अवसर प्रदान तथा विभिन्न निकायको नेतृत्वमा पु¥याउँन सबै पक्ष जिम्मेवार रहेको उल्लेख गरिन् । ‘समाजमा अझै पनि एकल महिलामाथि हेर्ने दृष्टिकोण फरक छ । विभेद, हिंसा र असमान व्यवहार छन् । एकल महिलाले भोग्दै आएका सामाजिक, आर्थिक समस्याको लागि सहयोगी कार्यक्रमहरू सञ्चालन त भएका छन् । यी कार्यक्रमलाई अझै प्रभावकारी र निरन्तर गरेर सबै एकल महिलाहरूलाई समेट्नुपर्छ’ सभामुख गुरुङले भनिन् ।

यसैबीच सोही कार्यक्रममा सभामुख गुरुङलाई सम्मान समेत गरिएको छ । महिलाहरूको हकअधिकारका लागि आवाज उठाउँदै नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै एकल महिला समूह सुर्खेतले सम्मान गरेको हो ।

प्रकाशित मितिः   १० आश्विन २०८३, शनिबार १६:००