बाढीपीडितका लागि कर्णाली केयरद्वारा पाँच लाख सहयोग
सुर्खेत: रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूको राहत र पुनस्र्थापनाका लागि कर्णाली केयर अस्पतालले आर्थिक सहयोग गरेको छ । अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत पाँच लाख ५५ हजार पाँच सय ५५ रूपैयाँ नगद सहयोग गरेको हो ।
बाढीबाट पीडित परिवारलाई राहत र उनीहरूको पुनस्र्थापनाका लागि सघाउ पुगोस भनेर अस्पताल परिवारकोतर्फबाट दैवी प्रकोप उद्दार कोषमा उक्त रकम जम्मा गरिएको अस्पतालका व्यवस्थापक दिपककुमार गौतमले जानकारी दिए । अस्पतालले आर्थिक सहयोग गर्नुका साथै पीडितहरूप्रति समवेदना समेत व्यक्त गरेको छ । मानवीय नाता र सामाजिक उत्तरदायित्वअन्तर्गत तत्कालका लागि आर्थिक सहयोग गरिएको पनि जनाइएको छ । व्यवस्थापक गौतमले भने, ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, हामी पनि हरपल साथमा छौँ भन्ने सन्देशसहित तत्काललाई साढे पाँच लाख सहयोग गरेका छौँ, आवश्यकता परेमा आगामी दिनमा थप सहयोग गर्न हामी सधैँ तयार रहने बाचा पनि गर्दछौँ ।’
भोटेकोशी बाढीपीडितहरूको राहत र उद्दारका लागि सुर्खेतबाट आर्थिक सहयोग संकलन भइरहेको छ । विभिन्न व्यक्ति तथा संस्थाहरूले समेत एकल र सामुहिकरूपमा रकम संकलन गरेर सहयोग गरिरहेका छन् । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले पनि नगर विपद् व्यवस्थापन कोषबाट ५१ लाख रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको छ ।
त्यसैगरी सुर्खेतको ग्रिनल्याण्ड एकेडेमीले पनि प्रधानमन्त्री राहत कोषमा एक लाख एक हजार रूपैयाँ जम्मा गरेको छ । विपत्तिको समयमा सामाजिक उत्तरदायित्व वहन गर्दै पीडित परिवारलाई सहयोग गरिएको विद्यालयले जनाएको छ ।
प्रकाशित मितिः १७ भाद्र २०८३, बुधबार ०२:४०
साझा बिसौनी ।