पोषणका कार्यक्रम निरन्तरता
सुर्खेत: कर्णाली प्रदेश सरकारले पोषणका कार्यक्रमलाई निरन्तरता दिएको छ । बजेटसहित नीति तथा कार्यक्रममा समेटेर पोषणका कार्यक्रमलाई निरन्तरता दिएको हो । बालबालिका, किशोर, किशोरी तथा सुत्केरी महिलाको पोषण अवस्थालाई सुधार गर्न सुत्केरी पोषण कोशेली कार्यक्रम र पुरक पोषिलो खाना कार्यक्रम कार्यान्वयन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो वर्ष कार्यक्रम कार्यान्वयनका लागि ६ करोड ५९ लाख बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता एवम् वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले बताए । उनका अनुसार विगतका वर्षहरूभन्दा यो बजेट न्यून हो । युएसएआडीको सहयोग रहेका स्वास्थ्यका कार्यक्रम अघिल्लो वर्षबाट ठप्प छन् । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) र नेपाल सरकारबीच सम्झौतामार्फत कार्यक्रम कार्यान्वयन हुँदै आएका थिए । ती कार्यक्रम रद्द हुँदा धेरै स्वास्थ्यका कार्यक्रम प्रभावित बनेका हुन । तर सरकारले आफ्ना नियमित कार्यक्रमलाई भने निरन्तरता दिएको छ ।
विगतका वर्षहरू १५÷१६ करोडका कार्यक्रम स्वास्थ्य क्षेत्रमा कार्यान्वयन हुँदै आएका थिए । अति आवश्यक कार्यक्रमलाई प्राथमिकतामा राखेर मात्र प्रदेश सरकारले कार्यक्रम कार्यान्वयन गर्ने गरेको छ । यो वर्षपनि गनैपर्ने कार्यक्रम पहिलो प्राथमिकतामा राखेर कार्यान्वयन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैपनि स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट पुगेको छैन । दातृ निकायबाट प्राप्त हुने बजेट नै ठप्प हुँदा स्वास्थ्यका कार्यक्रम झनै प्रभावित बनेका छन् ।
सञ्चालन गरिएका कार्यक्रम समेत प्रभावकारी बनेका छैनन् । कर्णालीमा कुपोषणको दर बढ्दो क्रममा छ । पछिल्ला केही वर्षयताका सरकारी तथ्यांक केलाउँदा कर्णालीमा कुपोषणको दर निकै डरलाग्दो देखिएको छ । राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षणअनुसार प्रदेशमा ३६ प्रतिशत बालबालिकामा पुड्कोपनाको समस्या देखिएको छ । १८ प्रतिशतको कम तौल तथा चार प्रतिशतमा ख्याउटेपना र ४८ प्रतिशत बालबालिका रक्तअल्पताबाट पीडित छन् । सरकारी तथा गैरसरकारी संस्थाहरूले सार्वजनिक गरेका तथ्यांक र सर्वेक्षणहरूले अधिकांश बालबालिका कुपोषणको शिकार भएको पुष्टि गरेको छ । कर्णालीका दुर्गम गाउँहरूमा घरैपिच्छे कुपोषित बालबालिका छन् । प्रदेशमा ३० प्रतिशत बालबालिकाले न्यूनतम् आहार उपभोग गर्न पाउँदैनन् । सन् २०३० सम्ममा देशमा कुपोषणको दर शून्यमा झार्ने पोषणसम्बन्धी राष्ट्रिय लक्ष्य छ । तर, कर्णालीको अहिलेको अवस्था हेर्दा राष्ट्रिय लक्ष्य भेटाउन सहज छैन ।
स्वास्थ्य क्षेत्रका थुप्रै कार्यक्रम कार्यान्वयन भएका छन् । अझै पोषणसम्बन्धी कार्यक्रम धेरै छन् । तर पनि पोषणको अवस्थामा सुधार आउन सकेको छैन । प्रदेश सरकारले यो वर्ष पोषण सुधार गर्न प्रोत्साहनका कार्यक्रम ल्याएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर प्रोत्साहनका कार्यक्रम ल्याएको हो । गरिब, सिमान्तकृत, भूमिहिन, विपन्न, लक्षितवर्ग परिवारका लागि खाद्य तथा पोषण सुरक्षा र जीविकोपार्जन विशेष प्रोत्साहन कार्यक्रम ल्याएको हो । पोषणको अवस्था सुधार गर्न कार्यक्रम कार्यान्वयन गर्न लागिएको समाजिक विकास मन्त्रालयले जनाएको छ । समग्र विकासका सूचकांकमा पछाडि परेको प्रदेशमा बहुसंख्यक नागरिक बहुआयामिक गरिबीको रेखामुनी छन् । यहाँका कतिपय परिवार सन्तुलित आहारबाट वञ्चित मात्र होइन छाक टार्नै मुश्किल अवस्थामा छन् । पौष्टिक आहारको कमीले कुपोषण भयावह बनेको छ । जसका कारण कर्णालीमा कुपोषणको दर निकै डरलाग्दो देखिएको छ । कुपोषण हुनुको प्रमुख कारण खाद्य असुरक्षा हो । जसको प्रभाव बालबालिकामा देखिने गरेको छ ।
प्रकाशित मितिः १६ भाद्र २०८३, मंगलवार ०५:०५
साझा बिसौनी ।