बाढीले सात हजार घरमा क्षति
सुर्खेत: भदौ १० गते बिहान तिब्बत हुँदै रसुवाको भोटेकोसी नदीमा अचानक आएको भीषण बाढीका कारण पाँच जिल्लाका सात हजार पाँच सय ७० निजी भवनमा ठूलो क्षति भएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रतिवेदनमा अब ती भवन पुनःस्थापना तथा पुनर्निर्माण गर्न ९५ अर्ब ८२ करोड ७२ लाख रूपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ ।
बाढीपछि भएको आर्थिक नोक्सानी तथा पुनःस्थापना÷पुनर्निर्माणका विषयमा आयोग र प्राधिकरणले संयुक्त रूपमा अध्ययन गरेका हुन् । रसुवागढीनजिक लेहन्दे खोला जलाधार क्षेत्रमा बरफ र चट्टानसहितको हिमपहिरोबाट सिर्जित ‘डेब्रिस फ्लो’ (तीव्र गतिमा बग्ने भिरालो जमिनको पहिरो) भोटेकोसी नदीमा मिसिएपछि त्रिशूली हुँदै नारायणी नदीसम्म फैलिएको थियो । जुन बाढीले रसुवासहित नुवाकोट र धादिङसम्मका बस्ती तथा पूर्वाधार ध्वस्त पारेको छ ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन (आरडीएनए) का अनुसार बाढीका कारण आठ हजार तीन सय १७ घरपरिवार र ३२ हजार नौ सय ६३ मानिस विस्थापित भएका छन् । आकस्मिक बाढीका कारण सबैभन्दा बढी क्षति नुवाकोट जिल्लामा भएको छ । जहाँ तीन हजार नौ सय ७७ निजी भवन ध्वस्त भएका छन् ।
प्रतिवेदनअनुसार बाढीका कारण रसुवामा एक हजार सात सय ७९, धादिङमा एक हजार चार सय ५१, गोरखामा दुई सय ६३ र चितवनमा एक सय निजी भवनमा क्षति भएको छ । बाढीबाट स्थानीय तहमा सबैभन्दा बढी विदुर नगरपालिका प्रभावित देखिएको छ । विदुरमा मात्रै तीन हजार २६ भवनमा क्षति भएको छ । त्यसपछि रसुवाको गोसाईंकुण्डमा एक हजार ४३ र धादिङको बेनिघाट रोराङमा एक हजार ३७ भवन क्षतिग्रस्त भएका छन् ।
वडागत रूपमा भने नुवाकोटकै किस्पाङ गाउँपालिकाका पाँच वटा वडा सबैभन्दा बढी प्रभावित देखिएका छन् । सो वडामा बाढीले ६ सय ९६ भवनमा क्षति भएको छ । त्यसपछि रसुवाको गोसाईंकुण्ड गाउँपालिकाको–२ मा पाँच सय ७१ र धादिङको बेनिघाट रोराङ–३ मा पाँच सय ५३ भवनमा क्षति भएको छ । यद्यपि, कुन भवन मर्मत गर्न मिल्ने, कुन पुनर्निर्माण गर्नुपर्ने र कुन जोखिमका कारण स्थानान्तरण गर्नुपर्ने भन्ने कुरा भने थप निरीक्षण तथा घरधुरी प्रमाणीकरणपछि मात्र यकिन गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनअनुसार निजी भवन र घरायसी सम्पत्तिमा भएको कुल क्षति ६३ अर्ब आठ करोड चार लाख रूपैयाँ बराबर भएको अनुमान गरिएको छ । जसमध्ये भवन संरचनातर्फ ३८ अर्ब ९३ करोड ३८ लाख रूपैयाँ र घरायसी सम्पत्तिमा २४ अर्ब ९५ करोड १० लाख रूपैयाँ बराबरको क्षति भएको मूल्यांकन छ । क्षति भएका निजी भवन पुनःस्थापना तथा पुनर्निर्माणका लागि ९५ अर्ब दुई करोड ७२ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ । यसमा प्रारम्भिक र दीर्घकालीन दुवै काम समेटिएका छन् ।
पहिलो ६ महिनाका लागि चार करोड रूपैयाँ र त्यसपछि दीर्घकालीन पुनःस्थापना तथा पुनर्निर्माणका लागि ९५ अर्ब ३४ करोड ७२ लाख रूपैयाँ आवश्यक पर्ने आकलन छ । यस रकममा भग्नावशेष हटाउने, अस्थायी आवास तथा खानेपानी–सरसफाइको व्यवस्था गर्ने, विस्तृत भवन मूल्यांकन गर्ने, घर मर्मत तथा पुनर्निर्माण गर्ने र आवश्यक घरायसी सम्पत्ति पुनःस्थापना गर्ने काम समेटिएका छन् । तथापि भवनको वास्तविक क्षेत्रफल, संरचनाको अवस्था र घरायसी सम्पत्तिमा भएको वास्तविक क्षति थप विस्तृत अध्ययनपछि फरक पनि पर्न सक्ने भएकाले पुनर्निर्माणको लागत संशोधन हुन सक्ने प्रतिवेदनले जनाएको छ ।
समग्रमा भोटेकोसी–त्रिशूली–नारायणी बाढीबाट कुल भौतिक क्षति तथा आर्थिक नोक्सानी चार खर्ब आठ अर्ब २८ करोड ९१ लाख रूपैयाँ बराबरको भएको अनुमान गरिएको छ । ती सबै क्षेत्रमा पुनःस्थापना, पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि भने सात खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रूपैयाँ आवश्यक पर्ने आकलन रिपोर्टमा गरिएको छ । तत्कालीन आकलनअनुसार निजी घर तथा भवनको पुनःस्थापनाका लागि ९५ अर्ब ८२ करोड ७२ लाख रूपैयाँ आवश्यक देखिएको छ ।
प्रकाशित मितिः २९ भाद्र २०८३, सोमबार ०५:०५

साझा बिसौनी ।