बाढीपीडितलाई बौद्ध ग्रामीणद्वारा तीन लाख सहयोग

सुर्खेतः बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतले रसुवाको भोटेकोशी बाढी प्रभावितहरूका लागि आर्थिक सहयोग गरेको छ । संस्थाले सोमवार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत तीन लाख २२ हजार सात सय पाँच रूपैयाँ नगद सहयोग प्रदान गरेको हो ।

मानवीय समवेदनालाई आत्मसात् गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत विपत्तिमा परेका नागरिकहरूको उद्दार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल केसीले बताए । विपद्को समयमा प्रभावित नागरिकहरूलाई सहयोग गर्नु सबैको दायित्व भएको भन्दै उनले संस्थाले सोही दायित्व निर्वाह गरेको जनाए ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवासहित धादिङ, नुवाकोटलगायतका जिल्लामा ठूलो धनजनको क्षति पुर्‍याएको छ । जसमा सुर्खेतसहित कर्णाली प्रदेशका नागरिक पनि प्रभावित भएका छन् । उक्त बाढीमा परेर कर्णालीका विभिन्न जिल्लाका एक सय जनाभन्दा धेरै नागरिक अझै पनि सम्पर्कविहीन छन् ।

यसैबीच चन्द्रसूर्य एकेडेमी सुर्खेतले पनि भोटकोशी बाढीपीडितहरूका लागि आर्थिक सहयोग गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा हुने गरी केन्द्रीय प्याब्सनको खातामा एक लाख ५१ हजार एक सय ११ रूपैयाँ जम्मा गरिएको एकेडेमीका प्रिन्सिपल यामराज गिरीले जानकारी दिए ।

प्रकाशित मितिः   २२ भाद्र २०८३, सोमबार १९:१३