कर्णालीका दुई सय बढी सम्पर्कविहीन
सुर्खेत: भोटेकोशी बाढीपछि कर्णालीका दुई सयभन्दा बढी सम्पर्कविहीन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार सम्पर्कविहीन दुई सय ६५ मध्ये ५७ जना सम्पर्कमा आएका छन् । बाँकी दुई सय आठ जना शुक्रवार साँझसम्म सम्पर्कमा छैनन् ।
उनीहरूको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । परिवार तथा आफन्तहरूको सम्पर्कमा नरहेकाहरू अधिकांश रसुवा र नुवाकोट जिल्लामा जलविद्युत आयोजनामा कार्यरत मजदुर छन् । प्रहरीको पछिल्लो अद्यावधिक तथ्यांकअनुसार बाढीपश्चात् सम्पर्कविहीन हुनेहरू जुम्लाका धेरै छन् । जुम्लाबाट ९० पुरुष हालसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन् ।
यस्तै, सल्यानबाट ४१ पुरुष, ११ महिला, दुई बालक र एक बालिका गरी ५५ जना परिवारको सम्पर्कमा छैनन् । सुर्खेतका १६ पुरुष, एक महिला गरी १७, दैलेखका चार पुरुष र एक महिला गरी पाँच, जाजरकोटका दुई पुरुष र एक महिला गरी तीन जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।
रुकुमपश्चिमबाट पाँच पुरुष, चार महिला र एक बालिका गरी १०, हुम्लाका चार पुरुष, दुई महिला र एक बालिका गरी सात, डोल्पाका एक पुरुष र एक महिला गरी दुई, मुगुका आठ पुरुष, चार महिला र एक बालक गरी १३ तथा कालीकोटका तीन पुरुष, दुई महिला र एक बालक गरी ६ जनाको अवस्था अज्ञात रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोषसिंह राठौरले जानकारी दिए ।
प्रकाशित मितिः १३ भाद्र २०८३, शनिबार १५:३५
साझा बिसौनी ।