सहकारी शिक्षा शिविर सम्पन्न

सुर्खेत: जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुर्खेतले शेयर सदस्यहरूका लागि सहकारी शिक्षा शिविर सञ्चालन गरेको छ । संस्थाको शिक्षा उपसमितिको आयोजनामा नयाँ तथा पुराना शेयर सदस्यहरूलाई लक्षित गरेर एकदिवसीय सहकारी शिक्षा शिविर सम्पन्न गरिएको हो ।

कार्यक्रममा संस्थाका सदस्य सेवा तथा तालिम विभाग प्रमुख प्रेम आचार्यले मुख्य प्रशिक्षकका रूपमा सहजीकरण गरेका थिए । उनले सहकारीको परिचय, सहकारीका सात सिद्धान्त, संस्थाको विगत र वर्तमान अवस्था, संस्थाले हालसम्म प्राप्त गरेका पुरस्कार तथा सम्मान, जनहितकारी साकोसको मुख्य आर्थिक विवरण, संस्थाको आवद्धता, परिकल्पना, ध्येय, नीति तथा कार्यविधिहरूका बारेमा विस्तृत जानकारी दिए । त्यसैगरी सहकारी सदस्य बनेपछिका फाइदाहरू, बचतको परिभाषा र प्रकारहरू, बचतका सात सुनौला बानी, ऋण लिनुपूर्व ध्यान दिनुपर्ने विषयहरू, सम्भावित चुनौतीहरूको पहिचान तथा संरक्षित पुँजी फिर्ता कोषलगायत विषयमा सहभागी सदस्यहरूलाई प्रशिक्षण दिएका थिए । सूचना प्रविधि सहायक रेखा सिंहले प्रविधिको परिचय र आवश्यकता, संस्थाले प्रदान गर्दै आएका प्रविधिमैत्री सेवाहरू, एसएमएस सेवा तथा मोबाइल बैंकिङसम्बन्धी जानकारी दिइन् ।

सहकारी शिक्षा शिविरमा नयाँ तथा पुराना गरी ७८ जना शेयर सदस्यहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सहकारीको सिद्धान्त, संस्थाको सेवा, बचत तथा ऋण व्यवस्थापन र आधुनिक प्रविधिमार्फत उपलब्ध बैंकिङ सेवासम्बन्धी उपयोगी जानकारी प्राप्त गरेका थिए ।

संस्थाका अध्यक्ष नवराज कँडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण रावल, नायव प्रमुख कार्यकारी अधिकृत मित्रेन्द्रनाथ योगी तथा आन्तरिक लेखापरीक्षक हिमलाल गौतमलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ६ भाद्र २०८३, शनिबार १०:४०