ऐतिहासिक जनप्रिय मावि दशेरा
जाजरकोटस्थित छेडागाड नगरपालिका वडा नं. ३ दशेरा गाउँको पूर्वी–उत्तर डाँडामा रहेको सुन्दर सल्लेरी बुट्यानको बिचमा अवस्थित एक पुरानो र अगुवा शैक्षिक संस्था हो, जनप्रिय माध्यमिक विद्यालय । विद्यालय स्थापना सम्बन्धी जानकार केही स्थानीय बुढापाकाहरूका अनुसार करिब २००१÷२००२ सालतिर तत्कालीन दशेरा गाउँपञ्चायत अन्तर्गत साविक सुवानाउली गा.वि.स. ६ मेल्ने निवासी ज्योतिष हृदाराम जैसीको नेतृत्वमा (हाल छेडागाड नगरपालिका ३ निवासी श्री मन्दीर थापाका छोरा स्थानीय अगुवा श्री लालवीर थापाले) ११ जना विद्यार्थी राखी गुरुकुल छपरा पाठशाला दशेराको लयाभिर भन्ने स्थापनमा राखि ज्योतिष विद्या सुरुवात गरेको बुझिन्छ । उक्त ज्योतिष विद्यालय सञ्चालनको इजाजतका लागि दैलेख जिल्लाको गन्मबाट खेपो ल्याई काम गर्ने प्रबन्ध थियो भन्ने भनाइ स्थानीय बुढापाकाहरूको रहेको छ ।
समयक्रमसँगै वि.सं. २०१३÷०१४ सालसम्म लालविर थापा र हृदाराम जैसीले सञ्चालन गरेको ज्योतिष विद्यालाई पछि २०१७ सालको आम निर्वाचनले २००७ सालमा प्राप्त भएको प्रजातान्त्रिक व्यवस्था ‘कु’ भइ पञ्चायती व्यवस्था लागु भएको अवस्थामा तत्कालीन मुखिया श्री विरछम थापाको सक्रियता र अगुवाईमा जाजरकोट जिल्ला खलंगा निवासी गोरु चन्दका छोरा हस्तबहादुर चन्दलाई प्र.अ. को जिम्मेवारी दिएर निज मुखिया विरछम थापाको आँगनमा नै पठनपाठन सञ्चालन गरियो । यसैगरी वि.स. २०१८ मा तत्कालीन श्री ५ सरकारको शिक्षा योजना आयोग र शिक्षा नीति योजना अनुसार विद्यालय सञ्चालन समितिको कोषाध्यक्ष धनबहादुर थापा र सदस्यहरू क्रमश तुले बुढा, परे थापा, नरे बुढा, देवीलाल खत्री, धनबहादुर थापा, नरहरी जैसी, धर्मे थापा र नर्ते थापाको सक्रियतामा विरछम थापाको आँगनबाट दशेरा गाउँस्थित मैढोल्नाडाँडामा विद्यालय सञ्चालन गरि पठन–पाठन प्रक्रिया अगाडि बढाइयो । राजनैतिक व्यवस्था परिवर्तन र समाजमा शिक्षाको आवश्यकता थप महशुस हुँदै गयो र वि.सं. २०२३ सालतिर यस ज्योतिष पाठशालालाई शिक्षाको संरचनागत विकास अनुरूप पब्लिक प्राइमरी स्कुल दशेराको रूपमा स्वीकृत प्राप्त गरी सञ्चालन समितिका कोषाध्यक्ष कल्से बुढा र मानबहादुर बुढा लगायत स्थानीय अगुवाको सक्रियतामा प्र.अ. हस्तबहादुर चन्द, शिक्षक चुडाबहादुर कार्की, श्री बहादुर बस्नेतहरूलाई विद्यालय प्रसासन र शैक्षिक पठन–पाठनको जिम्मेवारी र योगदान रहेको पाइन्छ ।
वि.सं. २०२८ सालमा तत्कालीन राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ र राष्ट्रिय शिक्षा योजना आयोगकोको राष्ट्रिय नीति अनुरूप पब्लिक प्राइमरी स्कुलबाट श्री विद्योदय मिडिल स्कुल दशेरा हालको विद्यालय नजिकै स्थापना गरी सञ्चालन गरियो र प्र.अ. नरेन्द्रबहादुर पाण्डे (भोजपुर) लाई जिम्मेवारी दिइ उक्त विद्योदय मिडिल स्कुल स्थायी स्वीकृत वि.स. २०२९ सालमा प्राप्त गरी ध्रुवराज केसी (खलंगा), प्र.अ. गणेश खड्का (प्युठान) र गजाघर वली (सल्यान) ले पठन–पाठन कार्यलाई थप निरन्तरता दिएको देखिन्छ । देशमा पनि क्रमशः विकास र प्रगतिको लागि राजनैतिक आन्दोलन र शैक्षिक जागरणका नयाँ–नयाँ बहस हुन थाले । त्यसैक्रममा वि.सं. २०३४ सालतिर विद्योदय मिडिल स्कुलबाट श्री जनप्रिय मा.वि. का रूपमा अस्थायी स्वीकृत प्राप्त गरी तत्कालीन विद्यालय सञ्चालक समिति अध्यक्ष धनबहादुर थापालगायत साल्म सुवानाउली मजकोटका तत्कालीन पञ्च प्रतिनिधि वडावन, हाडेतोला, फाल्मा चुवाँ, जेवा, दशेराका स्थानीय अगुवाहरूको सहयोगमा अहिलेको जस्तो कुनै मेसनरि सामग्री नभएकोले भैसीको छालाम माटो घिसारी विद्यालय खेलमैदान, विद्यालय भवन लगायतका कामहरू सम्पन्न भइ वि.स. २०३५ साल फाल्गुनतिर तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयबाट श्री जनप्रिय मा.वि. ले मा.वि. स्थायी स्वीकृत प्राप्त गरी विद्यालय प्रधानाध्यापकको रूपमा भगीरथ शर्मा (वाग्लुङ्ग) प्रथम र उदयबहादुर बस्नेत (दैलेख) लाई मा.वि. स्तरको प्र.अ.का रूपमा हाल पनि यस संस्थाले सम्मान गरिरहेको छ ।
विद्यालयको व्यवस्थापकीय नेतृत्व र वि.व्य.स. अध्यक्षको रूपमा लामो समयसम्म रहने धनबहादुर थापा पूर्व जि. पं. उपसभापति पदमबहादुर शाही, जि.पं. सदस्य वीरबहादुर शाही, डण्डबहादुर शाही, तत्कालीन गाउँपञ्चायत सदस्य जयबहादुर थापा, भु.पु क्षेत्रीय सदस्य देवबहादुर शाहीहरूको योगदान पनि यस संस्थामा कम छैन । मा.वि. सञ्चालन र व्यवस्थापनका क्रममा विद्यालय प्र.अ.हरू उदयबहादुर बस्नेत पछि क्रमशः तुल्सीराम रेग्मी, पुस्करराज रजौरिया, स्थानेश्वर बस्याल, हुकुमबहादुर भण्डारी, शेरबहादुर अधिकारी, टेकबहादुर थापादेखि हाल जयबहादुर थापासम्म योगदान देखिन्छ । शैक्षिक भौतिक प्रशासनिक क्षेत्रमा केही समस्याका बाबजुद मुलभूतरूपमा संस्थाको विकास र प्रगति भएको पाइन्छ । विभिन्न कालखण्ड र समाज विकासको आवश्यकता सँगै वि.सं. २०६४ सालमा शैक्षिक सत्र २०६४÷०६५ तिर तत्कालीन वि.व्य.स. अध्यक्ष जीतबहादुर थापा र प्र.अ. टेकबहादुर थापाको नेतृत्वमा नेपाल सरकार शिक्षा विभाग उच्च शिक्षा परिषद्बाट कक्षा ११ र १२ को सम्बन्धन प्राप्त गरी पुनः यस क्षेत्रका विद्यार्थी तथा आम अभिभावकको उच्च शिक्षा हासिल गर्ने चाहना र आवश्यकतालाई महशुस गरी करिब ३÷४ वर्षको लामो प्रक्रियागत पहल र प्रयासमा मिति २०६९ सालदेखि जनज्ञानकुञ्ज क्याम्पस दशेराको रूपमा त्रि.वि.बाट सम्बन्धन प्राप्त गरी स्नातक तह हुँदै हाल स्नातकोत्तर तहसम्मको पठनपाठन यसै विद्यालयको परिसरबाट सुरु भइ हाल आफ्नै भवनमा सञ्चालन भइरहेको छ ।
विद्यार्थीको सर्वाङ्गिण विकासमा अतिरिक्त क्रियाकलापहरू खेलकुद लगायतका क्षेत्रमा सकारात्मक प्रतिस्पर्धाको भावना थियो । जुन अहिले पनि खड्किरहेको अवस्था छ । शिक्षामा संरचनागत परिवर्तनसँगै मुल्याङ्कन पद्धतिहरू पनि सुधार र प्रगति हुँदै आए, फलस्वरूप २०४८ सालमा जनप्रिय मा.वि. दशेरामा एस.एल.सी. परीक्षा केन्द्र सञ्चालनको निर्णय भयो, जसमा पश्चिम जाजरकोटका जनता मा.वि. पैंक, शिवपुरी मा.वि. गर्खाकोट र वीरेन्द्र मा.वि. जुँगापाचौर पनि सहभागी भए । त्यसक्रममा जनप्रिय मा.वि. दशेराबाट एक जना विद्यार्थी गणेशबहादुर अधिकारी मात्र एस.एल.सी. परीक्षामा उर्तीर्ण भएका थिए भने एस.एल.सी. परीक्षा केन्द्रको विद्यालयमा उतीर्ण प्रतिशत अपुग भइ शैक्षिक सत्र २०४९÷०५० देखि पुनः एस.एल.सी. परीक्षा जिल्ला सदरमुकाम खलंगा जाजरकोट नै कायम भयो । फेरि केही स्थानीय समाजसेवी, बुद्धिजीवि र राजनैतिक प्रतिनिधिको अगुवाइमा वि.सं. २०५१ मा दोस्रो पटक जनप्रिय मा.वि. दशेरा एस.एल.सी. परीक्षा केन्द्र कायम गरिएको थियो । २०५२ सालदेखि देश नै राजनैतिक द्वन्द्वमा फसेको बेला विद्यालय पनि दश वर्षे ससस्त्र जनयुद्धको भुमरीमा प¥यो । वि.सं.२०५६ देखि २०६२ सम्म उक्त एस.एल.सी. परीक्षा केन्द्र सुरक्षाका दृष्टिकोणले जिल्ला सदरमुकाम खलंगामा नै कायम भयो र पुनः नेपालमा शान्ति स्थापनापछि २०६३ देखि एस.एल.सी. परीक्षा केन्द्र यसै विद्यालयमा कायम गरियो भने शैक्षिक सत्र २०६४÷०६५ मा कक्षा ११ र १२ को पठनपाठन सञ्चालन भइ उक्त कक्षा ११ को परीक्षा प्रथम पटक जनता मा.वि. पैंकमा सञ्चालन भइ दोस्रो वर्ष कक्षा १२ परीक्षा भने यसै विद्यालयमा नै सञ्चालन भयो । हाल यो विद्यालयमा शिक्षा, व्यवस्थापन र विज्ञान विषयको लागि कक्षा ११ र १२ सम्म अध्ययन÷अध्यापन भइरहेको र विद्यार्थीलाई स्कुल बसको व्यवस्थासमेत गरिएको छ ।
नेपालमा विद्यालय शिक्षामा संरचनागत सुधार विकास सँगसगै शिक्षाको गुणस्तरण अभिवृद्धिका लागि भएका कैयन प्रयासहरूको पृष्ठभूमिलाई केलाउँदा यस जनप्रिय मा.वि. दशेराको संस्थागत एवम् शैक्षिक प्रगतिमा तत्कालीन सरकारले परिचालन गरेको रा.वि.से अभियानका अभियान्तहरूमध्ये कृष्ण क्षेत्री (धरान), दण्डपाणी बैस्याल (चितवन) र दिपक पन्त (काठमाडौं) ले विद्यालयको शैक्षिक, भौतिक प्रगतिका अतिरिक्त समाजका स्वास्थ्य सरसफाई, पोषणयुक्त खाना, तरकारी खेती र करेसाबारीको अवधारणलाई समेत व्यवहारमा लागु गर्न अभिप्रेरणा दिएको पाइन्छ । यसरी नै भौतिक, शैक्षिक तथा प्रशासनिक मात्र नभएर सेवा क्षेत्र वरपरका समुदाय र व्यक्तित्वहरूमा संस्कार र सभ्यताको सकारात्मक प्रभाव पार्न सफल भएका नेपालको पूर्वी जिल्ला धरान, भोजपुर, वाग्लुङ्ग, प्युठान, दाङ्ग, पाल्पा, स्याङजा, काठमाण्डौं, सल्यानबाट शैक्षिक जनशक्तिको योगदान त छ नै छिमेकी जिल्ला बाँके, बर्दिया, दैलेख, सुर्खेत, जुम्ला र कालीकोटबाट पनि संस्था विकासको क्षेत्रमा महŒवपूर्ण योगदान रहेको छ । तत्कालीन स्थानीय प्रतिनिधि, जनप्रतिनिधि र वि.सं. २०३४÷०३५ देखि २०४०÷०४२ सम्म स्थानीय शैक्षिक जनशक्तिका रूपमा उत्पादित कालजंग थापा दशेरा, कृतिबहादुर थापा, जीतबहादुर थापा लगायत वि.व्य.स. अध्यक्षको रूपमा विभिन्न कार्यकाल सम्हाल्नु भएका धनबहादुर थापा, मानबहादुर थापा, रूपसिंह केसी लगायत पूर्व गा.वि.स. अध्यक्ष, उपाध्यक्ष, पूर्व वडाअध्यक्षहरू, वडा सचिवहरू, तत्कालीन सांसदहरू र वर्तमान सांसद तथा मन्त्रीहरू, विद्यालयका पूर्व शिक्षक र वर्तमान शिक्षक, वुद्धिजीविहरू र पूर्व विद्यार्थीहरूको योगदान यस विद्यालयको ऐतिहासिक पृष्ठभूमिसँग सम्बन्धित छ ।
स्थापनाकालमा जाजरकोट जिल्लाको पश्चिम भाग मात्र नभइ दैलेख जिल्लाको पूर्वी भागको समेत सेवा क्षेत्र रहेको यस संस्थालाइ हाल पहुँच तथा दूरी भौगोलिक विकटतालाई हेरेर प्रत्येक पालिकाका वडामा एक माध्यामिक विद्यालय स्थापना गरिएको छ र घट्दो विद्यार्थी संख्याले नयाँ स्थापना गरिएका विद्यालय जोखिममा पर्ने सम्भावना बढी देखिन्छ । यस विद्यालयबाट माध्यमिक शिक्षा उत्तीर्ण गरी देशभरीका विभिन्न निजामति सेवा, नेपाल प्रहरी, नेपाली सेना, राजनैतिक नेतृत्व, शैक्षिक जगतको नेतृत्व र वयापारिको भुमिकामा थुप्रै व्यक्तिहरू सेवारत छन् भने कतिपय निवृत्त भइसकेका छन् ।
यो तपोभूमिमा प्रत्येक पाइलामा सरस्वतिको बास थियो, यहाँ उडेको धुलोमा ज्ञान थियो तर यहाँबाट शिक्षा हासिल गरि सम्मान प्राप्त शैक्षिक धरोहरहरूले एकपटक यो तपोभूमिलाई नसम्झनु दुखद् कुरा हो । मानव निर्मित पक्की भवन र भौतिक संरचनाले मात्रै पुग्दो रहेनछ, यहाँबाट चलाएका कलम कहाँ रोकिए, लम्केका पाइलाले कता विश्राम लिए यो सम्झना मात्रै छ । यस देवभूमिबाट जीवनलाई सुरुवात गरेका हातहरू एकपटक चलाए यहाँको हावा पवित्र हुने थियो । प्रत्येक हातबाट दान गरेमा एउटा अक्षयकोष खडा गरि यस संस्थालाई जिवन्त राख्न मद्दत पुग्ने थियो । हाम्रो भविष्य बनाएको माटो हो, भूमि हो । एकमा एक जोडौं, अघिल्लो पिढीले दिएको नासोलाई जगेर्ना गरौँ, सम्मान गरौँ र आउने पिढीलाई हस्तान्तरण गरौँ ।
-जगत शर्मा
प्रकाशित मितिः ३ आश्विन २०८३, शनिबार ०५:०२

जगत शर्मा ।