मौरी पालनमा मोह, मनग्य आम्दानी

सुर्खेत: पछिल्लो समय मौरी पालनमा कृषकहरूको संख्या बढ्दै गइरहेको छ । बजारमा स्थानीय महको माग बढ्न थालेपछि मौरी पालन व्यवसायप्रति मोह बढ्दै गएको हो । वीरेन्द्रनगर नगरपालिका–१२ पदमपुरकी सावित्री ढकाल दैनिकजसो मौरीको स्याहारमा व्यस्त हुन्छिन् । २०६५ सालमा चार वटा घारबाट मौरी पाल्न सुरु गरेकी उनलाई १८ वर्षको बिचमा व्यावसायिक मौरीपालक किसानको रूपमा सबैले चिन्न थालेका छन् ।

२०६६ सालतिर मौरीपालनसम्बन्धी तालिम लिएकी थिइन् । ‘मेरो मौरी पालनसम्बन्धी थुप्रै जिज्ञासाहरू थिए,’ उनले भनिन्, ‘जुन बेला मैले तालिममा सिकेको थिएँ, त्यही सिकाइमार्फत् मौरीपालनमा लाग्ने योजना बनाएँ ।’ मौरी पालनबाट नै प्रशस्तै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन्, सावित्री । जति धेरै गर्न सकियो त्यति नै आम्दानी हुने उनको अनुभव छ । उनका तीन सय मौरीका आधुनिक घार छन् । वर्षमा १५ लाख बढीको मह उत्पादन गरेर बिक्री गर्ने गरेको ढकालले बताइन् । उत्पादनसँगै त्यसमा प्रशस्तै मेहनत र खर्च पनि हुने गरेको उनको भनाइ छ । मौरी घारमा पाल्ने र घारमै राख्ने भन्ने हुँदैन । मौरी किनेर घारमा राख्नासाथ मह दिन्छ, त्यसैबाट पैसा कमाउँला भन्ने सोच्यो भने त्यो बुझाइ गलत हुन जान्छ । मौरी पाल्ने किसानले फरक मौसम फरक समयअनुसार विभिन्न ठाउँमा लिने गर्छन् । ढकालले पनि एक वर्षको बीचमा धेरै ठाउँमा मौरी चराउनका लागि लिने गरेको बताइन् ।

सुरुमा मौरी पालनमा केही हुँदैन भन्ने मौरी पालक ढकाल अहिले मौरी चराउनका लागि परिवारको सहयोग त लिन्छिन् नै, अरु केही कर्मचारी राखेर समेत रोजगरी दिँदै आएकी छिन् । २०७२ मा नितेश कृषि फर्म खोलेर उनले मौरी पालन सुरु गरेकी थिइन् । उनले अहिले सेरेना, मेनिफेरा दुई प्रजातीका मौरी बिक्री गर्ने, मौरीका आधुनिक घार तथा मौरीजन्य सम्पूर्ण सामग्री बिक्री गर्ने गरेको सुनाइन् । यो वर्ष मात्र एक करोडको कारोबार गरिएको उनको भनाइ छ । साथसाथै उनले तरकारी खेती पनि गर्नेगरेकी छन् । वार्षिक ९० हजार तरकारी खेतीबाट आम्दानी समेत हुन्छ ।

यस्तै, वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ गाग्रेतालका छबिलाल कँडेल सातवर्षदेखि व्यावसायिक रूपमा मौरी पालन गर्दै आइरहेका छन् । पहिला उनलाई मौरी पालनबाट आम्दानी गर्न सकिन्छ भन्ने आत्मविश्वास थिएन । तर पछिल्लो समय मौरी पालनबाट लोभलाग्दो आम्दानी गर्न थालेका छन् । उनले मौरी पालनबाटै घर व्यवहार चलाउनुका साथै वार्षिक केही रकम बचत गर्ने समेत गरेका छन् । ‘मैले मौरी पालनबाटै वार्षिक करिब सात लाख कमाउँछु,’ कँडेलले भने, ‘महको माग बढ्दै गएको हुनाले घारहरू पनि थप्दै गएको छु ।’ उनले फुर्सदको केही समय मात्र मौरीलाई दिए पुग्ने बताए । कँडेलको घरमा आहिले करिब ५४ भन्दा बढी आधुनिक घारमा मौरीहरू रहेका छन् । उनको व्यावसायिक मौरी पालन देखरे गाग्रेतालमा मौरी पालन गर्नेहरूको संख्यासमेत बढिरहेको छ ।

मौरीपालक कृषकहरू संगठितसमेत भएका छन् । सुर्खेत, दैलेख, जाजरकोट र रुकुमपश्चिम कृषक संगठनमा आवद्ध भएका छन् । चार जिल्लामा गरी तीन हजार पाँच सय मौरीपालक कृषक रहेको संगठनका कर्णाली प्रदेश अध्यक्ष लिलाराम ढकालले बताए । उनका अनुसार खोपेघार, मुडेघार र आधुनिक घार गरी चार जिल्लामा तीन हजार पाँच सय कृषक आवद्ध भएका छन् । पछिल्लो समय युवा पुस्ता मौरी पालनमा आकर्षित भएको ढकालले बताए । ‘आधुनिक घारमा चार गुणासम्म उत्पादन बढाउन सकिन्छ,’ उनले भने, ‘माहुरी पालनमा खासै समस्याहरू पनि छैनन् ।’ ढकालले थपे, ‘अरू कृषि पेसाभन्दा मौरी पालनमा थोरै मेहनत पर्ने भएकोले किसानहरू यो पेसा पट्टि आकर्षित भएका छन् ।’ कर्णाली प्रदेशका मौरी पालन व्यवसायीहरूको सीप अभिवृद्धि, व्यावसायिक विस्तार र बजार पहुँचलाई सबल बनाउने उद्देश्यले नेपाल मौरी पालन महासंघ कर्णाली प्रदेशले समेत विभिन्न तालिमको आयोजना गर्ने गरेको छ ।

प्रकाशित मितिः   ८ भाद्र २०८३, सोमबार ०५:०५