प्रतियोगिता सुनिश्चित गर

राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडीको प्रतिस्पर्धा मात्र होइन, मुलुकको खेलकुद विकास, पूर्वाधार र राज्यको खेलप्रतिको प्राथमिकताको प्रतिविम्ब पनि हो । तर राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहास हेर्दा यसको नियमितता आफैंमा ठूलो प्रश्न बनेको छ । दुई–दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुद निर्धारित समयमा आयोजना गर्न नसक्ने प्रवृत्ति यति पुरानो भइसकेको छ कि प्रतियोगिताको संस्करणभन्दा मिति सारिएका पटक गन्नुपर्ने अवस्था आएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता यसको पछिल्लो उदाहरण हो । २०७९ मा नवौँ राष्ट्रिय खेलकुदको समापनका क्रममा कर्णालीमा २०८१ मंसिरमै दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा भएको थियो । त्यसयता पटकपटक मिति तोकियो, तर प्रतियोगिता हुन सकेन ।

कहिले पूर्वाधार, कहिले बजेट, कहिले प्रशासनिक तथा राजनीतिक कारण देखाउँदै प्रतियोगिता सारिँदै आयो । अहिले फेरि आगामी मंसिर १६ देखि २७ गतेसम्म प्रतियोगिता गर्ने निर्णय भएको छ । पाँचौँ पटक तोकिएको यो मिति अब पनि सर्ने हो भने त्यसले राज्यको खेलकुद व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न उठाउनेछ । सबैभन्दा विडम्बनापूर्ण पक्ष के हो भने प्रतियोगिता आयोजनाका लागि बनाइएको मुख्य पूर्वाधार नै लामो समयदेखि अलपत्र छ । कर्णाली प्रदेशको गौरवको आयोजनाका रूपमा निर्माण गरिएको प्रदेश रंगशाला करिब ९९ प्रतिशत काम सम्पन्न भएर पनि प्रयोगमा आउन सकेको छैन । ठेकेदारले काम छाडेको झन्डै दुई वर्ष भइसक्दा पनि न ठेक्का रद्द भएको छ, न म्याद थपको विषय टुंगिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको संरचना प्रक्रियागत उल्झनमा अल्झिरहनु विकास व्यवस्थापनको गम्भीर कमजोरी हो । सरकार र सम्बन्धित निकायले अब ‘समय छैन’ भन्ने बहाना गर्ने अवस्था छैन । प्रतियोगिता आयोजना गर्ने मिति घोषणा भइसकेको छ भने त्यसअनुसार आवश्यक पूर्वाधार, खेल सामग्री, खेलाडीको आवास, यातायात, सुरक्षा, स्वास्थ्य सेवा र अन्य व्यवस्थापनको काम समयतालिकासहित अघि बढाइनुपर्छ । सार्वजनिक खरिद प्रक्रिया लामो हुने भएकाले टेन्डर तथा खरिदका काम तत्काल अघि बढाउनुपर्ने आवश्यकता छ ।

प्रतियोगिता हुने आशामा तयारी गरिरहेका खेलाडीले पटकपटक मिति सरेको देख्दा उनीहरूको उत्साह र मनोबल कमजोर हुन्छ । कर्णालीका लागि दशौँ राष्ट्रिय खेलकुद एउटा अवसर पनि हो । प्रदेशले आफ्नो खेलकुद पूर्वाधार, पर्यटन, संस्कृति र क्षमतालाई राष्ट्रियस्तरमा प्रस्तुत गर्ने मौका पाएको छ । त्यसैले प्रतियोगिता समयमै हुनु कर्णालीको प्रतिष्ठासँग पनि जोडिएको विषय हो । निर्माणाधीन रंगशाला पूरा गर्ने मात्र होइन, प्रतियोगितापछि त्यसको नियमित उपयोग र संरक्षण कसरी गर्ने भन्ने दीर्घकालीन योजना पनि अहिले नै बन्नुपर्छ । करोडौँ रूपैयाँ खर्च गरेर बनाइएका खेल संरचना प्रतियोगिता सकिएपछि प्रयोगविहीन हुने विगतको प्रवृत्ति दोहोरिनु हुँदैन ।

प्रकाशित मितिः   २९ भाद्र २०८३, सोमबार ०५:०३