बदलिँदो जीवनशैली
फलफूल खेतिप्रति कृषकको आकर्षण बढ्दो छ । परम्परागत रूपमा खेती गरिरहेकाहरू पछिल्लो समय व्यावसायिक बनेका छन् । दैलेखको दुल्लू देखिएको सुन्तला खेतिप्रतिको आकर्षण यसको उदाहरण हो । कृषकका सुन्तलाका बोटमा लटरम्म फलेका दाना केवल एउटा कृषि उत्पादनको तस्वीर होइनन्, ती गाउँको बदलिँदो आर्थिक जीवनका संकेत हुन् । कुनै समय मकै, गहुँ, जौ र कोदोले वर्षको आधा समय पनि खान नपुग्ने र बाँकी समय मजदुरीका लागि गाउँबाहिर जानुपर्ने बाध्यता भोगेका किसान आज आफ्नै बारीबाट लाखौँ रूपैयाँको आम्दानी गरिरहेका छन् । यसले ग्रामीण अर्थतन्त्र बदल्न सक्ने सम्भावना हाम्रो आफ्नै माटोमा रहेको प्रमाणित गरेको छ ।
कृषि गरिबीको कारण मात्र होइन, सही उत्पादन, बजार र राज्यको सहयोग पाएमा गरिबीबाट मुक्त हुने माध्यम पनि बन्न सक्छ । विगतमा घरमै फलेका सुन्तला बिक्री गर्न नसकेर बोटबाटै झरेर कुहिन्थे । अहिले त्यही सुन्तला व्यापारीले बोटबाटै खरिद गर्छन्, किसानको घरआँगनबाटै बजारसम्म पुग्छन् र एउटा परिवारको आयको भरपर्दो आधार बनेका छन् । पाँच रोपनीमा सुन्तला लगाएका किसानले वार्षिक पाँच लाख रूपैयाँसम्म बिक्री गर्नु यसको उदाहरण हो । यस परिवर्तनमा किसानको आफ्नै मेहनतसँगै सुन्तला जोन कार्यक्रमको भूमिका पनि महङ्खवपूर्ण देखिन्छ । बिरुवा वितरणदेखि सिँचाइ, बगैँचा सुधार, कृषि यान्त्रिकीकरण, ग्रेडिङ, रोग–कीरा नियन्त्रण र प्राङ्गारिक मल उत्पादनसम्म सहयोग पुग्दा उत्पादन प्रणाली क्रमशः व्यावसायिक बन्दै गएको छ । दुल्लू क्षेत्रमा ६ सय ८९ हेक्टरमा सुन्तला खेती हुनु र क्षेत्र विस्तारको योजना अघि बढ्नु सम्भावनाको ठूलो आधार हो । तर सरकारी कार्यक्रमको सफलता अनुदान वितरणको संख्याले होइन, किसानको उत्पादन, आम्दानी, बजार र दिगोपनमा आएको परिवर्तनले मापन गरिनुपर्छ ।
उत्पादन बढाउनु मात्रै पर्याप्त छैन । किसानले उचित मूल्य नपाउने, बिचौलियामा निर्भर हुनुपर्ने, उत्पादन भण्डारण गर्न नसक्ने वा ग्रेडिङ तथा प्याकेजिङको अभावमा बजार गुमाउने अवस्था आयो भने कृषि व्यवसाय फेरि जोखिमपूर्ण बन्न सक्छ । त्यसैले दुल्लूको सुन्तलालाई सुर्खेत, नेपालगञ्जलगायतका बजारमा पु¥याउने वर्तमान अभ्यासलाई दीर्घकालीन र व्यवस्थित बजार प्रणालीमा रूपान्तरण गर्न आवश्यक छ । किसान र बजारबीच प्रत्यक्ष सम्झौता, शीतभण्डार, संकलन केन्द्र, ग्रेडिङ, प्याकेजिङ र ढुवानी व्यवस्थालाई प्राथमिकता दिनुपर्छ । सडक र बजारको पहुँचले कृषि उत्पादनको भविष्य निर्धारण गर्छ भन्ने कुरा चाल्नेमुलको विगतले पनि देखाउँछ । मोटरबाटो नहुँदा बजारसम्म उत्पादन पु¥याउन कठिन थियो । त्यसैले कृषि विकासलाई सडक, सिँचाइ, विद्युत, सञ्चार र भण्डारणजस्ता पूर्वाधारसँग अलग गरेर हेर्न मिल्दैन । उत्पादन हुने ठाउँसम्म सडक पुग्नु मात्र पर्याप्त होइन; किसानले उत्पादनलाई न्यून लागतमा बजारसम्म पु¥याउन सक्ने पूर्वाधार आवश्यक हुन्छ ।
प्रकाशित मितिः १ आश्विन २०८३, बिहीबार ०५:०३
सम्पादकीय ।